Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

विद्यालय पुनःनिर्माणपछि छाएको खुशी

विहीबार, २४ मंसिर २०७२

काठमाडौँ, २४ मङ्सिर । नुवाकोट तारुका–४ आरुबोटेका ७० वर्षीया दलमान श्रेष्ठलाई गाउँमा विद्यालय बनेकोमा जीवन कै ठूलो खुसी लागेको छ । उनलाई खुसी लाग्नुको कारण के हो, भने पहिले पढ्न गाउँमै विद्यालय थिएन । झिटीगुन्टा कसेर अर्को गाउँमा जानुपर्ने बाध्यता थियो । तर अहिले घर आगनमै विद्यालय बन्दा दलमानको मुहारमा खुसी छाएको छ । 

गाउँमा विद्यालय नभएकै कारण पढ्न नपाएका श्रेष्ठले छोरालाई समेत राम्रो शिक्षा दिन सकेनन् तर नातिनातिनालाई राम्ररी पठाएर भविष्यमा ठूलो मान्छे बनाउने योजना छ । आरुबोटेमा स्विट्जरल्याण्डका नागरिकले आधुनिक सुविधासम्पन्न विद्यालय निर्माण गरेपछि उनीजस्तै ज्येष्ठ नागरिक र गाउँमै ठूलो उत्साह बढेको छ । 

“हाम्रो जमानामा पठ्न पाइएन । गाउँमै यसरी कँुजिनु प¥यो । अब, आफ्नो उमेरले डाँडा काटी गो तर यी बालबच्चाले स्थानीय विद्यालयमै स्तरीय शिक्षा पाएर उनीहरुको भविष्य राम्रो हुन्छ भन्ने विश्वास छ,” लट्ठीका सहारामा विद्यालय परिसरमा भेटिएका श्रेष्ठले भने ।  गाउँमा आधुनिक विद्यालय बनेर आफ्ना बालबालिकाले गुणस्तरीय शिक्षा पाउनेमा अभिभावक पनि दङ्ग छन् । 

स्थानीय सन्तोष मास्की मगरले आफ्नो समयमा पढ्न नपाए पनि अहिले गाउँमै स्तरीय शिक्षा पाएर बालबच्चाको भविष्य राम्रो हुने विश्वास व्यक्त गर्नुभयो । उनले भने, “आफूले सानो उमेरमा पढ्न पाइएन । अब गाउँमै गुणस्तरीय शिक्षा पाएर छोराछोरीको भविष्य राम्रो हुनेछ ।” 

एक घण्टा टाढादेखि गाग्रीमा पानी बोकेर विद्यालय निर्माण गर्दाको क्षण सम्झिदै स्थानीय कृष्णबहादुर बराल मगर भन्छन, “धेरै उत्साह बढेको छ, किनकी आधुनिक विद्यालयमा आफ्ना बालबच्चाले स्तरीय शिक्षा पाउनेछन् ।” 

कूल १४ सय घरधुरी रहेको तारुकाको वडा नं। ४ मा मगर जातिको बाहुल्यता रहेको छ, । उक्त गाउँमा शिक्षाकै कारण निकै पछि परेको बताइन्छ । स्विस नागरिकको १३ जना समूहले आफ्नै लगानी र श्रमदानबाट त्यहाँ बिपी स्मृति प्राथमिक विद्यालय निर्माण गरेका हुन् । 

कुल रु ८० लाखको लागतमा स्विस प्रविधिबाट निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक पाँचकोठे विद्यालय र तीनकोठे कार्यालयको पक्की भवनमा आधुनिक फर्निचरलगायतका सबै सेवा सुविधा छन् । सहरका सुविधायुक्त विद्यालयमा समेत नभएको सुविधा उक्त विद्यालयमा छ । सुविधायुक्त शौचालय, तातो, चिसो पानी आउने व्यवस्था, ठूला कक्षा कोठा, स्तरीय फर्निचरलगायत छन् । 

भौतिकरुपमा सुविधा सम्पन्न भएपनि अब, विद्यालयको गुणस्तर उकास्न केही विदेशी र अङ्ग्रेजीमा राम्रो दख्खल भएका शिक्षकको व्यवस्था गरी गुणस्तरीय शिक्षा दिई नमूना विद्यालय बनाइने विद्यालयका प्रधानध्यापक मदन बराल मगरले बताए ।  

पहिला चौरमा बसेको पीडा सुनाउने कक्षा तीनमा अध्ययनरत विद्यार्थी सागर श्रेष्ठ र रञ्जना बराल मगरले नयाँ स्कुलमा पढ्न पाउँदा खुसी लागेको बताए । विसं २०५१ स्थापना भएको उक्त विद्यालय गत वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त बनेपछि विद्यालय निर्माण गर्न वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्साल र नुवाकोट–रसुवा पर्यटन विकास समितिका महासचिव शिव अधिकारीले सक्रियता देखाएका थिए ।

स्विस नागरिक बर्नहाड बुल्हरले पर्यटन व्यवसायी लम्सालको आग्रहबमोजिम १३ जनाको समूह बनाई यहाँ आएर विद्यालय निर्माण गरेका हुन् ।  यो समूहले अबको दुई महिनाभित्र तारुकाको वडा नं ५ र ७ मा थप एक÷एक विद्यालय निर्माण गर्ने र तारुका–४ मा छ कोठे अस्पताल र खानेपानी आयोजना बनाउने जनाएको छ । 

पेशाले इन्जिनियर रहेका स्वीस नागरिक बेनहार्ट हिलर गाउँमा स्थानीय औजार प्रयोग गरेर विद्यालय बनाउन पाएकोमा खुसी व्यक्त गर्दै जीवनभर विद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।  व्यवसायी लम्सालले विद्यालयमा राम्रो अङ्ग्रेजी भएका शिक्षकको व्यवस्था गरी अन्तर्राष्ट्रियस्तरको शिक्षा आर्जन गर्ने नमूना विद्यालय बताइने बताए ।  

नुवाकोटमा एक नगरपालिका र ६१ गाविस रहेका छन् । तारुकामा हाल १० वटा विद्यालय छन् । 

(रासस) 

 

प्रतिक्रिया