Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

विद्यार्थी छात्रवृत्ति छनोटमा महानगर पिच्छे फरक अभ्यास !

छात्रवृत्ति पाउने विद्यार्थीको छनोट स्थानीयले गर्ने कि विद्यालयलाई नै छाड्ने ? काठमाडौं, पोखरा र वीरगञ्जमा परीक्षा, ललितपुर र विराटनगरमा अन्योल, भरतपुर हचुवामा

शुक्रबार, ०४ साउन २०८१
काठमाडौं महानगरले शुक्रबार लिएको परीक्षामा सहभागी विद्यार्थी

काठमाडौ - कक्षा १० को अन्तिम परीक्षा एसईईको नतिजा अनुसार यसपालि दुई लाख २३ हजार चार सय ७२ जना पहिलो चरणमा कक्षा ११ मा भर्ना हुन योग्य छन् । पुरक परीक्षा दिने दुई लाख ४२ हजार तीन सय १३ जना मध्ये कतिले सफलता पाउने हुन् ? परीक्षा पछि नै निक्र्यौल हुनेछ । 

कुनै शैक्षिक संस्थामा भर्ना भएका मध्ये १० प्रतिशतलाई छात्रवृत्ति दिँदा यसपाली २२ हजार तीन सय ४७ जनाले छात्रवृत्ति पाउने छन् । उनीहरुले पाउने छात्रवृत्ति देखावटी मात्रै गर्न विद्यालयलाई छाडिदिने कि स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरी एकीकृत परीक्षा लिएर छनोट गर्ने ? 

काठमाडौं, पोखरा र वीरगञ्ज महानगरपालिकाले परीक्षा लिएर विद्यार्थी छनोट गर्दैछन् भने भरतपुर, ललितपुर, विराटनगर महानगरले भने विद्यालयलाई नै छनौट गर्न दिने योजना बनाएका छन् । 

काठमाडौं उपत्यकाको दुई वटा महानगर मध्ये काठमाडौं महानगरपालिकाले गत बर्ष देखि परीक्षा लिएर विद्यार्थी छनौट गर्न थालेको छ । ललितपुर महानगरले गत वर्ष जस्तै यसपाली पनि विद्यार्थीले छात्रवृत्तिमा पढ्न चाहेको स्कुलको नाम सहित निवेदन माग गरेको छ । 

‘जुन विद्यालयमा आवश्यक भन्दा बढी दर्खास्त पर्छ त्यो विद्यालयले नै आन्तरिक परीक्षा लिने गरी व्यवस्थापन गरेका थियौँ । यसपाली केही निर्णय भएको छैन । आवेदन मात्रै माग भएको छ’ महानगरका शिक्षा प्रमुख महेन्द्र क्षेत्रीले भने । 

चार हजार ६ सय २९ कोटाका लागि ११ हजार दुई सय ८१ जनाको आवेदन 

काठमाडौं महानगरले भने शुक्रबार चार हजार ६ सय २९ कोटाको एकिकृत छात्रवृत्ति परीक्षा लिएको छ । महानगरका शिक्षा प्रमुख गोविन्द शर्माले ११ हजार दुई सय ८१ जनाको आवेदन स्वीकृत भएकोमा १०हजार एक सय ७१ ले परीक्षा दिएको बताए । 

आवेदन दिएका मध्ये पाँच सय ९२ जनाको आवेदन अस्विकृत भएको थियो ।  सबैभन्दा बढी आवेदन विज्ञान विषयमा परेको छ । एक सय चार स्कुलको एक हजार सात सय ५७ कोटाको लागि आठ हजार चार सय ९७ जनाले आवेदन दिएका छन् । त्यस्तै व्यवस्थापन तर्फ एक सय ७० विद्यालयको दुई हजार चार सय ९३ कोटाको लागि दुई हजार पाँच सय ८१ विद्यार्थीले आवेदन दिएका छन् । त्यस्तै कानुन समूह तर्फ ४७ वटा स्कुलको लागि एक सय ३६ जनाको छात्रवृत्ति कोटामा एक सय ५३ जनाले आवेदन दिएका छन् । मानविकी समूहको एक सय ५१ विद्यालयमा एक सय ७३ कोटामा जम्मा १३ जनाले मात्रै आवेदन दिएका छन् । 

परीक्षामा अनुचित कार्य गर्ने दुई जनाको परीक्षा रद्ध गरेको महानगरले जनाएको छ । 

‘नतिजा फेयर हुन्छ, कसैको भनसुन चल्दैन । ओएमआर मेसिन बाटै उत्तर पुस्तिका परीक्षण हुने भएकोले कसैले शंका गर्ने ठाउँ रहदैँन’ महानगर प्रमुखको सचिवालय सल्लाहकार सस्मित पोखरेलले भने, ‘गतवर्ष पनि हामीले गरेको नतिजाबाट अभिभावक विश्वस्त हुनुहुन्छ । यसपाली पनि पनि निष्पक्ष गर्दैछौँ ।’ 

हचुवामा छात्रवृत्ति छनोट गर्ने तयारी 

भरतपुर महानगरले भने काठमाडौंको जस्तो परीक्षा लिएर भन्दा पनि हचुवामा छात्रवृत्ति पाउने विद्यार्थी छनोट गर्ने तयारी गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा भएको प्रावधान अनुसार विद्यार्थी संख्याको आधारमा १०, १२, १५ प्रतिशतसम्म छात्रवृत्ति दिन लागेको शिक्षा प्रमुख सुवास आचार्यले बताए । 

‘जति जनाले छात्रवृत्ति पाउँछन् आधा वडाको प्रतिनिधि, विद्यालयले छनोट गर्नेछ भने आधा नगर प्रमुख संयोजक रहेको नगर छात्रवृत्ति छनोट समितिले गर्नेछ’ उनले भने,‘एउटा विद्यार्थीले विद्यालय र महानगर दुई ठाउँमा निवेदन दिन सक्ने व्यवस्था गरेका छौँ ।’ 

विद्यार्थी भर्ना भइसके पछि कति जनाले छात्रवृत्ति पाउने हो संख्या यकिन गरेर छनोट प्रक्रिया अघि बढाइने उनले बताए । 

एकिकृत परीक्षा बाटै विद्यार्थी सिफारिस 

पोखरा महानगरपालिकाले भने काठमाडौं महानगरले जस्तै एकिकृत परीक्षा लिएर विद्यालयमा विद्यार्थी सिफारिस गरिसकेको छ । पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेम प्रसाद  आचार्यले विद्यार्थीबाट निवेदन लिएर परीक्षा गरेको बताए । दुई हजार चार सय विद्यार्थीले परीक्षा दिएकोमा तीन सय ८४ विद्यार्थी छनोट गरेको उनले बताए । 
छात्रवृत्ति छनोटको आधार नै हुन सकेन तय 

विराटनगरमा अन्योल

विराटनगर महानगरपालिकाले भने छात्रवृत्ति छनोट आधार नै तय गर्न सकेको छैन । एसईईमा न्यून विद्यार्थी मात्रै ग्रेडेड भएकोले मौका परीक्षाको नतिजा आए पछि मात्रै छात्रवृत्ति पाउने विद्यार्थी छनोट गर्ने कि अहिले नै गर्ने भन्ने निर्णय हुन बाँकी रहेको महानगरको शिक्षा प्रमुख कृष्ण भट्टराईले बताए ।  
‘अहिले ५० प्रतिशत गरेर पछि ५० प्रतिशत छनोट गर्ने कि भन्ने छलफल भएको छ’ उनले भने । 

वीरगञ्ज महानगरपालिकाका सूचना अधिकारी अरविन्द्रलाल कर्णले परीक्षा लिएर नै छात्रवृत्ति पाउने विद्यार्थी छनोट गर्न सूचना जारी भइसकेको बताए । 

‘निजीमा पढेकालाई ५० र सामुदायिककालाई ५० प्रतिशत छात्रवृत्ति दिने व्यवस्था छ’ उनले भने, ‘जति जनाले छात्रवृत्ति पाउँछन् ५० प्रतिशत छात्रा हुन्छन् ।’ 

प्रतिक्रिया