Edukhabar
विहीबार, ०३ असोज २०८१
खबर/फिचर

कक्षा १२ को नतिजा 'प्राक्टिकल' र 'थ्योरी'मा असामान्य अन्तर !

कक्षा १२ मा पढाई हुने दुई सय आठ विषयमा ए प्लस ग्रेड ल्याउने विद्यार्थीको संख्या थ्योरीमा भन्दा प्राक्टिकलमा धेरै छ ।

शुक्रबार, १८ साउन २०८१

काठमाडौं - शुक्रबार सार्वजनिक कक्षा १२ को नतिजामा सैद्धान्तिक र आन्तरिक / प्रयोगात्मक (प्राक्टिकल र थ्योरी) मा विद्यार्थीको नतिजा असामान्य देखिएको छ । सबै भन्दा धेरै विद्यार्थी उनुत्तीर्ण भएका अनिवार्य अँग्रेजी विषयमा ए प्लस ग्रेड ल्याउने विद्यार्थीको संख्या थ्योरीमा एक हजार तीन सय ८०  मात्रै छ । जब की सोही विषयको प्राक्टिकलमा ए प्लस ग्रेड ल्याउने विद्यार्थीको संख्या एक लाख ९० हजार नौ सय १९ छ । यस्तै अँग्रेजीकै थ्योरीमा २३ हजार एक सय ७६ विद्यार्थीले ए ग्रेड ल्याए पनि प्राक्टिकलमा भने ए ग्रेड ल्याउने विद्यार्थीको संख्या एक लाख ४४ हजार २७ छ । अँग्रेजीमा एक लाख दुई हजार दुई सय छ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । 

यसै गरी अर्को सबै भन्दा धेरै अनुत्तीर्ण भएको विषय सामाजिकमा पनि अवस्था त्यस्तै छ । सामाजिकमा ५१ हजार आठ सय ९१ विद्यार्थी अनुत्तीर्ण भएका छन् । यो विषयमा थ्योरीमा ए प्लस ल्याउने विद्यार्थीको संख्या तीन सय १० छ । जब की सामाजिकको प्राक्टिकलमा एक लाख ४५ हजार तीन सय ९७ विद्यार्थीले ए प्लस ग्रेड प्राप्त गरेका छन् । सामाजिकका थ्योरीमा ए ग्रेड ल्याउने विद्यार्थी सात हजार १४ भए पनि प्राक्टिकलमा ए ग्रेड ल्याउने विद्यार्थीको संख्या एक लाख ३२ हजार एक सय ९५ रहेको छ । 

यसै गरी ४७ हजार सात सय ३३ जना विद्यार्थी लेखामा ननग्रेडेड भएका छन् । यसमा पनि थ्योरीमा ए प्लस ग्रेड ल्याउने भन्दा प्राक्टिकलमा ए प्लस ल्याउने विद्यार्थीको संख्या असामान्य देखिएको छ । नौ हजार २० जनाले लेखाको थ्योरीमा ए प्लस ग्रेड ल्याउँदा एक लाख तीन हजार दुई सय २९ विद्यार्थीले प्राक्टिकलमा ए प्लस ल्याएका छन् । थ्योरीमा १७ हजार दुई सय ४० विद्यार्थीले ए ग्रेड ल्याउँदा प्राक्टिकलमा ए ग्रेड ल्याउने विद्यार्थीको संख्या ६७ हजार दुई सय चार छ ।  

अनिवार्य नेपालीमा थ्योरीमा ए प्लस ल्याउने विद्यार्थी दुई हजार आठ सय १९ रहे पनि प्राक्टिकलमा एक लाख ९६ हजार एक सय ११ विद्यार्थीले ए प्लस ग्रेड प्राप्त गरेका छन् । सोही विषयमा थ्योरीमा ४० हजार पाँच विद्यार्थीले ए ग्रेड ल्याएका भए पनि प्राक्टिकलमा ए ग्रेड ल्याउने विद्यार्थीको संख्या एक लाख ४१ हजार दुई सय १८ छ । 

विज्ञान विषयमा प्राक्टिकलको नम्बर बाह्य परीक्षकले दिने व्यवस्था भए पनि त्यसमा पनि थ्योरी र प्राक्टिकलको अन्तर असामान्य नै देखिन्छ । फिजिक्समा ए प्लस ग्रेड ल्याउने विद्यार्थी संख्या दुई हजार ६७ भए पनि प्राक्टिकलमा ए प्लस ल्याउने विद्यार्थीको संख्या ३९ हजार दुई सय १४ रहेको छ । 

थ्योरीमा एक जना पनि विद्यार्थीले ए प्लस ग्रेड प्राप्त गर्न नसकेको ऐच्छिक नेपालीमा आन्तरिकमा २४ हजार सात सय ९५ विद्यार्थीले ए प्लस ग्रेड प्राप्त गरेका छन् । उक्त विषयमा चार सय दुई विद्यार्थीले ए ग्रेड प्राप्त गरेका भए पनि प्राक्टिकलमा ए ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या ३६ हजार सात सय ८१ छ । उक्त विषयमा ११ हजार सात सय ७६ विद्यार्थी ननग्रेडेड भएका छन् । 

कक्षा १२ मा पढाई हुने दुई सय आठ विषयमा ए प्लस ल्याउने विद्यार्थीको संख्या थ्योरीमा भन्दा प्राक्टिकलमा धेरै छ । 

शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ५२ दशमलब ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । माथिल्लो जीपीए अर्थात् तीन दशमलब ६१ देखि चार जीपीए सम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार पाँच सय ९१ रहेको छ । नतिजा अनुसार एक सय २२ विद्यार्थीको नतिजा रद्द भएको छ । 

नियमित तर्फ तीन लाख ९० हजार आठ सय ६८ मा दुई लाख तीन हजार आठ सय ४७ विद्यार्थी पास भएका बोर्डले जनाएको छ । 

प्रतिक्रिया