Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

एसएलसी ग्रेडिङ् लागू, पास फेल नभने पनि मौका परीक्षाको ब्यवस्था

विहीबार, २४ मंसिर २०७२

काठमाडौं – एसएलसीमा सहभागि विद्यार्थीको नतिजामा पास फेल उल्लेख नगरे पनि नौ तह मध्ये ४ तहका विद्यार्थीले २ वटा विषयमा माथिल्लो तह अपग्रेड गर्न चाहेमा मौका परीक्षा दिने ब्यवस्था सहित ग्रेडिङ् प्रणाली लागू भएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्क्रम परिषद्को बैठकले बिहीबार अबेर विद्यालय शिक्षामा अक्षरांङ्क पद्धती कार्यान्वयन कार्यविधि २०७२ लागू गरेको हो ।

पास फेल नलेखे पनि उक्त कार्यविधिमा उच्च शिक्षा वा रोजगार बजारमा प्रतिस्पर्धा गर्न चाहने विद्यार्थीलाई ती संस्थाहरुले आफू अनूकूल उपयोग गर्न सकिने उल्लेख गरिएको छ ।

२ वटा भन्दा धेरै विषयमा पुर्नमूल्याँकन गर्न चाहन्छ भने मूल परीक्षामै सहभागी हुनु पर्ने ब्यवस्था गरिएको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले बताए ।

अब, ग्रेडिङ्का माध्यमबाट विद्यार्थीको हैसियत पत्ता लाग्ने मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा. हरी लम्सालले बताए । 'विद्यार्थीको क्षमता जेमा छ, त्यहि बाटो तय गर्न सघाउने अन्र्तराष्ट्रिय अभ्यासलाई हामीले अपनाएका हौं' उनले भने, 'एसएलसीमा उत्तीर्ण विद्यार्थीलाई त्यो भन्दा माथिल्ला तहमा पढाउने संस्थाले निर्धारण गर्ने मापदण्डका आधारमा उसको अगाडीको पढाई निर्धारण हुन्छ ।'

ग्रेडिङ् प्रणाली अनुसार प्रमाणपत्रमा नौ तह उल्लेख हुने छ । त्यसमा ए प्लस देखि ई अक्षरमा ग्रेडिङ हुनेछ । शुन्य अँक ल्याउनेलाई नन् गे्रडिङ् उल्लेख गरिने छ भने १ देखि २० भन्दा कम ल्याउनेलाई ई, २० देखि ४० भन्दा कम ल्याउनेलाई डी र ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी उल्लेख गरिने छ । यसैगरी ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई  वी, ७० देखि ८० भन्दा कम ल्याउनेलाई वी प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए र ९० देखि १०० भन्दा कम ल्याउनेलाई ए प्लस उल्लेख गरिने छ ।

'अब देखि नतिजामा पास फेल भनिदैंन, कुन ग्रेडको सक्षमता भएको विद्यार्थी हो भन्ने कुरा निर्धारण गरिने छ' पौडेलले भने, 'कार्यविधिलाई विद्यालय शिक्षाका अरु कक्षामा पनि क्रमशः लागू गर्दै जाने छौं ।'

एसएलसीको प्रमाणपत्रमा यस अघि अँकमा आधारमा विशिष्ठ, प्रथम, द्धितीय र तृतीय श्रेणी हुनेमा अब विद्यार्थीको मूल्याँकन अँकका आधारमा नभई ग्रेडका आधारमा हुने छ ।

बुधबार ६ वटा तह निर्धारण गरिएको कार्यविधिमा छलफल भएपनि सहमती कायम हुन सकेको थिएन । पाठ्यक्रम विकास केन्द्रले तयार गरेको खाका माथि मन्त्रालयका प्रतिनिधि र विषयविज्ञ सहितको टोली सहभागि छलफलमा मार्कसिटमै पास फेल लेख्ने वा डिभिजन उल्लेख गर्ने बारेमा समेत कुरा उठेको श्रोतले जनायो । तर पास फेल राख्दा ग्रेडिङ्को मान्यता नै नहुने भन्दै उक्त बैठकले टुङ्ग्याउन नसकेपछि मन्त्रालयले बिहीबारसम्म सक्ने गरी मन्त्रालयका सहसचिव लम्साल, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पौडेल, अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुङ्गेल, र परीक्षा नियन्त्रक खगेन्द्र नेपाललाई जिम्मेवारी दिएको थियो ।
उक्त टोलीले पास फेल नभने पनि मौका परीक्षाको ब्यवस्था सहित कार्यविधि पारित गरेको हो । 

गतवर्ष प्राविधिक बिषयमा एसएलसी दिएका ३३ सय विद्यार्थीको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरिएको थियो । यसवर्षदेखि परीक्षामा सहभागि सबैको नतिजा ग्रेडिङ प्रणालीबाट गरिने छ । शिक्षा मन्त्री पोखरेलले सार्वजनिक गरेको प्रतिबद्धतामा आफ्नो कार्यकालमा ग्रेडिङ् प्रणाली लागू गर्ने कुरा समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति २०७२ मंसिर २४ गते

प्रतिक्रिया