Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

सीटीइभीटीमा उपाध्यक्षको खोजी, निजी संस्थाका सञ्चालक हुन नपाउने

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका क्षेत्रमा विद्यावारिधिको उपाधि हासिल गरेको, सरकारी क्षेत्र, विश्वविद्यालय परिषद् वा सार्वजनिक क्षेत्र, प्रतिष्ठान वा अन्य कुनै क्षेत्रमा व्यवस्थापकीय पदको जिम्मेवारीमा रहेको, सार्वजनिक पदमा मनोनयनको लागि अयोग्य नभएको, परिषद्सँग कुनै स्वार्थ नबाझिएको, तत्काल कुनै राजनीतिक दलको सदस्य नभएको व्यक्ति उपाध्यक्ष हुन सक्ने प्रावधान राखिएको छ ।

बुधबार, १९ भदौ २०८१

काठमाडौँ–प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) उपाध्यक्ष खुला प्रतिस्पर्धाबाट लिन विज्ञापन भएको छ । उपाध्यक्ष मनोनयन सिफारिस समितिले विज्ञापन गरेर उपाध्यक्षको खोजी थालेको हो ।

खगेन्द्र अधिकारीको कार्यकाल सकिएपछि नयाँ उपाध्यक्षको खोजी भएको हो । 

योग्यता पुगेका उम्मेदवारले भदौ २६ भित्र सीटीइभीटीको बारेमा ५ हजार शब्दमा कार्य योजना सहितको सोचपत्र लेखेर मन्त्रालयको प्रशासन महाशाखामा दर्खास्त दिन सकिने व्यवस्था गरेको छ । सोचपत्रमा सीटीइभीटीलाई प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका क्षेत्रमा उत्कृष्ट संस्था बनाउन, नेपालको लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादनको लागि सीटीइभीटीको भूमिका, आगामी रणनीति सम्बन्धी कार्य योजना समेट्नु पर्ने हुन्छ ।  

उपाध्यक्ष हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर शैक्षिक उपाधि हासिल गरेको, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष कार्य गरेको, चालीस वर्ष उमेर पूरा भई साठी वर्ष उमेर ननाघेको हुनु पर्ने सीटीइभीटी ऐनको दफा ३ मा उल्लेख छ ।

सिफारिस समितिले यस बाहेक पनि परिषद्को उपाध्यक्ष मनोनयनका लागि अन्य आधार पनि तय गरेको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका क्षेत्रमा विद्यावारिधिको उपाधि हासिल गरेको, सरकारी क्षेत्र, विश्वविद्यालय परिषद् वा सार्वजनिक क्षेत्र, प्रतिष्ठान वा अन्य कुनै क्षेत्रमा व्यवस्थापकीय पदको जिम्मेवारीमा रहेको, सार्वजनिक पदमा मनोनयनको लागि अयोग्य नभएको, परिषद्सँग कुनै स्वार्थ नबाझिएको, तत्काल कुनै राजनीतिक दलको सदस्य नभएको हुनु पर्ने प्रावधान राखेको छ । यो प्रावधानले सीटीइभीटीबाट सम्बन्धन लिएर कलेज सञ्चालन गर्ने व्यक्ति उपाध्यक्ष हुन अयोग्य हुनेछन् । 

उपाध्यक्ष छनोट कार्यविधिमा भनिएको छ,‘परिषद्बाट सम्बन्धन प्राप्त संस्थाको सञ्चालक पदमा कार्यरत व्यक्ति परिषद्को उपाध्यक्षमा मनोनयन हुन अयोग्य हुनेछ ।’ 

सहसचिव वा सो सरह, त्यो भन्दा माथिल्लो पद, सीटीइभीटीको उपाध्यक्ष, सदस्य सचिव, निर्देशिकले पनि उम्मेदवारी दिन सक्ने व्यवस्था गरेको छ । त्यस्तै कम्तीमा ११ औ तह, औद्योगिक क्षेत्रको प्रमुख कार्यकारी अधिकृत, सञ्चालन समितिको अध्यक्ष सदस्य पदको अनुभव हासिल गरेको व्यक्ति पनि सीटीइभीटीको उपाध्यक्ष बन्न योग्य हुने भएको छ ।

छनोट समितिले उम्मेदवारले पेश गरेको योग्यता, अनुभव, अनुसन्धानमुलक लेख रचना, गोष्टी तथा कार्यशालामा प्रस्तुत गरेको अनुसन्धानमुलक लेख, कार्य योजना सहितको सोचपत्रको विज्ञबाट मुल्याङकन, प्रस्तुतीकरण र अन्तरवार्ताको आधारमा सीटीइभीटीको उपाध्यक्ष छनोट गर्न लागेको हो । 

योग्यता, अनुभव, कार्य योजना सहितको सोचपत्र प्रस्तुतीकरण तथा अन्तरवार्ता सम्बन्धी अंक विभाजन समेत गरेको छ । शैक्षिक योग्यता स्नातकोत्तर र  पीएचडी गरेको छ भने पाँच अंक, प्राविधिक शिक्षा र व्यावसायिक तालिमको क्षेत्रमा कार्य अनुभवमा १५ अंक, कुनै सरकारी निकाय वा नेपाल सरकारद्वारा मान्यता प्राप्त कुनै विश्वविद्यालय वा परिषद्, कुनै सार्वजनिक निकाय, प्रतिष्ठान, औद्योगिक क्षेत्रको व्यवस्थापकीय पदमा काय गरेको भए दुई अंक, अनुसन्धान मुलक लेख प्रकाशन गरेको भए १५ अंक, राष्ट्रिय तथा अन्तराष्ट्रिय गोष्टीमा अनुसन्धानमा आधारित कार्यपत्र प्रस्तुत गरेको भए पाँच अंक, सोचपत्रको २० अंक, सोचपत्र प्रस्तुतीकरण २० अंक, अन्तरवार्तामा १८ अंक राखिएको छ । 

भदौ २६ भित्र पाँच जनाको दरखास्त पेश हुन नआएमा समितिले थप तीन दिनको अवधि दिएर दर्खास्त पेश गर्ने समयावधि थप गर्न सकिने व्यवस्था राखेको छ । १५ जना भन्दा कम उम्मेदवार भएमा सर्ट लिष्ट सार्वजनिक नगरी सबै उम्मेदवारलाई उपाध्यक्ष पदको लागि छनोट प्रक्रियामा सहभागि गराइने भएको छ ।

 

 

प्रतिक्रिया