Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

चिसोले विद्यार्थी बिरामी, बिहानी कक्षामा सास्ती 

विहीबार, २४ मंसिर २०७२

काठमाडौँ, २४ मंसिर । विद्यालय खुलेको दुई साता बित्न नपाउदँै एक्कासी चिसो बढेपछि स्कुलेहरु विरामी पर्न थालेका छन् ।  आन्दोलनरत मधेसी मोर्चाको केन्द्रिय स्तरबाटै विद्यालय खोल्न अनुमति भएपछि मौसममा आएको परिवर्तनसंगै बढेको चिसोले बालबालिकालाई अध्यनमा अप्ठेरो हुन थालेको छ। 

झन्डै ३ महिनादेखि बालबालिकाहरु विद्यालय जानबाट बञ्चित भएपछि मोर्चाले बिहान ६ बजेदेखि ११ बजेसम्म विद्यालय सञ्चालनको अनुमति दिएको थियो । तर विद्यार्थीहरु विहानी सत्रमा स्कुल जादाँ तराईको अत्याधिक चिसोले विरामी पर्न थालेका हुन् ।  यसले विद्यालय सञ्चालनमा कठिनाई र समस्या समेत उत्पन्न भएको शिक्षकहरुले बताएका छन् । 

दुई दिनदेखि चलिरहेको पश्चिमे हावाले चिसो बढेपछि विद्यालय जाने विद्यार्थीको संख्या कम हुन थालेको छ। बुधबार बिहान गौर नगरपालिका ८ स्थित इन्टरनेश्नल बाल एकेडेमीका दुई बालबालिका चिसोका कारण मुर्छित भएका छन् । 

अत्याधिक चिसोका कारण कक्षा १ मा अध्ययनरत राजदीप पण्डित र कक्षा ६ की निकिताकुमारी यादव मुर्छित भएको प्रिन्सिपल सन्तोष पौडेलले बताए । चिसोले कक्षामै उल्टी गरेर बेहोस भएपछि दुबैलाई सामान्य उपचार गरेर अभिभावकको जिम्मा लगाइएको पौडेलले बताए । 

उता विरगञ्जमा बिहानी कक्षाका कारण पर्सा जिल्लामा एक लाखभन्दा बढी बालबालिका दैनिक सास्ती खेपिरहेका छन् । बन्दमा यातायात ठप्प हुदा एकाबिहानै साइकल, मोटरसाइकल, रिक्सा, टाँगा र ब्याट्रीले चल्ने इ–रिक्सामा विद्यालय ल्याउने लैजानुपर्ने अवस्था रहेको छ।

(आजको नागरिक दैनिकमा मदन ठाकुर र रितेश त्रिपाठीले समाचार लेखेका छन्।) 

 

प्रतिक्रिया