Edukhabar
आइतबार, ३० भदौ २०८१
खबर/फिचर

शिक्षकका लागि घोषणा गरिएको 'बुटक्याम्प'को खाका तयार

'बुटक्याम्प'मा सहभागि शिक्षकलाई तालिम दिनु अघि मन्त्रालयले प्रशिक्षक उत्पादन गर्ने भएको छ । तालिम प्राप्त प्रशिक्षकहरुबाट 'बुटक्याम्प' सञ्चालन गर्ने नीति मन्त्रालयले बनाएको छ ।

शुक्रबार, ०७ भदौ २०८१

काठमाडौैं - यस बर्षको बजेटमा घोषणा गरिएको शिक्षक  'बुटक्याम्प'मा गर्ने कृयाकलापको खाका शिक्षा मन्त्रालयले तयार पारेको छ । सरकारले बाल शिक्षा सुधारको लागि यसपालि एक हजार पाँच सय ईसीडी शिक्षकलाई ‘बुटक्याम्प’ मा सहभागी गराउने घोषणा गरेको थियो । सोही अनुसार बजेट विनियोजन गरिएको छ । यसलाई कार्यान्वयन कसरी गर्ने ? भनेर मन्त्रालयले बनाएको कार्ययोजनालाई अर्थ मन्त्रालयले सहमती दिए सँगै शिक्षा मन्त्रालयले आन्तरिक तयारी शुरु गरेको छ ।  

'बुटक्याम्प'को लागि सरकारले तीन करोड १५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । बजेट कार्यान्वयन गर्न बनाइएको योजनामा बालविकास शिक्षकको क्षमता तथा आवश्यक ज्ञान, सीप र सिकाइ अभिबृद्धि गराउन 'बुटक्याम्प' गरिने उल्लेख छ । शिक्षकको क्षमता विकास नभएसम्म बालबालिकाको सर्वाङ्गीण विकास सम्भव नभएको भन्दै बालविकास शिक्षकलाई तालिम जरुरी रहेको मन्त्रालयको निष्कर्ष छ । सम्बन्धित क्षेत्रका विज्ञ, बालविकासको क्षेत्रमा काम गर्ने गैर सरकारी संघ संस्था समेतको सहभागितामा कार्यविधि र तालिम सामाग्री विकास गर्न लागेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले यस्तै काममा सहभागि हुने विज्ञको खोजी गर्दै बिहीबार एउटा सूचना समेत जारी गरेको छ । सूचनामा विज्ञको सुचीमा सुचिकृत हुन आव्हान गरिएको छ । जसमा प्रारम्भिक बाल विकासको क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको, तालिम वा सीपको प्रमाणपत्र भएको व्यक्तिलाई सम्पर्क गर्न भनिएको छ । 

'बुटक्याम्प'मा सहभागि शिक्षकलाई तालिम दिनु अघि मन्त्रालयले प्रशिक्षक उत्पादन गर्ने भएको छ । तालिम प्राप्त प्रशिक्षकहरुबाट 'बुटक्याम्प' सञ्चालन गर्ने नीति मन्त्रालयले बनाएको छ । बालविकास शिक्षकहरु मध्ये कसलाई छनौट गर्ने भन्ने कार्यविधि बनाइने मन्त्रालयले जनाएको छ ।

फोटो : एआई 

प्रतिक्रिया