Edukhabar
बुधबार, ०३ पुस २०८१
गतिविधि

स्कुल बस दुर्घटना बारे छानबिन गर्न समिति गठन

स्कुल बस दुर्घटनामा दुई जनाको निधन, दुर्घटनामा परेको निजी विद्यालयको उक्त बसमा सामुदायिकका विद्यार्थी पनि सवार भएको फेला

सोमबार, १४ साउन २०८१
फोटो : News Daily Nepal को फेसबुक पेजमा राखिएको भिडियोबाट

पोखरा - सोमबार विहान रामदीमा भएको एलपी देवकोटा मेमोरियल स्कुल बस दुर्घटनामा दुई जनाको निधन भएको छ । दुर्घटनामा पोखरा १७ स्थित उक्त स्कुलका छात्र पाँच बर्षीय प्रिन्स विक र स्कुल बसमा सहयोगीका रुपमा कार्यरत उनकी आमा ३३ बर्षीया आरती विकको निधन भएको प्रहरीले जनाएको छ । 

उक्त घटनाको बारेमा सत्य तथ्य बुझि प्रतिवेदन पेश गर्न  महानगरपालिकाले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । शिक्षा निर्देशक हेमप्रसाद आचार्य संयोजकत्वको उक्त समितिमा उपसचिव कृष्णप्रसाद तिवारी, नगर प्रहरी निरिक्षक पुरुषोत्तम थापा, मेकानिकल ईञ्जिनियर सरोज चालिसे सदस्य छन् । समितिको सदस्य सचिवमा शिक्षा अधिकृत रामप्रसाद तिवारीलाई तोकिएको छ ।  

ग १ क ६२१९ को उक्त बस दुर्घटनामा एलपी देवकोटा स्कुलका २२ र सामुदायिक विद्यालय छोरेपाटन माविका सात जना बालबालिका घाईते भएको प्रारम्भिक विवरण संकलन गरिएको महानगर शिक्षा शाखाका एक कर्मचारीले जानकारी दिए । निजी विद्यालयको बसका सामुदायिक विद्यालयका बालबालिका कसरी चढे भन्ने बारेमा पनि समितिले अध्ययन गर्ने एक सदस्यले बताए ।   

समितिलाई दुर्घटना हुनुको कारण, बसमा रहेका विद्यार्थी संख्या र राख्न पाउने संख्या, सवारी साधनको प्राविधिक अवस्था एवं  चालकको अवस्था लगायतका विषयमा अध्ययन गर्न कार्यादेश दिईएको छ । समितिलाई सात दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको छ  । 

गण्डकी मेडिकल कलेजमा उपचार कै क्रममा दुबै जनाको  निधन भएको हो । दुर्घटनामा घाइतेहरुको गण्डकी मेडिकल कलेज, मणिपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।  सोमबार बिहान विद्यार्थी लिएर आउने क्रममा बस दुर्घटना भएको हो । 

दुर्घटना पछि विद्यालयले मृतकहरु प्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । दुर्घटना पछि उद्धारमा सहयोग गर्नेहरु प्रति आभार व्यक्त गर्दै विद्यालयले संयमता अपनाउन आग्रह गरेको छ ।  विद्यालयले एक सूचना जारी गर्दै अर्को सूचना नभए सम्मका लागि विद्यालय बन्द हुने समेत जनाएको छ । 

फोटो : News Daily Nepal को फेसबुक पेजमा राखिएको भिडियोबाट 

प्रतिक्रिया