Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

एसएलसी नमुना अभ्यास परीक्षा सञ्चालन

शुक्रबार, २५ मंसिर २०७२

काठमाडौँ, २५ मङ्सिर । धनुषामा एसएलसी परीक्षाको नतिजा राम्रो बनाउनका लागि ‘एसएलसी नमुना अभ्यास परीक्षा’ सञ्चालन गरिएको छ ।  बिहीबारबाट सुरु गरिएको परीक्षामा विभिन्न सातवटा विद्यालयका करिब ४५८ विद्यार्थी सहभागी भएका छन् । 

जनता उच्चमावि बनिनियाँ, लक्ष्मी जनता उच्चमावि कुम्भरौडा, सर्वोदय उच्च मावि पौडेश्वर, कन्टिर झा उच्चमावि वभनगामा, विपी कोइराला मावि सपही, विसास मावि सिनुरजोडा र राजा मावि झिटकैयाका विद्यार्थी परीक्षामा सहभागी भएका हुन् । 

ती विद्यार्थीलाई फरक विद्यालयमा परीक्षा केन्द्र तोकेर एसएलसी परीक्षामा अपनाइने सम्पूर्ण प्रक्रिया पूरा गरी अभ्यास परीक्षा लिइरहेको सहायक जिल्ला शिक्षा अधिकारी दानीकान्त झाले जानकारी दिए । धनुषामा एसएलसीको नतिजा निकै कमजोर आएको अवस्थामा सुधार ल्याउने उद्देश्यले नमुना परीक्षा सञ्चालन गरिएको जानकारी आयोजक प्याक नेपालका कार्यकारी निर्देशक सुनिल यादवले बताए । 

नेपालमै पहिलो पटक यस्तो नमुना परीक्षा भइरहेको बताउँदै उहाँले भने – “फलामे ढोका भनेर डरलाग्दो रुपमा प्रचार गरिएको एसएलसी परीक्षाका लागि मानसिक रुपमा सहजै तयार हुन र अहिलेसम्म गरेको तयारीको कमीकमजोरी विद्यार्थीलाई महसुस गराउन यो परीक्षा उपयोगी हुनेछ ।”

(रासस) 

 

प्रतिक्रिया