Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

एसएलसीको कोर्स रेडियो र टेलिभिजनबाट पढाइदै  

विहीबार, २४ मंसिर २०७२

काठमाडौं, २४ मंसिर । यस वर्ष एसएलसी परीक्षा दिने विद्यार्थीलाई शुक्रबारदेखि शिक्षा मन्त्रालयले रेडियो र टेलिभिजनबाट पढाउने भएको छ ।  भूकम्प र तराई–मधेसको आन्दोलनलगायतका कारण विद्यार्थीको पढाइमा बाधा पुगेको र कोर्स पूरा गर्न नसकेका विद्यार्थीलाई फोकस गरी रेडियो र टेलिभिजनबाट एसएलसी सामग्री प्रसारण गर्न लागिएको हो । 

शैक्षिक जनशक्ति विकास केन्द्रले सामग्री तयार गरी पढाउनेछ । केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमका अनुसार सुरुमा रेडियो नेपालबाट साढे सात बजेदेखि १५ मिनेट एसएलसी कक्षा सञ्चालन हुनेछ ।   रेडियोबाट गणित, अंग्रेजी र विज्ञान पढाउने तयारी छ । लामो समय पढाइ अवरुद्ध भएका तराईका आठ जिल्लाका विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने गौतमको भनाइ छ । ती जिल्लाबाट ५६ हजार विद्यार्थीले एसएलसी दिँदै छन् ।

टेलिभिजनबाट पनि कक्षा सञ्चालन गर्ने गरी एसएलसी सामग्री उत्पादन भइरहेको छ । केही समयपछि नेपाल टेलिभिजनबाट साढे पाँच बजेदेखि २५ मिनेट पढाउने तयारी छ ।   रेडियो र टेलिभिजनबाट प्रसारण भएका सामग्रीले खुला विद्यालयमा अध्ययन गर्ने देशभरबाट एसएलसी दिने विद्यार्थीलाई उपयोगी हुने मन्त्रालयको भनाइ छ । 

अघिल्ला वर्षमा चैतको पहिलो सातादेखि नै एलएलसी परीक्षा हुने गरेको थियो । तर, यसपालि केही समय ढिलो सुरु गर्ने र छिटो नतिजा निकाल्ने तयारी सरकारको रहेको छ ।

(आजको नयाँपत्रिका दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया