Edukhabar
शुक्रबार, ११ असोज २०८१
गतिविधि

इसीडी एक वर्ष बनाउने योजनामा शिक्षा मन्त्रीको साथ

शिक्षा मन्त्री विद्या भट्टराईले ऐन विपरीत इसीडी चार वर्ष चलिरहेकोले यसलाई एक वर्ष कायम गर्न मन्त्रालयले गृहकार्य सुरु गरेको बताएकी छन् ।

विहीबार, १० असोज २०८१

काठमाडौँ – शिक्षा तथा मानव स्रोत विकास केन्द्रको एउटा शाखाले प्रारम्भिक बाल विकास (इसीडी) लाई एक वर्ष बनाउने तीन वर्षअघिको प्रयासले बल्ल सार्थकता पाउने भएको छ । 

निजी र शहरका केही सामुदायिक विद्यालयले मण्टेसरीको नाममा इसीडीलाई चार तहमा पढाइरहेको पाइएपछि आउँदो शैक्षिक सत्रदेखि नै एक वर्ष बनाउने गरी शिक्षा मन्त्रालयले गृहकार्य थालेको हो । 

अनिवार्य तथा निःशुल्क शिक्षा शिक्षा ऐन कार्यान्वयन गर्न प्रारम्भिक बाल विकास शाखाले इसीडी एक वर्ष बनाउनु पर्ने प्रस्तावमा केन्द्र नेतृत्व र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साथ नदिँदा योजना कार्यान्वयन हुन सकेका थिएन । जसका कारण शाखाले ०७९ पुस २५ मा जारी गरेको निर्देशन ‘निर्देशन’ मै सीमित भएको थियो । 

सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईलाई सम्बोधन गरेर ऐन कार्यान्वयन गर्न इसीडी एक वर्ष बनाउन शाखाले निर्देशन दिएको थियो । मन्त्रालयको नेतृत्व  विद्या भट्टराईले सम्हालेपछि अनिवार्य शिक्षा ऐन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकी छन् ।  

राष्ट्रिय शिक्षा नीति २०७६, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ नियमावली २०७७, विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६, प्रारम्भिक बाल विकास तथा शिक्षाको पाठ्यक्रम २०७७ र आधारभूत तह (कक्षा १(३) को पाठ्यक्रम २०७६ ले शिशु विकास केन्द्र, प्रारम्भिक बाल विकास पूर्व प्राथमिक शिक्षा एक वर्षको हुने व्यवस्था छ । 

पत्रमा भनिएको थियो,‘जस अनुसार ४ वर्ष उमेर पूरा नगरेका बालबालिकाको निमित्त शिशु विकास केन्द्र र चार वर्ष पूरा भई पाँच वर्ष ननाघेका बालबालिकाको सर्वाङ्गीण विकासका लागि १ वर्षको प्रारम्भिक बाल विकास तथा शिक्षाको व्यवस्था रहेको छ । तर शिशु विकास केन्द्रको अवधारणा अनुसार स्थापना भएका मन्टेसरी र संस्थागत विद्यालयका पूर्व प्राथमिक कक्षाहरूमा बालबालिकाको सर्वाङ्गीण विकास हुने क्रियाकलाप नगरी पढाउने, घोकाउने तथा कण्ठ गराउने एवम् यस्तै प्रकृतिका गृहकार्य दिने गरेको गुनासो आएको छ । आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन सम्बन्धित सबै स्थानीय तह (गाउँपालिका र नगरपालिका र जिल्ला समन्वय समिति) तथा आवश्यक समन्वय र सहजीकरणका लागि सबै शिक्षा विकास तथा समन्वय इकाईहरूलाई निर्णयअनुसार अनुरोध छ ।’ 

 

दुई वर्षअघि  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको पत्र

cherd

शाखा अधिकृत धनसूदन चौलागाईको एक्लो प्रयासलाई अब सिंगो ‘सिस्टम’ ले साथ दिएको छ । मन्त्री भट्टराईले कार्यान्वयन गर्न योजना बनाएकी छिन् । ऐन कार्यान्वयनको योजना सार्वजनिक गरेर  सुझाव माग गरेकी छिन् । जसमा इसीडी शिक्षकको सेवा सुविधाको प्रसंग छ तर, एक वर्ष बनाउने बारेमा मौन थियो । 

मुलुकको शिक्षा नीति, राष्ट्रिय पाठ्यक्रम प्रारूप र ऐनमा एक वर्ष हुने भनिएको इसीडी चार वर्षसम्म चल्दा अभिभावकले चर्को आर्थिक भार खेप्नु परेको तथ्य एडुखबरले सार्वजनिक गरेको हो । हाम्रो अध्ययनले सरकारको कमजोरीले एक वर्षमा कम्तीमा १५ अर्ब रुपैयाँ अभिभावकलाई आर्थिक भार थोपरिएको छ । यो रकम एक जना अभिभावकले मासिक पाँच हजार रुपैयाँ तिर्दा मात्रै निस्कने रकम हो । 

मन्त्री भट्टराईले कानुन कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको सार्वजनिक कार्यक्रममा बोल्न थालेकी छिन् । सामुदायिक विद्यालयले पनि निजी विद्यालयको नक्कल गरेर इसीडीलाई चार तहसम्म चलाउने गरेको जानकारी मन्त्री भट्टराईसँग छ । शिक्षा पत्रकार समूहको २५ औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री भट्टराईले यही विषयलाई जोड दिएकी थिईन । 

कार्यक्रममा उनले भनिन् ‘बाल विकास संस्थागत विद्यालयले चार वटा तहमा पढाई रहेका छन् । त्यही प्राक्टिस सार्वजनिक विद्यालयले पनि राम्रो बनाउन गरिरहेका छन् । अब हामी यसलाई बदल्नु पर्छ ।  अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले एक वर्षको मात्रै भनेको छ ।’

चार वर्ष पुरा भएको बालबालिकालाई मात्रै एक वर्षको इसीडी कक्षा पढाउन मिल्ने गरी कानुन कार्यान्वयन गर्न लागेको उनले बताइन् । यदि मन्त्रीले ऐन कार्यान्वयन गर्ने आँट गरिन् भने प्ले ग्रुप, नर्सरी, एलकेजी, युकेजीको नाममा कक्षा चलाउन पाईने छैन । चार वर्ष पुरा हुनु अघि शिशु स्याहार कक्षा र एक वर्ष मात्रै इसीडीको कक्षा हुनेछ ।

‘चार वर्ष पुरा हुनु अघि त शिशु स्याहार केन्द्रको रूपमा राखेर हुर्किने वातावरण दिनु पर्‍यो । तर हामीले के गर्छौ भने मण्टेसरीमा पढाउने अभ्यास गरिरहेका छौ,’मन्त्री भट्टराईले भनिन्  ‘बालविकास शिक्षालाई मजबुत बनाएर जानु पर्छ । एक वर्षको बनाउन हामीले गृहकार्य सुरु गरिरहेका छौं ।’ 

यो पनि 

कानुनले नचिनेको कक्षाका लागि अभिभावक माथि १५ अर्ब भार

अनिवार्य शिक्षा ऐन विपरीत मन्टेसरीमा किताब

 

प्रतिक्रिया