Edukhabar
आइतबार, ३० भदौ २०८१
गतिविधि

सांसदले रोष्टमबाट जे जे बोले, सबै झुट ! [छानविन समितिको प्रतिवेदन सहित]

सांसद महतोका छोराले सेवा लिएको अवधिको हरेक सेकेण्डलाई पनि छानविन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विहीबार, ०६ भदौ २०८१

काठमाडौं  - जनता समाजवादी पार्टीका सांसद विरेन्द्र महतोले साउन ६ गते संसदको बैठकमा बोलेका सम्पूर्ण अभिव्यक्ति झुटो भएको छानविन समितिले पत्ता लगाएको छ । 

काठमाडौं स्थित अमेरिकन दुतावासको सिफारिसमा सञ्चालन भएको लिंकन स्कुलमा कक्षा १० र १२ अध्ययन गरेका छोरा तनिष महतोको पाठ्क्रम विकास केन्द्रबाट समकक्षता गराउन बिचौलिया मार्फत पाँच हजार घुस दिएको सांसदले आरोप लगाएका थिए । यही विषयमा शिक्षा मन्त्री विद्या भट्टराईले सहसचिव वसन्त प्रसाद कोइराला संयोजक रहेको छानविन समिति बनाएकी थिइन्

सांसदले रोष्टमबाट उक्त अभिव्यक्ति दिए पछि केन्द्रले उक्त शाखाका कर्मचारीलाई समेत जिम्मेवारीबाट हटाएको थियो । 

रोष्टमबाट सांसदले जे जे बोलेका थिए हरेक वाक्यको समितिले तथ्य जाँच गरेको छ । 

प्रतिवेदनमा ‘प्रतिनिधि सभाका माननीय सांसदले बोल्नु भएको धारणा र बस्तुगत तथ्य बिचको तादम्यता भन्ने उप शीर्षक दिइएको छ । 

झुट १

सांसद महतोले रोष्टमबाट भनेका थिए, ‘मैले हिजो मात्र पाँच हजार रुपैँया दिइ आएको छु ।’ यस विषयमा छानविन समितिले सांसदले बोलेको तथ्य नै गलत भएको निष्कर्ष निकाल्दै प्रतिवेदनमा लेखिएको छ ‘प्रतिनिधि सभाको बैठक साउन ६ गते बसेको र उक्त बैठकमा सांसद महतोले हिजो मात्र पाँच हजार दिएँ भनेर बोल्नु भएको देखिएको तर निजको छोराको समकक्षताको काम साउन ३ गते नै भइ सकेको देखिएको छ । साउन ६ गतेको हिजो साउन ५ गते हुनु पर्नेमा काम साउन ३ गते नै भइसकेको देखिन्छ ।’ 

झुट २ 

सांसद महतोले भनेका थिए ‘मेरो छोराको सर्टिफिकेट इकोभ्यालेण्ट गर्नु पर्ने थियो मैले ११ बजे पठाएको ३ बजेसम्म गर्दिएनन् ।’ 

यस विषयमा पनि सांसदको अभिव्यक्ति गलत भएको छानविन पछि पुष्टि भएको छ । 

‘सो विषयका सम्बन्धमा साउन महिनाको ३ गते दिनको १२ बजेदेखि साढे तीन बजे भित्रमा कक्षा १० र १२ को समकक्षताको काम सम्पन्न भएको अनलाइन सफ्टवेयरको विवरणबाट देखिन्छ ।’ 

झुट ३ 

सांसदले बोलेको तेश्रो तथ्य थियो – ‘यो मिलेन त्यो मिलेन यसो भएन, किन मिलेन ?’ 

छानविन समितिको तर्क सिष्टमले जे अपुग भएको हो त्यो मौखिक भन्दा पनि सिष्टमबाटै एसएमएस गएको पाइएको निष्कर्ष निकालेको छ । प्रतिवेदनमा भनिएको छ ‘कागज पत्र नमिलेको नभै नपुग भएको अनलाइनको तथ्यबाट देखिन्छ । कक्षा १० को लागि सर्टिफिकेट र अनलाइन ठेगाना र कक्षा १२ को लागि नागरिकताको दुबै पट्टीको भाग देखिने गरी कागजपत्र पुनः सब मिट गर्न एसएमएस गएको पाइन्छ जुन सिष्टमको रेकर्डबाट देखिएको छ ।’ 

झुट ४

सांसदले बोलेको अर्को कुरा थियो ‘सबै कागज मिलेको छ म आफै गएँ, म आफै जादाँ खेरी त्यो एउटा अधिकृतले के भन्यो भन्दा खेरी यो कागज मिलेको छैन ।’ 

छानविन समितिले यस विषयमा पनि तथ्य जाँच गर्दा गलत पाइएको छ । सांसद महतो, उनका छोरा र स्वकीय सचिवसंग बयान लिएर यसको तथ्य जाँच गरेको पाइएको छ । यस विषयमा छानविन समितिको प्रतिवेदनमा भनिएको छ ‘समकक्षता सम्बन्धी कारवाहीमा माननीय ज्यू आँफै गएको कुरा उल्लेख गर्नु भएको छ तर सो दिन वहाँ सानोठीमीमा आफू पछि जानुभएको छोराको साथ स्वकीय सचिवलाई समेत पठाउनु भएको वहाँको जवाफबाट देखिन्छ । आँफै गएको भए पनि अधिकृतलाई नभेटी फर्किएको उहाँ सँगको मौखिक छलफलबाट जानकारी भएको छ ।’ 

झुट ५

सांसदले रोष्टमबाट बोलेको पाँचौ झुट थियो–‘चिया खाने टायम हो, चार बजेसम्म आएनन् ।’ महतोले बोलेको यो कुरा पनि झुट भएको समितिले औँल्याएको छ । प्रतिवेदनमा भनिएको छ ‘कर्मचारीहरु ४ बजेसम्म चिया खान गएको विषयलाई सोही दिनको सेवाप्रवाह गरेको सफ्वेयर सिष्टम हेर्दा १२ बजेदेखि साढे तीन बजेसम्म निज सेवा ग्राहीको सबै काम सम्पन्न भइ सकेको देखिँदा उक्त भनाइमा पनि पूर्ण सहमत हुने आधार देखिँदैन ।’

झुट ६ 

सांसदले रोष्टमबाट बोलेको छैठौं झुट हो –‘त्यो विचौलियालाई गएर पाँच हजार रुपैया दिएँ म बसिरहँे ५ मिनेटमा काम भयो ।’ छानविन समितिले सांसद, छोरा, स्वकीय सचिवलाई प्रश्नावली तयार गरेर सोधपुछ गर्दा यो अभिव्यक्ति पनि झुट भएको पुष्टि भयो । अनलाइनमा फारम भर्न सहयोग गर्नेलाई राजीखुसी दिएको रकमलाई घुस दिएको आरोप लगाएको समितिको निष्कर्ष छ । 

सांसदले लगाएको आरोपको उक्त विषयमा छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ‘निज सेवाग्राही हतारिएको देखेर कार्यालय परिसर भित्रै रहेको दोस्रो व्यक्तिले सहयोग गरेको भन्ने विषय स्वयम् निवेदक सेवाग्राही र स्वकीय सचिवबाट लिखित र मौखिक रुपमा व्यक्त गर्नु भएको छ । सो काममा सहयोग गरिदिए बापत निजलाई खाजा खुवाउन खोज्दा निजले खाजा खान नमानेकोले खाजा खानको लागि भनि स्वकीय सचिव स्वयमले केही रकम राजिखुशीले दिएको भनि उल्लेख गरेको देखिन्छ । निज व्यक्ति को हुन् भनि सोध्दा आफ्नो काम भएपछि निजको नाम थर नसोधेको र यस्तोसम्म हुन्छ भनि परिणाम नबुझेर व्यक्त भएको विषयलाई ठूलो इस्यू नबनाइदिन अनुरोध भएको ।’ 

३ देखि १५ दिन लाग्ने काम एकै दिनमा 

सामान्यतया तीन देखि १५ दिन लाग्ने समकक्षताको काम सांसद महतोको छोराको एकै दिनमा पुरा भएको छानविन समितिले निष्कर्ष निकालेको छ । केन्द्रले अनलाइन प्रणालीबाट समकक्षता दिने व्यवस्था गरेको छ । यो व्यवस्थामा कसले आवेदन दिएर कहिले काम सकियो भन्ने यकिन समय समेत प्रतिवेदनमा समेटिएको छ । 

लिंकन स्कुलबाट कक्षा १०, ११ र १२ पढेका सांसदका छोरा तनिष महतोले साउन २ मा अनलाइन निवेदन दर्ता गरेर ३ गते केन्द्रको समकक्षता शाखामा गएका थिए । प्रतिवेदन अनुसार कक्षा १० को समकक्षताको लागि ३ गते दिनको १२ बजेर ७ मिनेट ३ सेकेण्डमा कार्यालयबाट भेरिफिकेसन भई नपुग सर्टिफिकेट तथा अनलाइन रिजल्ट पुनः सबमिट गर्न एसएमएस तथा अनलाइन मार्फत सूचना पठाएको छ । त्यही दिन दिन २ बजेर २६ मिनेट २७ सेकेण्डमा अनलाइनमा पुनः सवमिट गरेको विवरण भेरिफाइ भई अन्तिम स्वीकृतिको पठाएको छ । ३ बजेर २० मिनेट ३३ सेकेण्डमा तपाईको कागजात स्वीकृत भयो, राजश्व तिरी अनलाइन मार्फत् पत्र प्रिण्ट गर्ने व्यहोराको सूचना एसएमएस मार्फत् सेवाग्राहीको मोवाइलमा गएको प्रतिवेदनमा उल्लेख छ । 

कक्षा १० को काम सकिए पछि कक्षा १२ को हकमा समेत त्यही दिन २ बजेर २४ मिनेटमा नागरिकताको दुबै पट्टिको भाग देखिने गरी पुनः सबमिट गर्न सेवाग्राहीलाई सूचना गएको प्रतिवेदनमा उल्लेख छ । नपुग कागजात अनलाइनबाट प्राप्त भए पछि उक्त कागजात सोही दिनको २ बजेर ३१ मिनेट ५ सेकेण्डमा अन्तिम प्रमाणिकरणका लागि सम्प्रेषण भएको, ३ बजेर २१ मिनेट ४२ सेकेण्डमा कागजपत्र स्वीकृत भएको र राजश्व तिरी प्रिण्ट गरी पत्र निकाल्ने व्यहोराको सूचना अनलाइन मार्फत् सेवाग्राहीको मोवाइलमा गएको प्रतिवेदनमा उल्लेख छ । आवेदन दिएकै दिन राजश्व तिरेको सफ्टवेयरको स्ट्याटसबाट देखिएको प्रतिवेदनमा लेखिएको छ । 

‘कक्षा १० र १२ को न्यूनतम कागजपत्र पुगेपछि शाखा अधिकृत कहाँ अन्तिम भेरिफिकेसनको लागि अनलाइन मार्फत् कागजात जादाँ उक्त सेवाग्राहीलाई अन्य सेवाग्राहीलाई जस्तै जाने जानकारी गएको र सो मा ३ देखि १५ दिनसम्म लाग्ने व्यहोरा उल्लेख छ’ प्रतिवेदनको निष्कर्षमा भनिएको छ ‘सो सूचनालाई आधार मान्दा उक्त सेवाग्राहीले सोही दिनमा नै सेवा पाएको देखिएकोले निज निवेदकको हकमा सेवा प्रवाहमा कुनै विलम्ब भएको देखिँदैन ।’ 

सांसदको छोराको समकक्षताको समस्याको विषयलाई लिएर कार्यालय प्रमुख र गुनासो सुन्ने अधिकारी समक्ष समेत कोही नगएको छानविन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । 

सांसद कसरी झुक्किए ? छानविन समितिको निष्कर्ष

‘प्रतिनिधि सभाको बैठकमा माननीय सांसद डा. विरेन्द्र प्रसाद महतोले उठान गर्नु भएको विषयका सम्बन्धमा सेवाग्राहीले कार्यालय परिसर भित्र अपरिचित दोस्रो व्यक्तिबाट प्राप्त भएको सहयोग देखि खुशी भई राजीखुशीले निजलाई केही रकम दिएको भन्ने समेतको व्यहोरा लिखित एवम् मौखिक रुपमा जानकारी हुन आयो । समकक्षता सम्बन्धी काम सम्पन्न भएको तर कामको शिलशिलामा पाँच हजार रुपँैया खर्च भएको भनी स्वकीय सचिवले माननीय सांसदलाई जानकारी गराई निज स्वकीय सचिव जिल्लामा गएको र यस बीचमा संघीय संसदमा मन्तव्य दिने क्रममा त्यस प्रकारको अभिव्यक्ति दिएको भनी प्रतिनिधि सभाका माननीय सांसद स्वयम र निजका स्वकीय सचिवबाट जानकारी प्राप्त भयो ।’ 

यो पनि पढ्नुहोस् :

सांसदले घुस दिएको आरोप गलत, सहयोग गरेको सेवाग्राहीलाई नै बिचौलियाको बिल्ला

शिक्षाको 'घुस काण्ड' : घुस खुवाएको दाबी गर्ने सांसदको फरक फरक भनाई

शिक्षाको घुस काण्ड : सांसदका स्वकीय भन्छन्–‘खाजा खर्च दिएको हो, घुस होइन’

प्रतिवेदन पढ्नुहोस् : 

प्रतिक्रिया