Edukhabar
विहीबार, ०३ असोज २०८१
खबर/फिचर

कक्षा १२ को मौका परीक्षा क - कसले दिन पाउँछन् ?

छ वटै विषयमा डी वा त्यो भन्दा माथिको ग्रेड प्राप्त गरिसकेका विद्यार्थीले आफ्नो नतिजा चित्त बुझेन भनेर फेरी मौका परीक्षा दिन पाउने व्यवस्था छैन ।

सोमबार, २१ साउन २०८१

भक्तपुर - कक्षा १२ को मौका परीक्षामा ग्रेडेड विद्यार्थीले चित्त नबझेमा पुनः मौका परीक्षा दिन नपाउने राष्ट्रिय परीक्षा बार्डले जनाएको छ । 

दुई विषयमा एनजी आएका, दुई विषयमा अनुपस्थित, एक विषयमा एनजी आएका र अर्कोमा अनुपस्थित भएका विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका उपनियन्त्रक कृष्ण घिमिरेले बताए । 

‘चार वटा विषयमा ग्रेड आएको छ तर, एउटामा एनजी र अर्कोमा एप्सेण्ट छ भने उसले दुबै विषयमा मौका परीक्षा दिन पाउँछ’ उनले भने, ‘तर, छ वटै विषयमा डी वा त्यो भन्दा माथिको ग्रेड प्राप्त गरिसकेका विद्यार्थीले आफ्नो नतिजा चित्त बुझेन भनेर फेरी मौका परीक्षा दिन पाउने व्यवस्था छैन ।’ 

उनका अनुसार दुई विषयमा एनजी आएका, दुई विषयको परीक्षामा अनुपस्थित भएका, दुई मध्ये एउटामा अनुपस्थित र अर्कोमा एनजी आएकाले परीक्षा दिन पाउनेछन् । 

ग्रेड प्राप्त गरेका विद्यार्थीले आफ्नो नतिजा चित्त नबुझेमा पुनर्योगको आवेदन दिन भने पाउने छन् । नियमित परीक्षार्थीले मात्रै मौका परीक्षामा भाग लिन पाउने छन् । रजिष्ट्रेशन नम्बरको सुरुको दुई अंक ८० भएका विद्यार्थीको सैद्धान्तिक तर्फ न्यूनतम डी वा माथिल्लो ग्रेड प्राप्त गरेर बाँकी दुई विषयमा एनजी ल्याएका विद्यार्थीले परीक्षा दिन पाउने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ । 

भदौ २५ र २६ मा मौका परीक्षा तय गरिएको छ । एक लाख २७ हजार सात सय छ जनाले मौका परीक्षा दिन पाउने छन् । अंग्रेजीमा मात्रै एक लाख दुई हजार दुई सय छ विद्यार्थीले एनजी ल्याएका छन् । यी सबै विद्यार्थीले परीक्षा दिन पाउँदैनन् । 

परीक्षा बिहान ११ देखि २ बजेसम्म हुने बोर्डले जनाएको छ । भदौ २५ मा अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थी (सबै विषय), अनिवार्य अंग्रेजी र नेपाली दुबै विषयमा मौका परीक्षामा सहभागि हुने विद्यार्थीले पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपाली विषयको परीक्षा दिनु पर्ने सूचनामा उल्लेख छ । त्यस्तै भदौ २६ मा दुई विषयको परीक्षा दिने विद्यार्थीका लागि आफुले परीक्षा दिने मध्येको ठुलो कोड नम्बर भएको विषयको परीक्षा हुने बोर्डले जनाएको छ । दोस्रो दिन अनिवार्य अंग्रेजीको परीक्षा नहुने बोर्डले जनाएको छ । एक विषय मात्रै भएको विद्यार्थीले पहिलो दिन नै परीक्षा दिनु पर्ने हुन्छ । मौका परीक्षामा सहभागि हुन भदौ १४ भित्र छ सय रुपैयाँ शुल्क बुझाएर फारम भर्नु पर्ने हुन्छ । विद्यालयले भदौ १९ भित्र बोर्डको कार्यालयमा फारम बुझाउनु पर्ने हुन्छ ।

गत शुक्रबार सार्वजनिक भएको कक्षा १२ को नतिजा अनुसार ५२ दशमलब ९१  प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमित तर्फ तीन लाख ९० हजार आठ सय ६८ मा दुई लाख तीन हजार आठ सय ४७ विद्यार्थी पास भएका छन् । नतिजा अनुसार सबै विषयमा अनुपस्थित परीक्षार्थी संख्या पाँच हजार छ सय ३२ छ भने एक सय दुई जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ । कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेबाट सञ्चालन भएको थियो ।

प्रतिक्रिया