Edukhabar
आइतबार, ३० भदौ २०८१
खबर/फिचर

शिक्षामा राजनीतिक हस्तक्षेप रोक्ने उपाय खोजेको मन्त्रीको दावी, दलहरुसँगको छलफलमा आएन निचोड

राजनीनितिक प्रतिवद्धता नभएसम्म विश्वविद्यालयको हस्तक्षेप रोकिदैन : शिक्षा मन्त्री

बुधबार, १२ भदौ २०८१

काठमाडौं - शिक्षा क्षेत्रमा बढ्दो दलगत राजनीतिक हस्तक्षेप रोक्ने उपायको खोजिमा आफू सकृय भएको शिक्षा मन्त्री विद्या भट्टराईले दावी गरेकी छन् । दलगत हस्तक्षेपका कारण शिक्षाको गुणस्तर र संस्थाहरुको मर्यादामा ह्रास आईरहेको भन्दै दलहरुको आलोचना भईरहेका बेला बुधबार सञ्चारकर्मीहरुसँगको छलफलमा उनले उक्त दावी गरेकी हुन् ।

राजनीतिक दलको प्रतिवद्धता नआएसम्म राजनीतिक हस्तक्षेप रोक्न नसकिने बताउँदै उनले यस विषयमा राजनीतिक दलहरुसंग छलफल गरेको पनि बताईन् । शिक्षा सुधारको योजना बनाउन दलहरुसँग सुझाव माग गरेकोमा दलहरुबाट निचोड निस्कने गरी सुझाव नपाएको पनि उनले बताइन् ।

यस अघिकी शिक्षा मन्त्री सुमना श्रेष्ठले विद्यालय तहका शिक्षकलाई दलगत आवद्धता त्याग्न निर्देशन दिएकी थिईन् । सो अनुसार ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता परित्याग समेत गरिसकेका थिए ।  उक्त  निर्देशनका विरुद्ध उभिएकी मन्त्री भट्टराईले शिक्षक निर्देशिका अदालतमा विचाराधीन भएको स्मरण गर्दै त्यसका विरुद्ध अदालतबाट परमादेश आउने आशय समेत व्यक्त गरेकी छन् ।  उक्त निर्देशनका विरुद्ध मन्त्री भट्टराईका अभिव्यक्ति सार्वजनिक भईरहेका छन् । 

पढ्नुहोस् : शिक्षकको राजनीतिक आवद्धता प्रति शिक्षा मन्त्री उदार, झोले भनेकोमा कटाक्ष

आफ्ना त्यस्ता अभिव्यक्तिको आचोचना भईरहेका बेला मन्त्री भट्टराईले शिक्षामा दलगत हस्तक्षेप रोक्न राजनीतिक दलहरुसँग छलफल शुरु गरेको बताएकी हुन् । त्यस्ता छलफलका लागि पार्टीका महामन्त्री, महासचिवहरुलाई बोलाएको उनले बताईन् । कांग्रेस महामन्त्रीहरु व्यस्त भएकोले उपस्थित नभएको तर रास्वपा, एमाले लगायत दलका महासचिव, महामन्त्रीसँग छलफल गरेको उनले बताइन् ।

‘दलसंगको छलफलमा ठ्याक्कै के गर्ने भन्ने निचोड आएन’ उनले भनिन् ‘विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप कुरा आइरहेको हुन्छ । जबसम्म दलको प्रतिबद्धता हुदैन तबसम्म रोकिदैँन ।’ 

विश्वविद्यालयमा राजनीतिक भागवण्डाले उच्च शिक्षामा असर गरेको भन्दै गुनासो आइरहेको छ । पछिल्लो समय त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागको प्रमुख नियुक्तिमा समेत एमाले र कांग्रेस बिच कुन पार्टीका सह प्राध्यापकलाई विभागीय प्रमुख बनाउने भन्ने विवाद भएको थियो । आफ्नो पक्षको व्यक्तिलाई नियुक्तिको माग गरेर एक समूहले विश्वविद्यालयका पदाधिकारीलाई धम्की दिएको भन्दै मन्त्री भट्टराईले गृहमन्त्रीसंग सार्वजनिक रुपमै सुरक्षाको माग गरेको विषय चर्चित भएको थियो । 

पढ्नुहोस् : सुरक्षा माग्दै शिक्षा मन्त्रीको हारगुहार, धम्क्याउने व्यक्ति गृह मन्त्रीसँगै ! 

प्रतिक्रिया