Edukhabar
आइतबार, २३ भदौ २०८१
गतिविधि

शिक्षा मन्त्रालय एमालेको भागमा

एमालेको भागमा शिक्षा सहित ८ मन्त्रालय परेको नेताहरुले बताएका छन् ।

आइतबार, ३० असार २०८१

काठमाडौँ - सत्ता समिकरण बदलिएसँगै शिक्षा मन्त्रालय एमालेको भागमा परेको छ । सत्ता साझेदारीका लागि सहमत भएका दुई ठूला दल नेपाली काँग्रेस र एमालेले मन्त्रालयको भागबण्डा टुङ्याएका छन् । जस अनुसार एमालेको भागमा शिक्षा सहित ८ मन्त्रालय परेको नेताहरुले बताएका छन् । 

मन्त्रीको नाम टुङ्याउने जिम्मा पार्टि अध्यक्ष केपी ओलीलाई दिएको छ । एमालेको भागमा अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेको जनाईएको छ ।

काँग्रेसको  भागमा गृह सहित रक्षा, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ,स्वास्थ्य तथा जनसङ्ख्या, शहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण मन्त्रालय परेको नेताहरुले बताएका छन् । 

माओवादी केन्द्रसँग एमालेको खटपट परे पछि प्रतिनिधि सभाको सबै भन्दा ठूलो दल नेपाली काँग्रेस र एमालेले सत्ता साझेदारीको सहमती गरेका थिए । उक्त सहमतीसँगै गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा विश्वासको मतका लागि पेश गरेको प्रस्ताव बहुमतले अस्विकृत भए पछि नयाँ सरकार गठनको प्रकृया शुरु भएको थियो । सोही अनुसार दुई दलले प्रधानमन्त्रीमा दावी पेश गरेका थिए । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका छन् । 

ओलीले सोमबार विहान सपथ लिने छन् । प्रधानमन्त्रीको सपथ लगत्तै मन्त्रीहरुको सपथ लिने तयारी भएको र सोही अनुसार मन्त्रीहरुको नामलाई अन्तिम रुप दिने गृहकार्य जारी रहेको एमालेका एक नेताले बताए । 

प्रतिक्रिया