Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

सांसदले घुस दिएको आरोप गलत, सहयोग गरेको सेवाग्राहीलाई नै बिचौलियाको बिल्ला

कार्यालयमा कम्प्युटर लिएका आएका सेवाग्राहीलाई अनलाइन फारम भर्न सहयोग लिएर खुसी हुँदै दिएको पैसालाई बिचौलिया मार्फत घुस खुवाएको आरोप लगाएको छानबिन समितिको निष्कर्ष

शनिबार, २६ साउन २०८१

काठमाडौँ–जनता समाजवादीका सांसद वीरेन्द्र महतोले शिक्षा मन्त्रालयका कर्मचारीलाई घुस दिएको आरोप झुटो भएको छानबिन समितिले पत्ता लगाएको छ । प्रतिनिधिसभाको रोस्टमबाट सांसद महतोले छोराको सर्टिफिकेट समकक्षता गर्ने क्रममा पाठ्यक्रम विकास केन्द्रका कर्मचारीलाई पाँच हजार घुस दिएको आरोप लगाएका थिए । 

भक्तपुरको सानोठिमी स्थित पाठ्यक्रम विकास केन्द्रको समकक्षता शाखाको परिसरमा ल्यापटप लिएका आएका सेवाग्राहीको सहायता लिएर समकक्षताको लागि अनलाइन फारम भरेर एकै दिनमा काम भएको भन्दै खुसी भएर दिएको पैसालाई बिचौलिया मार्फत घुस खुवाएको आरोप लगाएको छानबिन समितिले निष्कर्ष निकालेको मन्त्रालय स्रोतले जनाएको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले महतोको अभिव्यक्तिको आधारमा शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक वसन्त कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले सांसद महतोको छोराको सर्टिफिकेट समकक्षता गर्न कर्मचारीलाई घुस दिएको अभिव्यक्ति झुटो भएको स्रोतले जनाएको छ ।

‘एकै दिनमा १० र १२ कक्षाको सर्टिफिकेटको समकक्षताको काम सकिएको छ,’छानबिन समितिले मन्त्रालयमा गरेको ब्रिफ्रिङमा सहभागी एक कर्मचारीले भने,‘समकक्षता लिन सांसद आफै गएको भनिए पनि गएको देखिएन । ५ हजार रुपैयाँ दिएको भन्ने जुन आरोप छ । त्यो कर्मचारीलाई नभई महतोको छोरा जस्तै कार्यालयमा सेवा लिन आएका सेवाग्राहीलाई फारम भर्न सहयोग  मागेको देखिन्छ । काम गरिदिए बापत खुसी भएर उसलाई पैसा दिएको पाइयो । त्यही पैसालाई कर्मचारीलाई घुस दिएको आरोप लगाएको पाइयो ।’

शिक्षाका कर्मचारीले घुस लिएको आरोप संसद्मा उठेकाले छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाउने मन्त्रालयले तयारी गरेको छ । 

 

प्रतिक्रिया