Edukhabar
बुधबार, ०२ असोज २०८१
गतिविधि

आधारभूत विद्यालयमा पनि प्रविधिको पहुँच पुर्‍याउन कम्प्युटर प्रदान

मंगलबार, २५ भदौ २०८१

संखुवासभा - सामुदायिक विद्यालयमा प्रविधिको पहुँच विस्तारका लागि पाँचखपन नगरपालिकाका चार आधारभूत विद्यालयमा कम्प्युटर लगायतका सामग्री प्रदान गरिएको छ । सिभुवा स्यावुन सेवा समाज, काठमाडौको संयोजनमा संखुवासभा जिल्लाको पाँचखपन नगरपालिकाका वडा नं १, २ र ३ मा सञ्चालित चार आधारभूत विद्यालयहरूमा कम्प्युटर, फोटोकपी मेसिन र प्रिण्टर सहितका सामग्रीहरू हस्तान्तरण गरिएको हो । 

सामुदायिक माध्यमिक विद्यालयहरुमा प्रविधिको पहुँच पुर्‍याउने सरकारको कार्यक्रम भए पनि आधारभूत सामुदायिक विद्यालयहरूमा प्रविधिको पहुँच कम भएकाले विद्यालयहरू छनोट गरी हस्तान्तरण गरिएको समाजका अध्यक्ष होमनाथ गौतमले बताए । वडा नं १ को सेतीकन्या आवि कुरसुवा, जाल्पा आवि ओक्तेन, वडा नं २ को नागेश्वरी आवि माथिल्लो स्यावुन र आइतबारे आवि तल्लो सिँभुवालाई ति सामग्री हस्तान्तरण गरिएको छ । 

हाल अमेरिका बस्दै आएका समाजका सल्लाहकार डा. कमल गौतमको पहलमा गिभ टु एसिया मार्फत् संकलित पाँच लाख रुपैँयाबाट उक्त सामग्री गरिद गरिएको बताईएको छ । सोही रकमबाट प्रति विद्यालय ८४ हजार रुपैंया बराबरका सामग्रीहरू हस्तान्तरण गरिएको समाजका उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । 

समाजका सल्लाहकार तथा शिक्षा मन्त्रालयका उपसचिव गेहनाथ गौतमले देउसी भैलो खेलेर जम्मा गरेको रकमबाट विगत वर्ष देखि नै समाजले त्यस क्षेत्रको शैक्षिक कृयाकलापमा सहयोग गर्दै आएको बताए । तत्कालीन स्यावुन गाउँ विकास समितिमा जन्मिएर हाल काठमाडौमा बसोबास गर्दै आएकाहरुको पहलमा २०७५ मा समाजको स्थापना गरिएको थियो ।  

प्रतिक्रिया