Edukhabar
मंगलबार, ०१ असोज २०८१
गतिविधि

‘विद्यालयमा कोल्ड ड्रिंक्स र जंकफुड निषेध गर्ने कानुन बन्नु पर्छ’

विद्यालय सुधार गर्ने स्थानीय तहलाई बजेट बढी दिने प्रावधान पनि विधेयकमा राख्नु पर्ने

विहीबार, २४ साउन २०८१

 काठमाडौं - बालबालिकाको स्वास्थ्य नै बिग्रने गरेर बढ्दो कोल्ड ड्रिंक्स र जंकफुडको प्रयोगलाई कानून बनाएरै निषेध गर्न सांसदले सुझाव दिएका छन् । नेपाल मजदुर किसान पार्टिका सांसद प्रेम सुवालले विद्यालय तहको पाठ्यक्रममै कोक, फ्याण्टा जस्ता कोल्ड ड्रिंक्स र जंकफुड खान नहुने सन्देश राख्नु पर्ने बताएका हुन् । 

प्रतिनिधि सभा अन्र्तगतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा जारी विद्यालय शिक्षा विधेयक माथिको छलफलका क्रममा उनले नयाँ विधेयकमा विद्यालय तहका विद्यार्थीलाई जंक फुड र पेय पदार्थ खानै नहुने प्रावधान अनिवार्य राख्नु पर्ने बताए ।

बैठकमा उनले भने,‘पाठ्यक्रममा कोक फ्याण्टा, जंक फुड खानु हुँदैन भनेर विधेयकमा लेखिनु पर्छ ।’ 

त्यस्तै विद्यालय सुधार गर्ने स्थानीय तहलाई बजेट बढी दिने प्रावधान पनि विधेयकमा राख्नु पर्ने उनले बताए । १० र १२ कक्षामा आधा विद्यार्थी फेल भएकोले सुधारको लागि स्थानीय तहलाई नै प्रोत्साहन गर्न बजेट बढाउने प्रावधान राखेमा सुधार हुन सक्ने उनले बताए । विद्यालय तहको गुणस्तर सुधार्न शिक्षकलार्ई प्रोत्साहन गर्ने र सम्मान आवश्यक रहेको उनले बताए । शिक्षक हुनेलाई सम्मान नभएको र निजामती कर्मचारीको भन्दा कम तलब भएकोले विश्वविद्यालयमा उत्कृष्ट व्यक्ति शिक्षक हुुन आकर्षित नभएको उनको भनाई छ । 

‘जसले राम्रो अंक ल्याएर विश्वविद्यालय शिक्षा पुरा गरेको हुन्छ, उसको इच्छा निजामती कर्मचारी बन्ने हुन्छ’उनले भने,‘निजामती पनि मालपोत र नापीका कर्मचारी हुन चाहन्छ ।’

समितिले विधेयकमा संशोधन दर्ता गर्ने सांसदहरुलाई पालै पालो बोलाएर छलफल जारी राखेको छ । 

प्रतिक्रिया