Edukhabar
विहीबार, ०३ असोज २०८१
खबर/फिचर

सुदूरपश्चिम प्रदेशको सिकाइ कहिले सुधार होला ?

सुदूरपश्चिम प्रदेशबाट ३५ हजार ६ सय २८ जनाले परीक्षा दिएकोमा १४ हजार ४६ जना मात्रै पास भएका छन् ।  २१ हजार पाँच सय ८२ जना अर्थात् ६०.५७ प्रतिशत विद्यार्थी फेल भएका छन् ।

शनिबार, १९ साउन २०८१

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार सुदूरपश्चिम प्रदेश सबैभन्दा कमजोर देखिएको छ । परीक्षा दिएका मध्ये ६० प्रतिशत विद्यार्थीको नतिजा एनजी आएको छ । 

सुदूरपश्चिम प्रदेशबाट ३५ हजार ६ सय २८ जनाले १२ कक्षाको परीक्षा दिएकोमा १४ हजार ४६ जना मात्रै पास भएका छन् । २१ हजार पाँच सय ८२ जना अर्थात् ६०.५७ प्रतिशत विद्यार्थी फेल भएका छन् । उच्च जीपीए ३.६ देखि ४ जीपीए ल्याउने देशभरबाट नौ हजार पाँच सय ९१ विद्यार्थी रहेकोमा सुदूरबाट १ सय २१ जना मात्र छन् । 

यसअघि कक्षा १० को नतिजामा पनि सुदूरपश्चिम सबैभन्दा कमजोर देखिएको थियो । परीक्षा दिएका मध्ये ३१ प्रतिशतले मात्रै ग्रेड प्राप्त गरेका थिए । 

१२ कक्षाको नतिजामा औसतमा ४७ प्रतिशत विद्यार्थी फेल भएका छन् । बाग्मती र गण्डकी बाहेक अरू पाँच वटै प्रदेशमा औसत भन्दा बढी विद्यार्थी फेल भएका छन् । सुदूरपश्चिम पछि सिकाइमा कमजोर भएको प्रदेशमा कर्णाली देखिएको छ ।

 कर्णालीमा परीक्षा दिएका मध्ये ५९.२४ प्रतिशत विद्यार्थी फेल भएका छन् । कर्णालीमा २५ हजार नौ सय २० जनाले परीक्षा दिएकोमा १५ हजार तीन सय ५७ जना फेल भएका हुन् । 

सिकाइमा कमजोर हुने तेस्रो प्रदेश हो–कोशी ।

कोशीमा परीक्षा दिएका मध्ये ५५.६१ प्रतिशत, मधेशमा ५३.७४ प्रतिशत विद्यार्थी  उच्च शिक्षा अध्ययन गर्न अयोग्य भएका छन् ।

लुम्बिनी प्रदेशमा ५२.२४ प्रतिशत, गण्डकीमा ४६.१९ र वागमतीमा ३२.८१ प्रतिशत विद्यार्थी १२ कक्षामा फेल भएका छन् । वागमतीमा एक लाख १६ हजार दुई सय ६२ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ७८ हजार ६ सय ७१ जना पास भएका छन् । यो संख्या पास भएका मध्येको ३८.५९ प्रतिशत हो ।

१२ कक्षामा तीन लाख ९० हजार आठ सय ६८ जनाले परीक्षा दिएकोमा दुई लाख तीन हजार आठ सय ४७ जना पास भएका छन् । 

 

 

प्रतिक्रिया