Edukhabar
विहीबार, ११ पुस २०८१
गतिविधि

कक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ मा

सैद्धान्तिक तर्फ अन्य सबै विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन्ग्रेडेड वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीले पुरक परीक्षा दिन पाउँछन् ।

शुक्रबार, १८ साउन २०८१

भक्तपुर - शुक्रबार सार्वजनिक कक्षा १२ को नतिजामा बढीमा दुई विषयमा नन्ग्रेडेड विद्यार्थीका लागि भदौ २५ र २६ गते पुरक परीक्षा हुने भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेसँगै पुरकको मिति पनि तय गरेको बोर्डले जनाएको छ । 

कक्षा १२ को बार्षिक परीक्षामा नियमित परीक्षार्थीका रुपमा सहभागी भई सैद्धान्तिक तर्फ अन्य सबै विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन्ग्रेडेड वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीले पुरक परीक्षा दिन पाउँछन् ।  नतिजा अनुसार एक लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडेड भएका छन् ।

यी मध्ये कति जना दुई बिषयमा नन् ग्रेडेड छन् भन्ने विवरण सार्वजनिक भईसकेको छैन । 

शुक्रबार विहान सार्वजनिक कक्षा १२ को नतिजामा ५२ दशमलब ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमित तर्फ तीन लाख ९० हजार आठ सय ६८ मा दुई लाख तीन हजार आठ सय ४७ विद्यार्थी पास भएका बोर्डले जनाएको छ । 

नतिजा अनुसार सबै विषयमा अनुपस्थित परीक्षार्थी संख्या पाँच हजार छ सय ३२ छ भने एक सय दुई जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ । 

यस्तै कक्षा १२ को नतिजामा माथिल्लो जीपीए प्राप्त विद्यार्थीको संख्या नौ हजार पाँच सय ९१ रहेको छ । 

प्रतिक्रिया