Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

नर्सिङ पढ्ने सरितालाई अष्ट्रेलियाबाट सहयोग

विहीबार, २४ मंसिर २०७२

काठमाडौँ, २४ मङ्सिर । सीमान्तकृत चेपाङ समुदायबाट नर्सिङ अध्ययनरत सरिता चेपाङलाई अध्ययनका लागि हाल अस्ट्रेलियामा रहेका चितवनवासीले सहयोग गरेका छन् ।  नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तहमा अध्ययनरत धादिङ जोगीमाराकी सरितालाई उनीहरुले रु ८० हजार सहयोग गरेका हुन् । 

भरतपुर अस्पताल नर्सिङ कार्यक्रममा पूर्ण छात्रवृत्तितर्फ अध्ययन गरिरहे पनि उहाँलाई छात्रावास, शैक्षिक सामग्री तथा प्रयोगात्मक सामग्री अभाव थियो । 

संरक्षण दिइरहेको संस्था ‘हामीले नगरे कसले गर्ने रु’ मार्फत अस्ट्रेलियाको चितवन समाज, भिक्टोरियाले सो रकम प्रदान गरेको हो । चितवन समाजका प्रतिनिधि काशीप्रसाद गुरुङ र हेमप्रसाद गुरुङले ‘हामीले नगरे कसले गर्ने’ संस्थाका कार्यबाहक अध्यक्ष विनोदबाबु रिजाल र नर्सिङ विद्यार्थी सरितालाई सो नगद हस्तान्तरण गरेका हुन् । 

संस्थाका प्रतिनिधि काशीप्रसाद गुरुङले विपन्न विद्यार्थीले खर्चको अभावकै कारणले पढ्न नपाएको खबर सुनेपछि अस्ट्रेलिया बस्ने चितवनेहरुले सहयोग जुटाएको बताए ।  चितवन समाज भिक्टोरियाका अध्यक्ष सोमप्रसाद गुरुङको संयोजनमा संस्थाले नर्सिङ पहिलो वर्ष पढ्ने खर्च पठाएको र यो उपलब्धिमूलक देखिए अरु सहयोग पनि गर्ने उनले बताए । 

सरिताको छात्रावास, शैक्षिक तथा प्रयोगात्मक सामग्रीका लागि मासिक करिब रु छ हजार खर्च हुने गरेको छ । सरिता चेपाङ समुदायबाट एसएलसी परीक्षामा छात्रातर्फ हालसम्मकै बढी अङ्क ल्याउने विद्यार्थी हुन् । 

उनले २०७१ सालको एसएलसीमा राष्ट्रिय प्राथमिक विद्यालय जोगीमारा–१, खोरभञ्ज्याङबाट ७४.१३ प्रतिशत अङ्क हासिल गरी प्रथम श्रेणीमा उत्तीर्ण भएकी थिइन् । 

 

(रासस) 

 

प्रतिक्रिया