Edukhabar
आइतबार, ३० भदौ २०८१
गतिविधि

संसदमा पूर्व शिक्षा मन्त्रीको व्यङ्ग्य : 'बुद्धि भन्दा बल ठूलो, बल भन्दा दल ठूलो'

शिक्षक प्राध्यापकले राजनीति गर्न पाउनु पर्छ भन्ने सेनापति को हुनुहुन्छ ? प्रधानमन्त्री

विहीबार, ०६ भदौ २०८१

काठमाडौं - त्रिभुवन विश्वविद्यालयमा सुरक्षाको व्यवस्था गर्न शिक्षा मन्त्रीले गरेको सार्वजनिक आग्रहका विषयमा संसदमा चर्चा भएको छ । बुधबार शिक्षा मन्त्री विद्या भट्टराईले सामाजिक सञ्जाल मार्फत् गृहमन्त्रीसँग विश्वविद्यालयमा सुरक्षाको आग्रह गरेकी थिईन् । 

जसबाट असुरक्षा भएको हो सोही व्यक्ति गृह मन्त्री निकट रहेको खबर सार्वजनिक भएको छ ।

सुरक्षा माग्दै शिक्षा मन्त्रीको हारगुहार, धम्क्याउने व्यक्ति गृह मन्त्रीसँगै !

यही घटनालाई बिहीबारको संसद बैठकमा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले व्यङ्ग्यात्मक रुपमा चर्चा गरेकी छन् । सानोमा बल भन्दा बुद्धि ठूलो भन्ने पढेको स्मरण गर्दै उनले भनिन् - 'बुद्धि भन्दा बल ठूलो बल भन्दा दल ठूलो ।' 

घटनालाई दलीय राजनीतिले निम्त्याएको दुर्दशाको संज्ञा दिदैं उनले दलगत प्रभावका कारण शिक्षा क्षेत्रमा नकारात्मक प्रभाव परेको उल्लेख गरिन् । 

विश्वविद्यालयको विभागीय प्रमुख नियुक्ति गर्दा पनि राजनीतिक दलको झोला बोकेकै आधारमा हुनु पर्ने अवस्था विडम्बना भएको बताउँदै उनले प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएकी छन् । 

'विवाद भएका विश्वविद्यालयको कुलपति को ? प्रधानमन्त्री, मन्त्रीहरुको परिषद्को कप्तान को ? प्रधानमन्त्री, साउन ३० गते सरस्वती क्याम्पसमा चिट चोराउन गएका अखिलका कार्यकर्ताले निरिक्षक कुटे त्यसको माउ पार्टिको कप्तान को ? प्रधानमन्त्री, शिक्षक प्राध्यापकले राजनीति गर्न पाउनु पर्छ भन्ने सेनापति को हुनुहुन्छ प्रधानमन्त्री'  उनले भनिन् 'जरोमा पनि उही टुप्पोमा पनि उही, यसमा प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नु पर्ने कारण के छ ? '

दलको झोला बोकेको आधारमा विभागीय प्रमुख नियुक्ति र झोला बोकाउने काम दलहरुले गरेकोले शिक्षा क्षेत्रमा दलीय राजनीति मुक्त हुनु पर्ने उनको तर्क छ । 

यस्तै विपक्षी दल माओवादी केन्द्रका सांसद राजन दाहालले विश्वविद्यालयको घटनाको सत्य तथ्य संसदलाई जानकारी गराउन माग गरेका छन् 

'सत्य के हो थाहा पाउनु पर्छ' उनले भने 'त्रिभुवन विश्वविद्यालयका सुरक्षा नभए अन्त कहाँ हुन्छ ?' 

यदी राजनीतिक समस्या हो भने वार्ताबाट समाधान गर्नु पर्ने र गुण्डागर्दी हो भने सरकारले नियन्त्रण गर्नु पर्ने उनको भनाई छ ।  

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले विश्वविद्यालयको सम्पत्ति दुई दलले बाँडेर लिन सुझाव दिएका छन् ।

'सबै विद्यार्थी विदेश पठाउने विश्वविद्यालयको सम्पत्ति बाँड्ने' उनले सुझाव दिए ।  

प्रतिक्रिया