Edukhabar
बुधबार, १२ मंसिर २०८१
खबर/फिचर

शिक्षाको 'घुस काण्ड' : घुस खुवाएको दाबी गर्ने सांसदको फरक फरक भनाई

जनता समाजवादी पार्टीका सांसद महतोले संसदमा बोल्दा र गृहमन्त्रीसँग फरक अभिव्यक्ति दिएका छन् ।

शुक्रबार, ११ साउन २०८१

काठमाडौं - संसदको रोष्टमबाट 'आफैँले घुस दिएको' बताएका सांसद विरेन्द्र महतोले गृहमन्त्री रमेश लेखकलाई भने सहयोगी मार्फत घुस रकम बुझाएको बताएका छन् । जनता समाजवादी पार्टीका सांसद महतोले संसदमा बोल्दा र गृहमन्त्रीसँग फरक अभिव्यक्ति दिएका छन् । 

प्रतिनिधिसभामा साउन ६ गतेको बैठकमा सांसद महतोले सानोठिमी स्थित पाठ्यक्रम विकास केन्द्रमा छोराको समकक्षताको काम नभएपछि आफैँले बिचौलियालाई घुस दिएको र काम भएको बताएका थिए । सांसदको उक्त अभिव्यक्ति पछि गृहमन्त्री लेखकले घुस लिने बिचौलियालाई पक्राउ गर्न सहयोग गर्न आग्रह गर्दा महतोले आफु सानोठिमी नगएको सहयोगीले दिएको जानकारी गराएका छन् । 

लिंकन स्कुलमा  पढेका उनको छोराको समकक्षता लिने क्रममा पाँच हजार रुपैंया घुस खुवाउनु परेको जानकारी उनले संसदलाई गराएका थिए ।

उनको छोरा पढेको विद्यालयका प्रधानाध्यापकले बिचौलियाको नम्बर दिए पछि घुस दिएर काम भएको महतोले एडुखबरलाई बताएका थिए ।

उनको यो अभिव्यक्ति पछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेर अनुसन्धानको काम थालेको छ । त्यस्तै गृहमन्त्रालयले पनि घुस लिने व्यक्तिको पहिचान गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ । प्रहरी प्रवक्ता दानबहादुर कार्कीले घटनाको अनुसन्धान भइरहेको बताए ।  

‘रोष्टमबाटै माननीयज्यूले बोलेको कुरा र म सँग भन्दा फरक भन्नु भयो’ गृहमन्त्री लेखकले भने, ‘वास्तविकता के हो छानबिनबाट खुल्नेछ ।’ 

लेखकले सांसद महतोलाई अनुसन्धानमा सघाउन आग्रह गरेको बताएका छन् । घुस लिने बिचौलिया चिनाइदिन महतोको साथमा प्रहरी पठाइदिने लेखकले बताएका थिए । 

‘मैले पैसा दिएको होइन । मेरो सहयोगीले पैसा दिएको हो भन्नु भयो’ गृहमन्त्री लेखकले एडुखबरसँग भने, ‘सहयोगी भेटाउन आग्रह गर्दा उनी गाउँ गएको भन्दै पन्छिनु भयो ।’ 

रोष्टमबाटै बोल्दा एउटा र गृहमन्त्रीसंग अर्कै कुरा बोलेपछि घुस दिएको हो कि होइन ? भन्ने पनि यकिन नभएको एक प्रहरी अधिकारीले बताए । सांसदले नै घुस दिएको आरोप लगाए पछि शिक्षा मन्त्रालयले पाठ्क्रम विकास केन्द्रको समकक्षता शाखाका एक शाखा अधिकृतलाई तत्काल जिम्मेवारीबाट हटाएको छ । ती अधिकृतले पनि आफुले कसैबाट प्रभावित नभई र कसैबाट पैसा नलिई काम गरेको दावी गरेका छन् । 

‘जुन माननीयले पैसा दिएको भन्नु भएको छ उहाँ कार्यालयमा आउनु पनि भएको छैन’ ती कर्मचारीले भने, ‘सिष्टम अनुसार अनलाइन फारम भरे पछि आफ्नो फारमको अवस्थाका बारेमा  सेवाग्राही आफैंले थाहा पाउँछन् । ढिला गर्ने र सेवाग्राहीसँग काम गरे वापत पैसा लिने भन्ने त कुरै हुदैँन ।’

यो पनि पढ्नुहोस् : ४९ मिनेटको बिचमा भएको थियो सांसद र शिक्षाका कर्मचारी बिच ‘घुसको चलखेल’

शिक्षाको 'घुस काण्ड' : घुस दिने सांसदलाई कारवाहीको माग गर्दै उजुरी

शिक्षाको 'घुस काण्ड' छानबिन गर्न प्रहरी प्रमुखलाई गृह मन्त्रीको निर्देशन

प्रतिक्रिया