Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

बेलैमा प्वाल नटाल्दा देखिएको विद्यालय शिक्षाको भ्वाङ

कक्षा ११ र १२ मा राज्यको लगानी न्यून छ । अहिले अनुदान र दरबन्दीको ६ हजार शिक्षक मात्रै छन् । कतिपय विद्यालयमा न दरबन्दीको न त अनुदानको शिक्षक छन् । शिक्षक नदिने अनि नतिजा खोजेर हुन्छ ? सरकारले लगानी नगर्ने अनि अभिभावकले गरेको लगानीमा मात्रै सुधारको नतिजा खोजेर हुन्छ ?

शुक्रबार, १८ साउन २०८१

काठमाडौं - विद्यालय तहको अन्तिम कक्षा १२ को नतिजामा पछिल्लो दुई वर्ष यता ५० प्रतिशत विद्यार्थी मात्रै पास भएका छन् । गत वर्ष परीक्षामा सहभागी भएका मध्ये ५० दशमलब ०१ प्रतिशत र यसपालि ५२.९१ प्रतिशत मात्रै पास भएका छन् । यसको मतलब एक सय जना विद्यार्थी परीक्षामा सहभागि भएकोमा ४८ जना उच्च शिक्षा अध्ययन गर्नै अयोग्य भएका छन् । पछिल्लो तीन वर्षको नतिजा विश्लेषण गर्दा ४ प्रतिशत नतिजा सुधार भएको देखिन्छ । माथिल्लो जीपीए ल्याउने बढ्दै र एनजी ल्याउने घट्दै गएको सकारात्मक स्वरुप पनि देखिन्छ तर, झण्डै आधा विद्यार्थी उच्च शिक्षा अध्ययन गर्नै नपाउने विद्यालय तहको सिकाइ माथि गम्भिर प्रश्न उब्जिएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले पछिल्लो तीन वर्षदेखि एनजी आउने प्रावधान लागू गरेको छ । सैद्धान्तिक र प्रयोगात्मक अंकको मुल्याङकन पनि फरक फरक हुँदै आएको छ । यही तीन वर्षको नतिजालाई विश्लेषण गर्दा उच्च जीपीए ल्याउने बढ्दै गएको छ भने एनजी ल्याउने विद्यार्थीको संख्या क्रमशः घट्दै गएको छ । 

०७९ मा ४८ प्रतिशत पास भए । ०८० मा ५० प्रतिशत र यसपालि ५२ प्रतिशत पास भएका छन् । परीक्षा दिएका मध्ये हरेक वर्ष आधा विद्यार्थी त फेल भएका छन् । सरकारको काम परीक्षा लिने र नतिजा सार्वजनिक गर्ने मात्रै हो ? नतिजा सुधारको लागि के गर्यो ? 

शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले शिक्षा मन्त्रालय र मातहतका निकायले परीक्षा लिने र नतिजा निकाल्ने बाहेक सुधारको लागि काम नगर्दाको समस्या विद्यार्थीको सिकाइमा परेको बताए । 

‘जसरी शिक्षा मन्त्रालय मातहतकै इआरओ ( शैक्षिक गुणस्तर परीक्षण केन्द्र) ले हरेक वर्ष विद्यालय, पालिका र जिल्ला स्तरको अध्ययन गरेर शिक्षाको अवस्था के छ भनेर प्रतिवेदन बनाएको हुन्छ । सुधारको सुझाव दिएको हुन्छ तर, कार्यान्वयन हुँदैन, त्यसैगरी कक्षा १० र १२ को नतिजा पनि त्यस्तै भएको छ’ वाग्लेले भने,‘यदि सुधार गर्ने हो भने कमजोरी कहाँ भयो ? कसरी विद्यार्थीको सिकाइ सुधार गर्न सकिन्छ ? भनेर सरकार गम्भिर बन्न सक्नु पथ्र्यो । त्यसैले नतिजामा आशा लाग्दो गरी सुधार हुन सकेन ।’ 

कक्षा १० को अन्तिम परीक्षा एसईई र १२ कक्षाको नतिजामा खासै अन्तर नदेखिएको उनले बताए । १० कक्षामा ५२ प्रतिशतको एनजी थियो भने १२ कक्षामा ४७ प्रतिशतको । ‘नतिजाले मुलुकको विद्यालय शिक्षा कस्तो छ ? भन्ने उदाङ्गो पारेको छ’ उनले भने ।

नतिजा सार्वजनिक भएपछि केही दिन सरकारका पदाधिकारी केही गम्भिर भए जस्तो देखिए पनि बिस्तारै बिर्सने गरेको उनको गुनासो छ । 

‘नतिजा भनेको फेल र पास छुट्याउने आधार मात्रै हो ? यसलाई के भाग्य चिठ्ठाको रुपमा हेर्ने ?’ प्रश्न गर्दै उनी भन्छन, ‘५० प्रतिशतको परीवरी पास भएका छन् भने सिष्टमले काम नगरेको हो भनेर किन मुल्याङकन हुँदैन ? शिक्षा सुधारको योजना किन बनाइदैन ?’ 

यस पालिको नतिजामा उच्च जीपीए ल्याउने विद्यार्थी विगतको भन्दा बढेकै छन् । तर यो नतिजालाई सरकारी अधिकारीहरुले पनि चित्त बुझाएमा छैनन् ।  ०७९ मा ३.६१ देखि ४ जीपीए ल्याउने प्रतिशत १.१५ थियो भने ०८० मा १.८७ पुगेको थियो । यसपाली यो समूहको जीपीए ल्याउने २.४५ प्रतिशत छ । त्यस्तै एनजी ल्याउने तीन वर्ष अघि ५१.९० प्रतिशत रहेकोमा गत वर्ष ४९.०९ प्रतिशतमा झरेको थियो । यसपाली गत वर्षको भन्दा १.२५ प्रतिशत नतिजा सुधार भएको देखिन्छ । यसपाली एनजी आउने विद्यार्थी ४७.८४ मात्रै छन् । परीक्षामा सहभागी तीन लाख ९० हजार आठ सय ६८ विद्यार्थीमा यसपाली एक लाख ८८ हजार चार सय १० विद्यार्थी अर्थात ४७.८४ प्रतिशतको नतिजा बिग्रिएको छ । 

‘यस पालिको नतिजा हेरेर खुसीयाली मनाउनु पर्ने र बर्बाद भयो भनेर दुःखी हुनु पर्ने देखिदैंन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशव दाहालले भने, ‘नतिजाले के देखाएको छ भने विगतको भन्दा सुधार भएको छ । सुधारको संकेत देखाएको छ । राम्रो भयो भनेर चित्त बुझाउने बाटो चाँहि छैन ।’ 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा पनि विद्यालय तहको अन्तिम परीक्षाको नतिजा चित्त बुझ्दो नभएको भन्दै सुधारको लागि सरकारले नीतिगत पहल गर्नु पर्ने बताउँछन् । 

उनी भन्छन् ‘नतिजा कमजोर छ । यसलाई बढेको भनेर सन्तोष गर्ने ठाउ छैन ।’ 

पालिका,  जिल्ला र प्रदेशगत नतिजाको विश्लेषण गरेर कहाँ कमजोर भएको हो सुधारको बाटो पहिचान गर्नु पर्ने उनले बताए । 

‘पाठ्यक्रम नै मुल्याङकन गर्नु पर्ने हो कि ? परीक्षा प्रणाली र स्कूलमा पठन पाठन र प्रश्न पत्रमा फरक भएको हो की ?’ उनले भने ।  

बोर्डका अनुसार संख्याको आधारमा सबैभन्दा बढी विद्यार्थी अंग्रेजीमा कमजोर देखिएको छ । परीक्षा दिएका मध्ये ७२.१० प्रतिशत अंग्रेजीमा पास भएका छन् । त्यस्तै लेखामा ७३ र सामाजिकमा ८२ प्रतिशत पास भएका छन् । सबै भन्दा बढी एनजी आउन विद्यार्थी यही तीन वटा विषयका छन् । 

‘यस हिसाबले अंग्रेजी, लेखा र सामाजिकमा धेरै ननग्रेडेड देखिन्छ । दुर्गम, हिमाली क्षेत्रमा अंग्रेजी विषयको शिक्षक नभएर हुन सक्छ’ शर्माले भने,‘सामाजिकमा एनजी धेरै हुनुको कारण चाँहि नीजि विद्यालयमा तलदेखि अंग्रजीमा पढेकाले नेपालीमा लेख्न सकेनन् । अर्को कारण घोकेर पढेको पहिला अहिले आफ्नै मौलिक लेख्नु पर्ने भएकोले कमजोर भएको हुन सक्छ ।’ 

कक्षा १० मा पास भएर भर्ना हुन योग्य भएका विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना भएका हुन्छन् । तर, १२ कक्षाको नतिजा भने उही १० कक्षाकै जस्तै देखिएको छ । १० कक्षासम्म राज्यको लगानी छ भने ११ र १२ को विद्यार्थीको लागि राज्यको लगानी नगन्य छ । 

‘राज्यको लगानी न्यून छ । विद्यालयको १० कक्षा सम्मको जस्तै लगानी बढाउने हो भने नतिजा सुधारको बाटो खुल्थ्यो’ सामुदायिक विद्यालयमा कक्षा ११ र १२ पढाउने माध्यमिक शिक्षक युनियन नेपालका अध्यक्ष ज्ञानप्रसाद भट्टराईले भने,‘अहिले अनुदान र दरबन्दीको ६ हजार शिक्षक छन् । कतिपय विद्यालयमा न दरबन्दीको न त अनुदानको शिक्षक छन् । शिक्षक नदिने अनि नतिजा खोजेर हुन्छ ?’ 

कक्षा ११ र १२ मा सरकारको लगानी नभएपछि अभिभावकको लगानी रहेको छ । १२ कक्षाको नतिजाले सरकारको प्रणाली दक्ष नभएको थप पुष्टि गरेको शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले बताए । 
‘प्रणालीमा कमजोरी छ । प्रणाली दक्ष भएन भनेर भनिरहनु परेन’ उनले भने ।

उच्च ग्रेड ल्याउने विद्यार्थी बढ्नु र एनजी ल्याउने घट्नु चाँहि सकात्मक भएको उनले बताए । 

‘यो पनि सरकारको लगानीले भएको होइन । अभिभावकको लगानी भएको यो तहको पढाईले के देखाएको छ भने अभिभावकको लगानी विद्यालय तहमा आवश्यक छ’ उनले भने, ‘अभिभावकको लगानी भएकोले चासो पनि बढी हुन्छ । यसको प्रभाव सकारात्मक पर्दो रहेछ । अहिले जे नतिजा आएको छ त्यो उल्लेख्य प्रगति चाँहि होइन ।’ 

निजी विद्यालयहरुको संगठन हिसानका अध्यक्ष रमेश सिलवालले ४७ प्रतिशत विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न नपाउनुले मुलुकको विद्यालय शिक्षाको चित्रण गरेको बताए । 

‘एक सय जनामा ५२ जना मात्रै पास हुने ४७ जना फेल हुनु भनेको राम्रो संकेत होइन’ उनले भने, ‘फेल हुनेमा पनि अंग्रेजी र लेखा देखिएको छ । यसले के देखाउँछ भने सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी र नन् साइन्सका विद्यार्थी बढी फेल भएका छन् ।’ 

यसअघि कक्षा १० को नतिजामा कुनै विषयमा ई ल्याएका विद्यार्थी पनि कक्षा ११ भर्ना हुन दिने नीतिको असर १२ कक्षामा पनि परेको उनको विश्लेषण छ । 

12_detail data

12_2081_chat

प्रतिक्रिया