Edukhabar
विहीबार, ०३ असोज २०८१
गतिविधि

राष्ट्रिय पुरस्कार पाउने विद्यालयलाई तीन लाख पुरस्कार र राष्ट्रिय सिल्ड

मन्त्रालयले सामुदायिक र निजी विद्यालयलाई पहिलो, दोस्रो, तेस्रो स्तरमा वर्गिकरण गरेर पहिलोलाई तीन लाख, दोस्रोलाई दुई लाख, तेस्रोलाई एक लाख रुपैयाँ, सिल्ड र ध्वजा प्रदान गर्न लागेको हो ।

सोमबार, ३१ भदौ २०८१

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उत्कृष्ट विद्यालयलाई तीन लाख पुरस्कार, राष्ट्रिय सिल्ड, ध्वजा र प्रदान प्रदान गर्ने भएको छ । उत्कृष्ट विद्यालय छनोट भए पनि नाम सार्वजनिक गरेको छैन । 

कक्षा १२ को नतिजाको आधारमा मन्त्रालयले उत्कृष्ट विद्यालय छनोट गरेको छ । कक्षा १० सम्मको नतिजाको आधारमा प्रदेश स्तरबाट उत्कृष्ट विद्यालय छनोट गरेर पुरस्कार प्रदान गर्ने र १२ कक्षाको नतिजाको आधारमा राष्ट्रिय पुरस्कार प्रदान गर्न लागेको मन्त्रालयका प्रवक्ता कमलप्रसाद पोखरेलले बताए । 

मन्त्रालयले सामुदायिक र निजी तर्फ पहिलो, दोस्रो, तेस्रो स्तरमा वर्गीकरण गरेर उत्कृष्ट विद्यालय तर्फ राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्न लागेको उनले बताए । पहिलोलाई तीन लाख, दोस्रोलाई दुई लाख, तेस्रोलाई एक लाख रुपैयाँ, सिल्ड र ध्वजा प्रदान गर्न लागेको हो । 

त्यस्तै सीटीइभीटी तर्फको प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएको आधारमा चार वटा प्राविधिक शिक्षालयलाई राष्ट्रिय ध्वजा सहित एक लाख नगद पुरस्कार प्रदान गर्न लागेको पोखरेलले बताए । उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कार तर्फ विश्वविद्यालय अन्तर्गत आंगिक, सम्बन्धन तथा सामुदायिक र सम्बन्धन प्राप्त निजी तीन वटा क्याम्पसलाई दुई लाख पचास  हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने पोखरेलले बताए । 

उच्च शिक्षा तर्फ नेपाल विद्याभूषण पाउने २ सय ६४, नेपाल विद्याभूषण ख ३५ जनालाई, नेपाल विद्याभूषण ग २१ जना र नेपाल छात्रा विद्यापदक क १५ जनालाई प्रदान गरिने भएको छ । 

शिक्षा दिवसको अवसरमा सामुदायिक विद्यालय शिक्षक मध्येबाट ७७ जिल्लाका ७४ जना, निजी लगानीका शिक्षक, कर्मचारीका शिक्षक, कर्मचारी र संस्थापक मध्येबाट ३२ जना, विद्यालय व्यवस्थापन पदाधिकारी, कर्मचारी र बालविकास शिक्षक मध्येबाट ३५ जनालाई पुरस्कार स्वरूप प्रमाणपत्र प्रदान गरिने भएको छ । 

सीटीइभीटीका प्रशिक्षक, कर्मचारी मध्येबाट पाँच जना, विश्वविद्यालयका शिक्षक कर्मचारी मध्येबाट २५ जनालाई छनोट गरेको छ । 

पुरस्कृत हुनेको नाम बुधवार घोषणा हुने प्रवक्ता पोखरेलले बताए । शिक्षा दिवस भद्रकाली स्थित सैनिक जनसम्पर्क निर्देशनालयको अडिटोरियम हलमा  हुने भएको छ । प्रधानमन्त्री केपी ओलीले पुरस्कृतलाई सिल्ड, ध्वजा, प्रमाणपत्र प्रदान गर्ने छन् । 

 

प्रतिक्रिया