Edukhabar
मंगलबार, ०१ असोज २०८१
गतिविधि

समयानुकुल पाठ्यक्रम निर्माण र संस्थाको पुनसंरचना गर्न छुट्टा छुट्टै कार्यटोली गठन

पुनसंरचनाका लागि गौतमको संयोजकत्व र समयानुकल पाठ्यक्रम निर्माणका लागि पौडेलको संयोजकत्व

शुक्रबार, २५ साउन २०८१
कार्यटोलीका संयोजकहरु क्रमशः पूर्व सचिव सूर्यप्रसाद गौतम र पूर्व सह सचिव डा. लेखनाथ पौडेल

भक्तपुर - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को पुनसंरचना गर्न र समयानुकुल पाठ्यक्रम निर्माण गर्न छुट्टा छुट्टै कार्यटोली गठन गरिएको छ । परिषद्को मंगलबार बसेको २०० औं बैठकले पूर्व सचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा पुनसंरचना र पूर्व सहसचिव डा. लेखनाथ पौडेलको संयोजकत्वमा पाठ्यक्रम निर्माण कार्यटोली गठन गरेको हो । 

कार्यटोलीमा रहने सदस्यको नाम सार्वजनिक गरिएको छैन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सीटीइभीटीलाई संघीयता अनुसारका संरचना बनाउन टोली गठन गरेको बताईन् । 
‘सीटीइभीटी भित्र बेथिति र राम्रो काम एकै ठाउँमा छ । यसलाई व्यवस्थित गर्न पुनसंरचना जरुरी ठानेर उच्चस्तरीय समिति गठन गरेका हौँ’ उनले भनिन् । 

त्यस्तै परिषद्को समयानुकुल पाठ्यक्रम बनाउन विज्ञ समूह पनि गठन गरिएको छ । परिषद्बाट सञ्चालन हुने कार्यक्रमहरुका पाठ्यक्रमहरुको समयसापेक्ष परिमार्जन गर्न पूर्व सहसचिव पौडेलको संयोजकत्वमा पाँच सदस्य कार्यटोली गठन गरिएको हो ।

यस वर्षको प्रवेश परीक्षामा परिषद्को आंगिक शिक्षालयहरुमा सञ्चालित स्वास्थ्य बाहेकका कार्यक्रमहरुमा न्यून संख्यामा आवेदन परेपछि यसलाई व्यवस्थित गर्न पोलिटेक्निक महाशाखाका निर्देशक दामोदर देवकोटाको संयोजकत्वमा कार्यटोली गठन गरिएको छ । कार्यक्रम, परीक्षार्थी समायोजन र सेवा करारमा कार्यरतहरुको समायोजन सम्बन्धमा अध्ययन गरी कार्यक्रम सञ्चालन गर्नको लागि सुझाव दिन टोली गठन गरिएको सीटीइभीटीले जनाएको छ । 

परिषद् बैठकले आंगिक शिक्षालय गणेशमान स्मृति बहुप्राविधिक शिक्षालय, चन्द्रागिरी, काठमाडौंलाई डिप्लोमा इन व्युटि एण्ड कस्मेटोलोजी डिप्लोमा इन फेसन डिजाइन कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय पनि गरेको छ ।

देश संघीय संरचनामा प्रवेश गरेसँगै सिटीइभिटीका तत्कालिन सदस्य सचिव डा. रामहरी लामिछानेले एक अवधाणा अघि सारेका थिए । उनको योजनाका बारेमा २०७३ साल साउनमा उनीसँग गरिएको कुराकानी पनि पढ्नुहोस् -  प्राविधिक शिक्षा : निजीमा गरिबको पहुँच छैन, सार्वजनिकमा बजेट छैन 

प्रतिक्रिया