Edukhabar
आइतबार, ३० भदौ २०८१
गतिविधि

'हाम्रो खुसी' पाठ्यक्रम लागू

पहिलो चरणमा  कक्षा एक देखि आठ सम्मका विद्यार्थीलाई लक्षित गर्दै लागू गरिएको उक्त पाठ्यक्रमले विद्यार्थीमा आत्म जागरुकता तथा मानसिक सचेतना विकास गर्ने सहितका विभिन्न सातवटा उद्देश्य राखेको छ ।

आइतबार, ०९ भदौ २०८१

नवलपुर - विद्यार्थीमा जीवनको दृष्टिकोण प्रति सकारात्मक रुपान्तरण ल्याउने उद्देश्य सहित मध्यविन्दु नगरपालिकाले 'हाम्रो खुसी' पाठ्यक्रम लागू गरेको छ । पहिलो चरणमा  कक्षा एक देखि आठ सम्मका विद्यार्थीलाई लक्षित गर्दै लागू गरिएको उक्त पाठ्यक्रमले विद्यार्थीमा आत्म जागरुकता तथा मानसिक सचेतना विकास गर्ने सहितका विभिन्न सातवटा उद्देश्य राखेको छ । 

बालबालिकाका समालोचनात्मक विचारधारा तथा शोधपरक प्रक्रिया विकास गर्ने र प्रभावपूर्ण संवाद तथा आपूmलाई स्वतन्त्र एवम् रचनात्मक रुपमा व्यक्त गर्ने सिपलाई बालबालिकामा अभिवृद्धि गर्ने पाठ्यक्रमको उद्देश्य छ । यस्तै चौथो उद्देश्यमा विद्यार्थीमा सम्बन्धलाई बुझ्ने एवम् सम्बन्धमा अपेक्षाहरु बुझ्ने तथा अनुभूति पूर्वक परिवारमा, साथीहरु सँग र शिक्षकहरु सँगको सम्बन्धमा प्रगाढताको सुनिश्चित गर्ने अपेक्षा राखिएको छ । पाँचौ उद्देश्यमा विद्यार्थी तथा उनीहरुको वरपरको वातावरणमा तनाब एवम् र वैचारिक द्विविधाको स्थितिसँग सामना गर्न जीवनोपयोगी सिप प्रयोगमा अभिवृद्धि गर्नु, छैठौं उद्देश्यमा विद्यार्थीमा समाजिक जागरुकता एवम् मानवीय मूल्यसहित अर्थपूर्ण योगदानको सुनिश्चित गर्नु र  अन्तिम उद्देश्यमा  शिक्षामा सार्वभौमिक प्रासङ्गिक पूर्णतावादी उपागम (स्वीकृति) विकास गर्नु उल्लेख गरिएको छ । 

'विद्यार्थीको ध्यान संवेदनाबाट प्राप्त हुने क्षणिक खुसी तथा सम्बन्धमा स्थिर भावबाट हुने दीर्घकालीन खुसी हुँदै समझबाट प्राप्त हुने स्थायी खुसीतर्फ जानेछ' पाठ्यक्रमको अवधारणामा भनिएको छ  'यसबाट उनीहरु आफैमा, आफ्नो सम्बन्धमा र समाजमा तालमेलपूर्वक बाँच्न सक्षम हुनेछन् । यस प्रयासबाट विद्यार्थीले बाहिरी संसारमा खुसी खोज्नुको सट्टा आफ्नै बुझाइ र मूल्यका आधारमा आफ्नो खुसी सुनिश्चित गर्न सक्षम हुनेछन् । यसबाट उनीहरु खुसीको याचक हुनुको सट्टा खुसीको स्रोत हुनेछन् ।'

अवधारणामा सिकाइ सक्षमता, विषयबस्तुको स्वरुप, मूल्याँकन विधिका बारेमा पनि विस्तृतमा उल्लेख गरिएको छ ।

विभिन्न समयमा गठन भएका शिक्षा आयोगका प्रतिवेदन नेपालको शिक्षा प्रणालीबाट गरेका अपेक्षा, राष्ट्रिय शिक्षा नीति २०७६ को लक्ष्य तथा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ को उद्देश्य तथा आधारभूत तहका बालबालिकाले तहगत सक्षमता हासिल गर्नका लागि पाठ्यक्रम निर्माणमा ध्यान दिईएको दावी गरिएको छ ।  

'तथ्याङ्कमा शिक्षाको विकास र विस्तार देखिए तापनि वर्तमानमा हरेक व्यक्ति तनावमा छ, यसबाट मुक्ति चाहन्छ । परिवारमा क्लेश छ, यसबाट मुक्ति चाहन्छ । समाजमा भय छ, यसबाट मुक्ति चाहन्छ र प्रकृतिमा असन्तुलन छ, यसबाट मुक्ति चाहन्छ । यी समस्याहरुकै कारणले आज जताततै दुःख, चिन्ता र असन्तोष छ' पाठ्यक्रमको अवधारणामा भनिएको छ 'जीवन मूल्य÷मानव मूल्य र सम्बन्धहरुका भावको बोध सहित समझको विकास गरी सहभागिता र योगदानका साथ मानव लक्ष्य पहिल्याउन सकियो भने मात्र मानव सही अर्थमा खुसी हुनसक्छ ।'

अवधारणामा सिकाइ सक्षमता, विषयबस्तुको स्वरुप, मूल्याँकन विधिका बारेमा पनि विस्तृतमा उल्लेख गरिएको छ । शिक्षामा नयाँ प्रयोगका रुपमा विकास गरिएको हाम्रो खुसी पाठ्यक्रम यसै शैक्षिक सत्र २०८१ बाट कार्यान्वयनमा गएको छ । उक्त पाठ्यक्रमको शिक्षा मन्त्री विद्या भट्टराईले शनिबार औपचारिक शुभारम्भ गर्दै  पाठ्यक्रमलाई राष्ट्रिय प्रारुपको रुपमा कार्यान्वयनमा लैजाने तर्फ आफुले भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । 

'यो पाठ्यक्रमको राम्रा कुराहरुलाई हामीले अनुशरण गरौं । यसलाई राष्ट्रिय प्रारुपको रुपमा कार्यान्वयनका लैजान शिक्षा मन्त्रालयले भूमिका खेल्छ' मन्त्री भट्टराईले भनिन् 'यो पाठ्यक्रमले पारेको प्रभाव सबैका लागि अनुशरण गर्ने विषय बनोस् । आगामी दिनमा हामीले खुसी पाठ्यक्रमलाई कसरी राष्ट्रिय तहमा निर्माण गरेर जाने भन्ने कुरामा मैले नेतृत्व गर्नेछु ।'
कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले शिक्षाको क्षेत्रमा नयाँ कार्यको रुपमा प्रयोग ल्याएको यस पाठ्यक्रमलाई व्यवस्थित र उपलब्धीमुलक बनाउन क्रियाशिल रहेको बताए ।

शैक्षिक परिवर्तनका लागि एउटा प्रयासको रुपमा पाठ्यक्रम लागु गरिएको उनको भनाई छ । 

कार्यक्रममा पूर्व सांसद तिलक महत, संविधानसभा सदस्य एवम् हाल गण्डकी प्रदेश सभा सदस्य महेन्द्रध्वज जि.सि., गाउँपालिका महासंघका महासचिव एवम् कालिगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिम बहादुर थापा, देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने लगायतले नयाँ अवधारणाले विद्यार्थीका सिकाइ सक्षमतामा वृद्धि गर्ने अपेक्षा गरे । 

कार्यक्रममा मध्यविन्दु नगरपालिकाको पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्रका संयोजक हरि प्रसाद देवकोटाले विभिन्न तहगत छलफल, अध्ययन र प्रयासहरुबाट हाम्रो खुसी पाठ्यक्रम निर्माण भएको जानकारी दिए । नगरपालिकाले २०७९ साल माघबाट हाम्रो खुसी पाठ्यक्रम निर्माणको काम शुरु गरेको थियो । यसका लागि गण्डकी प्रदेश सरकार नवपर्वतक कार्यक्रम अन्तर्गत ७६ लाख र नगरपालिकाले ४५ लाख रुपियाँ रकम विनियोजन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले जानकारी दिए । 

प्रतिक्रिया