Edukhabar
आइतबार, २३ भदौ २०८१
गतिविधि

शिक्षाको 'घुस काण्ड' छानबिन गर्न प्रहरी प्रमुखलाई गृह मन्त्रीको निर्देशन

‘मैले व्यक्तिगत रुपमा उहाँसँग कुरा गरेर घुस लिने मान्छे चिनाउनका लागि सहयोग गरिदिन आग्रह गरेको छु’ - गृह मन्त्री

बुधबार, ०९ साउन २०८१

काठमाडौं - सानोठिमी स्थित पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिदाँ घुस खुवाउनु परेको सांसदको आरोपको विषयमा प्रहरीले समेत छानबिन गर्ने भएको छ । गृह मन्त्री रमेश लेखकले समकक्षता लिदाँ सांसदसँग घुस लिएको विषयको अनुसन्धान गर्न प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् । 

‘सांसदले नै घुस दिएर काम गरेको बताए पछि त्यसको ट्रयाकिङ गर्न प्रहरी महानिरिक्षकलाई निर्देशन दिएको छु’ गृह मन्त्री लेखकले एडुखबरसँग भने । 

जनता समाजवादी पार्टीका सांसद बिरेन्द्र महतोले छोराको कक्षा १० र १२ को समकक्षता लिन पाँच हजार रुपैंया घुस दिएको गत आइतबार संसदको रोष्टमबाटै बोले पछि शिक्षा मन्त्रालयले सह सचिवको नेतृत्वमा तीन सदसीय छानबिन समिति बनाईसकेको छ । यही बिचमा उक्त काण्डको छानबिन गर्न गृह मन्त्रीले प्रहरीलाई समेत निर्देशन दिएका हुन् । 

गृह मन्त्री लेखकले पूर्व मन्त्री एवं सांसद महतोले घुस दिएको विषय तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा  बैठकमा समेत गृह मन्त्री लेखकले सांसद महतोले घुस दिएको विषयमा सांसदहरुले उठाएको विषयलाई सम्बोधन गरेका थिए । यो घटनामा सरकार गम्भीर रहेको भन्दै उनले अनुसन्धान अघि बढाएको सदनलाई जानकारी दिएका थिए । व्यक्तिगत रुपमै सांसद महतोसँग उक्त विषयमा जानकारी लिएको पनि लेखकले बताए । 

‘मैले व्यक्तिगत रुपमा उहाँसँग कुरा गरेर घुस लिने मान्छे चिनाउनका लागि सहयोग गरिदिन आग्रह गरेको छु’ उनले भने ।

सांसदको उक्त अभिव्यक्ति प्रति मंगलबार संसदमा रुलिङको माग समेत उठेको थियो । प्रतिनिधि सभा बैठकमा बोल्दै सत्ताधारी दल नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले सांसदले नै घुस खुवाउनु परेको बताउँदा समेत संसदले नजर अञ्दाज गरेको भन्दै आपत्ति जनाएका थिए ।

यो पनि पढ्नुहोस् : ४९ मिनेटको बिचमा भएको थियो सांसद र शिक्षाका कर्मचारी बिच ‘घुसको चलखेल’

सांसदले 'घुस दिएको' शाखाका कर्मचारी हटाइयो !

प्रतिक्रिया