Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

एसएलसी ग्रेडिङ्को टुङ्गो आज लाग्ने

विहीबार, २४ मंसिर २०७२

काठमाडौं–शिक्षा मन्त्रालयले यसवर्षदेखि एसएलसीमा सहभागि हुने विद्यार्थीको मुल्याङकन अक्षराङ्क प्रणाली अर्थात् ग्रेडिङ्बाट सुरु गर्न कस्तो प्रावधान राख्ने भन्ने निर्णय आज (बिहीबार) गर्ने भएको छ ।

पाठ्यक्रम विकास केन्द्रले तयार गरेको खाकालाई मन्त्रालयका अधिकारीहरु समेत बसेर टुङ्ग्याउन लागेको हो । अन्तिम रुप दिएपछि राष्ट्रिय पाठ्क्रम परिषद्को बैठकले पारित गर्नु पर्ने हुन्छ । मन्त्रीको अध्यक्षतामा बस्ने बैठकले टुङ्गो लगाएपछि परीक्षा नियन्त्रण कार्यालयले कार्यान्वयन गर्नु पर्ने हुन्छ ।

बुधबारको छलफलले टुङ्ग्याउन नसकेपछि मन्त्रालयले बिहीबार (आज) सम्म सक्ने गरी पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेल, अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुङ्गेल, मन्त्रालयका सहसचिव हरी लम्साल र परीक्षा नियन्त्रक खगेन्द्र नेपाललाई जिम्मेवारी दिएको छ । यो टोलीले बिहीबार दिउसोसम्म खाकाको टुङ्गो लगाउन जिम्मेवारी पाएको स्रोतले जनाएको छ ।

आज बेलुकासम्म टुङ्गो लाग्ने, शिक्षा मन्त्रालयका प्रवक्ता हरी लम्सालले बताए । 

गतवर्ष प्राविधिक बिषयमा एसएलसी दिएका ३३ सय विद्यार्थीको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरिएको थियो । यसवर्षदेखि परीक्षामा सहभागि सबैको नतिजा ग्रेडिङ प्रणालीबाट गरिने छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक गरेको प्रतिबद्धतामा आफ्नो कार्यकालमा ग्रेडिङ् प्रणाली लागू गर्ने प्रतिबद्धता समेत उल्लेख गरेका छन् ।

ग्रेडिङ् प्रणाली अनुसार एसएलसीको प्रमाणपत्रमा नौ तहमा विभाजन गर्ने तयारी छ । त्यसमा ए प्लस देखि ई अक्षरमा ग्रेडिङ हुनेछ । ९० देखि १०० अंक ल्याउनेलाई ए प्लस, ८० देखि ८९ अंक ल्याउनेलाई ए, ७० देखि ७९ ल्याउनेलाई बि प्लस, ६० देखि ६९ ल्याउनेलाई बि, ५० देखि ५९ अंक ल्याउनेलाई सी प्लस, ४० देखि ४९ सि, ३० देखि ३९ ल्याउनेलाई डी र १ देखि २९ अंक ल्याउनेलाई ई उल्लेख गर्न लागेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति २०७२ मंसिर २४ गते

प्रतिक्रिया