Edukhabar
शनिबार, ०६ पुस २०८१
खबर/फिचर

दोहोर्‍याएर परीक्षा दिँदा पनि ९० हजार फेल, ३२ हजार विद्यार्थी बिचमै गायब

चैतमा नियमित र साउनमा मौका परीक्षा दिएका मध्ये ९० हजार विद्यार्थी फेल भएका छन् भने ३१ हजार चार सय ८३ विद्यार्थी मौका परीक्षा समेत नदिई बिचमै हराएका छन् ।

मंगलबार, ०८ असोज २०८१

काठमाडौँ–एकै वर्ष दुई पटक परीक्षाको मौका दिँदा पनि कक्षा १० को अन्तिम परीक्षा एसईई दिएका मध्ये २६ प्रतिशत विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएका छन् । 

परीक्षामा सहभागी चार लाख ६४ हजार सात सय ८५ विद्यार्थी मध्ये नियमित र ग्रेड वृद्धि समेत तीन लाख ४१ हजार आठ सय ९७ विद्यार्थी मात्रै ग्रेडेड (पास) भएका छन् । चैतमा लिएको परीक्षामा दुई लाख २२ हजार र साउनमा लिएको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार गरी तीन लाख ४१ हजार आठ सय ९७ विद्यार्थी ग्रेडेड (पास) भएका हुन् । एक लाख २२ हजार आठ सय ८८ विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएका छन् ।  

यस मध्ये ३१ हजार चार सय ८३ विद्यार्थीले मौका परीक्षा नै दिएनन् भने पहिलो परीक्षामा एनजी आएर ग्रेड वृद्धि परीक्षा दिएका मध्ये ९० हजार आठ सय ८८ विद्यार्थीको नतिजा फेरी पनि एनजी आएको हो । उनीहरूको अहिले जुन विषयमा एनजी आएको हो त्यही विषयको यस वर्षको चैतमा परीक्षा दिनु पर्ने हुन्छ । 

३२ हजार विद्यार्थी खोई पढ्नुस् -

 

नियमित परीक्षा दिएकै वर्ष सातै विषयको परीक्षा दिन पाउने अवसरको मौका पाएर परीक्षा दिएका मध्ये पनि ९० हजार आठ सय ८८ विद्यार्थी पास हुन सकेनन् । 

राष्ट्रिय परीक्षा बोर्डले ०८० चैतमा लिएको नियमित परीक्षामा ४८ प्रतिशत मात्रै पास भएका थिए । ५२ प्रतिशत फेल भएका थिए । 

तत्कालीन शिक्षा मन्त्री सुमना श्रेष्ठले लेटर ग्रेडिङ निर्देशिका नै संशोधन गरेर सातै विषयमा फेल भएका र नियमित परीक्षा नदिएर अनुपस्थित भएका सहितलाई पुनः मौका परीक्षाको अवसर प्रदान गरेकी थिइन । 

यो निर्णयले दुई लाख ४१ हजार आठ सय चार विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने थिए । तर, दुई लाख १० हजार तीन सय २१ विद्यार्थीले मात्रै परीक्षा दिए । पछिल्लो तीन महिनामै ३१ हजार चार सय ८३ विद्यार्थी बिचमै हराएका छन् । नियमित परीक्षा दिएकै वर्ष सातै विषयको परीक्षा दिन पाउने अवसरको मौका पाएर परीक्षा दिएका मध्ये पनि ९० हजार आठ सय ८८ विद्यार्थी पास हुन सकेनन् । 

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने,‘ जानेको विषय अभिव्यक्त गर्न सक्ने विद्यार्थी मात्रै पास भएका छन् ।’ 

मौका परीक्षाको अवसर पाउँदा पनि उनीहरू किन परीक्षाबाट भागे ? भन्ने सरकार र गैर सरकारी संस्था कसैले अनुसन्धान गरेको छैन । त्यस्तै दोहोर्‍याएर परीक्षा दिँदा पनि किन फेल भए ? विश्लेषण भएको छैन । ‘विद्यार्थीलाई लिएको टेस्ट आइटममा कुनै कमजोरी छैन । विद्यार्थीले जानेको र बुझेको कुरा लेख्नु पर्ने थियो ।  दोहोर्‍याएर परीक्षा दिँदा पनि एनजी आउने विद्यार्थीको उत्तर पुस्तिका हेर्दा भाषिक कमजोरीले विद्यार्थी फेल भएका छन्,’परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने,‘ जानेको विषय अभिव्यक्त गर्न सक्ने विद्यार्थी मात्रै पास भएका छन् ।’ 

विद्यार्थीको आन्तरिक सक्षमता बनाउन सामाजिक र नेपाली विषयको शिक्षक हुनु पर्ने उनले बताए । ‘वाक्य संरचना सही लेख्न सक्ने  १० कक्षामा कति पुगेका छन् ? हेर्नु पर्ने देखिन्छ,’उनी भन्छन्,‘विद्यार्थीको उत्तर पुस्तिका हेर्दा वाक्य नै पुरा लेख्न सकेका छैनन् । त्यसैले नेपाली भाषामै विद्यार्थी कमजोर छन् । मनका लागेको कुरा अभिव्यक्ति गर्न सक्दैनन् । जबसम्म भाषिक क्षमता बढाउन सक्दैन तबसम्म नतिजा सुधार सम्भव हुँदैन ।’ 

दरबन्दीको शिक्षक नभएकै कारण एसईईको नतिजा कमजोर भएको विज्ञहरू बताउँछन् । 

 

तुलसीपुर सेन्टरका प्रधानाध्यापक भागवत पौडेलले  यसपाली नतिजा कमजोर हुनुमा सैद्धान्तिक र प्रयोगात्मक फरक मुल्याङकन भएपछि एकै पटक ब्रेक लागेको बताउँछन् । 
 

विद्यार्थीको भाषिक क्षमता अब्बल बनाउने काममा खटिने शिक्षकहरू भने नतिजा सुधार नहुनुमा परीक्षा नियन्त्रकको भनाइसँग सहमत छैनन् । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष मुलुककै उत्कृष्ट विद्यालयको सम्मान गरेको दाङको मावि तुलसीपुर सेन्टरका प्रधानाध्यापक भागवत पौडेलले सरकारले दरबन्दीको शिक्षक नदिए पनि विद्यालयले निजी स्रोतमा शिक्षक व्यवस्थापन गरेर भए पनि नतिजा सुधारको प्रयास गरेको बताउँछन् । नतिजा कमजोर हुनुमा परीक्षा प्रणालीलाई उनी दोष दिन्छन् । ‘विद्यार्थीमा नपढे पनि पास भइन्छ । ११ कक्षा त पढ्न पाइन्छ भन्ने मानसिकता थियो । आठ वर्ष यसै गरी चल्यो,’उनले भने,‘यसपालि थेउरी र प्राक्टिकल फरक मुल्याङकन भएपछि एकै पटक ब्रेक लागेको हो ।’ यसपालि विद्यार्थी धेरै फेल हुनुमा निरन्तर मुल्याङकनमा फेल गर्न नपाइने, कोभिड बेलामा नियमित पढाई नभएकोले विद्यार्थीको सिकाई कमजोर भएको उनले बताए ।  

‘लेटर ग्रेडिङले पढ्नै नपर्ने पास हुन्छ भन्ने मानसिकता भयो । थेउरीमा फेल भए पनि प्राक्टिकल नम्बरले पास भइन्छ भन्ने मानसिकताले जरा गाडेको थियो,’उनले भने,‘यसको असर यसपालिको एसईईमा पनि परेको हो ।’ 

 

प्रतिक्रिया