Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

४८ संस्थालाई सम्बन्धन

सम्बन्धनका लागि अदालतको आदेश लिएका १३ वटा र नियमित प्रक्रियामा रहेका २९ वटा संस्थालाई सम्बन्धन दिने निर्णय

शुक्रबार, २५ साउन २०८१

भक्तपुर – प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) ले ४८ वटा संस्थालाई सम्बन्धन दिने निर्णय गरेको छ । सम्बन्धनका लागि अदालतको आदेश लिएका १३ वटा र नियमित प्रक्रियामा रहेका २९ वटा संस्थालाई सम्बन्धन दिने परिषद्को २०० औं बैठकले निर्णय गरेको हो । 

यस अघि प्रि डिप्लोमा पढाउने पाँच वटा संस्थालाई पनि डिप्लोमा तह पढाउन सम्बन्धन दिने परिषद्ले निर्णय गरेको थियो । परिषद्ले स्वास्थ्य तर्फ नर्सिङ, फार्मेसी, रेडियोग्राफी, फिजियोथेरापी, अप्थाल्मिक, ल्याब, एचए कार्यक्रमको सम्बन्धन दिएको हो । त्यस्तै इञ्जिनियरिङ तर्फ कम्प्युटर इञ्जिनियरिङ, इलेक्ट्रिकल, सिभिल, आर्किटेक्चर कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको छ । 

एउटै संस्थालाई स्वास्थ्य, इञ्जिनियरिङ र कृषिको गरी चार वटासम्म अनुमति दिएको छ । भरतपुरको सेण्ट्रल हस्पिटललाई डिप्लोमा इन फार्मेसी, बाली विज्ञान, सिभिल इञ्जिनियरिङ, इलेक्ट्रिकल इञ्जिनियरिङको अनुमति दिएको छ । चिकित्सा शिक्षा आयोगबाट आशयपत्र प्राप्त गरी अन्तिम प्रक्रियामा रहेका र अदालतले सम्बन्धन दिन आदेश दिएका १३ वटा संस्थालाई स्वास्थ्य, इञ्जिनियरिङ र कृषिको कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको परिषद्ले जनाएको छ । 

विभिन्न मितिमा भएको अदालतको आदेश अनुसार कार्यक्रम सञ्चालनको लागि निजी क्षेत्रका १३ वटा संस्थाले सञ्चालन गर्न अनुमति माग गरे अनुसार आयोगमा कोटा निर्धारणको लागि पठाइएको परिषद्ले जनाएको छ । अदालतको आदेश पछि सम्बन्धन दिने निर्णय गरेर आयोगमा कोटा निर्धारणको लागि पठाइएको संस्थामा झापाको पाथिभरा सेण्टर फर एडभान्स स्टडिजलाई कम्प्युटर, इलेक्ट्रिकल, सिभिल, चितवनको जानकी ग्लोबल इन्ष्टिच्यूट अफ साइन्स एण्ड टेक्नोलोजीलाई डिप्लोमा इन फार्मेसी कार्यक्रम सञ्चालनको अनुमति दिईएको छ । त्यस्तै धनुषाको नेपाल टेक्निकल इन्ष्टिच्यूट, सप्तरीको राजबिराज स्थित जगदम्बा मेडिकल इन्ष्टिच्युट, जनकपुरको राम जानकी टेक्निकल एकेडेमी, सिराहाको अग्रिमा एकेडेमी, कपिलबस्तु टेक्निकल इन्ष्टिच्यूट, उदयपुरको मोर्डन इन्टिच्युटलाई फार्मेसी चलाउन अनुमति दिएको छ । 
झापाको मानसरोवर इन्ष्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीलाई आर्किटेक्चर, इलेक्ट्रिकल, सिभिल इञ्जिनियरिङ र अप्थाल्मिक साइन्स पढाउन सम्बन्धन दिएको हो । त्यस्तै सप्तरीको नेशनल पिपुल इञ्जिनियरिङ कलेजले सिभिल, कम्प्युटर, इलेक्ट्रिकल, धनुषाको सेण्ट्रल हस्पिटलले फार्मेसी, रेडियोग्राफी एचए सञ्चालनको अनुमति पाएका छन् । धनुषाको सेण्ट्रल हस्पिटललाई फार्मेसी, रेडियोग्राफी, एचए, सनराइज इञ्जिनियरिङ कलेज इलामलाई फरेष्ट्री र सिभिलको अनुमति दिएको छ । 

नवजीवन हेल्थ होम मोरङलाई फार्मेसी र फिजियोथेरापी, दोलखाको च्छोरोल्पा जनरल अस्तपाललाई फार्मेसी, ल्याब र एचएको अनुमति दिइएको छ । सुर्खेतको मिडवेस्ट्रन कलेज अफ साइन्स एण्ड टेक्नोलोजीलाई जियोमेटिक्स, फार्मेसी, सिभिल, शुभ स्वस्तिक टेक्निकललाई एचए र फार्मेसीको अनुमति दिइएको छ । त्यस्तै चिकित्सा शिक्षा आयोगबाट आशयपत्र प्राप्त गरी अन्तिम प्रक्रियामा रहेका रहेका २९ वटा संस्थालाई कार्यक्रम सञ्चालनको लागि आयोगमा कोटा निर्धारणको लागि पठाउने परिषद्ले निर्णय गरेको छ । त्यस्तै सात वटा संस्थाको प्रस्तावलाई रद्द गर्ने निर्णय गरेको छ । प्रिडिप्लोमा कार्यक्रम सञ्चालन गर्ने पाँच वटा संस्थालाई डिप्लोमा तहको कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ । 

प्रतिक्रिया