Edukhabar
विहीबार, ०३ असोज २०८१
खबर/फिचर

एनजी आएका विद्यार्थीको पुनर्योग गर्दा ‘ए’ [नतिजा सहित]

४० हजार विद्यार्थीले पुनर्योगको लागि आवेदन दिएका छन् । पुनर्योग गर्न निवेदन दिने आइतबार अन्तिम दिन हो ।

आइतबार, ०२ भदौ २०८१

काठमाडौँ–राष्ट्रिय परीक्षा बोर्डले यसअघि सार्वजनिक गरेको १२ कक्षाको नतिजामा एनजी आएपछि पुनर्योग गर्दा विषयगत ग्रेड ए सम्म परिवर्तन भएको छ । 

हेर्नुस् नतिजा 

बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार चार जनाको विषयगत ग्रेड ए आएको हो । बोर्डले पहिलो चरणमा एनजी आएर पुनर्योगको लागि आवेदन दिएका १० हजार मध्ये सात हजार विद्यार्थीको उत्तरपुस्तिका पुनर्योग गरेको थियो । 

अनिवार्य नेपाली, अंग्रेजी, सामाजिक अध्ययन तथा जीवनपयोगी, गणित, भौतिक शास्त्र, जीव विज्ञान, रसायनशास्त्र र कम्प्युटर विज्ञानको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो । यी विषयमा यसअघि एनजी आएको र पुनर्योग गर्दा ५५ जनाको नतिजा परिवर्तन भएको बोर्डले जनाएको छ । 

बोर्डका अनुसार अनिवार्य नेपालीमा नौ जना विद्यार्थीको नम्बर परिवर्तन भएको छ । यसअघि एनजी भएकोमा एक जनाको ए, बी दुई जनाको, सी प्लस दुई जनाको, सी दुई जना र डी एक जनाको आएको छ । 

अनिवार्य अंग्रेजीमा यसअघि एनजी आएकोमा अहिले २० जनाको नतिजा परिवर्तन भएको छ । अंग्रेजीमा एक जनाको ए, चार जनाको बी प्लस आएको छ । त्यस्तै सामाजिकमा एनजी आएर पुनर्योग गरेका मध्ये १४ जनाको नतिजा परिवर्तन भएको छ । परिवर्तन भएको मध्ये एक जनाको नतिजा ए छ । 

गणितमा ६ जनाको नतिजा परिवर्तन भएको छ । फिजिक्समा तीन, बाइलोजीमा दुई र कम्प्युटर साइन्समा एक जनाको नतिजा परिवर्तन भएको बोर्डले जनाएको छ । केमेस्ट्रीमा पुनर्योगको लागि आवेदन दिए पनि कसैको पनि नतिजा परिवर्तन नभएको बोर्डले जनाएको छ ।  उत्तरपुस्तिका परीक्षकले नम्बर दिएर बाहिर नटिपेको, परीक्षण गर्न छुटाएको, उत्तरपुस्तिकामा प्राप्त गरेको नम्बर मार्क स्लिपमा कम टिपेको जस्तो समस्याले एनजी आएको विद्यार्थीको नतिजा परिवर्तन भएको बोर्डले जनाएको छ । 

बोर्डले पहिलो चरणमा एनजी आएका विद्यार्थीको मात्रै उत्तरपुस्तिका पुनर्योग गरेको हो । पुनर्योग गर्न निवेदन दिने आज अन्तिम दिन हो । 

आइतबार बिहानसम्म ४० हजार विद्यार्थीले पुनर्योगको लागि आवेदन दिएका छन् । गत वैशाखमा भएको परीक्षामा तीन लाख ९० हजार ८ सय ६८ जनाले परीक्षा दिएका थिए । 

बोर्डले पुनर्योगको नतिजा चित्त नबुझेमा उत्तरपुस्तिका हेर्न सकिने जनाएको छ । यसरी उत्तरपुस्तिका हेर्न चाहने विद्यार्थीले १२ कक्षाको पुनर्योगको अन्तिम नतिजा प्रकाशन भएको १५ दिनभित्र एक विषयमा दुई हजारको दरले शुल्क बुझाई निवेदन दिन सकिने बोर्डले जनाएको छ । 

 

प्रतिक्रिया