Edukhabar
शुक्रबार, ०२ कार्तिक २०८१
गतिविधि

शिक्षाको 'घुस काण्ड' छानबिन गर्न समिति गठन

घटना के भएको हो ? यथार्थ विवरण सात दिन पत्ता लगाएर प्रतिवेदन पेश गर्न समयावधि

सोमबार, ०७ साउन २०८१

काठमाडौं - सानोठिमी स्थित पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिदाँ घुस खुवाउनु परेको सांसदको आरोप पछि घटनाका बारेमा छानबिन गर्न शिक्षा मन्त्रालयले समिति गठन गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सहसचिव वसन्त कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । 

समितिका सदस्यहरुमा मन्त्रालयका विद्यालय प्रशासनका उपसचिव रामप्रसाद शर्मा र कानुन शाखाका शाखा अधिकृत पुष्पा वाग्ले छन् । 

जनता समाजवादीका सांसद विरेन्द्र महतोले छोराको १० र १२ कक्षाको सर्टिफिकेटको समकक्षता लिन पाँच हजार रुपैंया घुस दिनु परेको आईतबार संसद बैठकमा बोलेका थिए । उनका छोरा लिंकन स्कुलका विद्यार्थी हुन् । उनकै समकक्षता लिन जाँदा घुस दिनु परेको बताए पछि सो शाखाका कर्मचारीलाई सोमबार केन्द्रले जिम्मेवारीबाट हटाएको छ ।

सोही घटनाको छानबिन गर्न गठित समितिलाई घटना के भएको हो ? यथार्थ विवरण सात दिन पत्ता लगाएर प्रतिवेदन पेश गर्न समयावधि दिइएको मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिए ।

महतोका छोराको प्रकृया सकिन ४९ मिनेट लागेको र यही बिचमा घुसको चलखेल भएको खबर एडुखबरले प्रकाशित गरेको छ । 

पढ्नुहोस् : ४९ मिनेटको बिचमा भएको थियो सांसद र शिक्षाका कर्मचारी बिच ‘घुसको चलखेल’ 

प्रतिक्रिया