Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

एसईईमा उच्च जीपीए ल्याउनेमा निजीका विद्यार्थी अब्बल

सामुदायिकबाट परीक्षामा सहभागि भएका मध्ये ३५.६६ प्रतिशत मात्रै ग्रडेड भएका छन् ।

बुधबार, १९ असार २०८१

काठमाडौं - कक्षा १० को अन्तिम परीक्षा एसईईमा सहभागी निजी विद्यालयका ७८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार चार हजार एक सय ४१ निजी विद्यालयबाट एक लाख ३२ हजार नौ सय १८ विद्यार्थीले परीक्षा दिएकोमा एक लाख चार हजार एक सय ३९ अर्थात् ७८.३५ प्रतिशत विद्यार्थीको नतिजा ग्रेडेड भएको हो । 

परीक्षा दिएका मध्ये निजीका दुई हजार सात सय ७९ अर्थात् २१.६५ प्रतिशत विद्यार्थीको नतिजा मात्रै एनजी आएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । परीक्षामा सहभागि भएका निजीका विद्यार्थी मध्ये ३.२० जीपीए देखि ४ जीपीए ल्याउने ५० प्रतिशत छन् भने सामुदायिकबाट परीक्षामा सहभागि भएका मध्ये १० प्रतिशत मात्रै छन् । 

एसईई दिएर ३.६० देखि ४ जीपीए ल्याउने ३१ हजार दुई सय नौ विद्यार्थी छन् । यसमा सामुदायिकका छ हजार पाँच सय ३५ र निजीका २४ हजार छ सय ७४ जना विद्यार्थी रहेका छन् । यो समूहको जीपीए ल्याउने निजी विद्यालयबाट परीक्षा दिएका मध्येको १८.५६ प्रतिशत हुन्छ । त्यस्तै सामुदायिकको १.९६ प्रतिशत मात्रै हुन्छ । त्यस्तै ३.२० देखि ३.६० सम्मको जीपीए ल्याउने विद्यार्थी संख्या पनि निजीमै पढेका बढी छन् । यो समूहको जीपीए ल्याउने निजीबाट परीक्षामा सहभागि भएका मध्ये ३२.२३ प्रतिशत अर्थात् ४२ हजार आठ सय ५१ जना छन् । सामुदायिकका भने यो समूहको जीपीए ल्याउने विद्यार्थी सामुदायिक तर्फबाट परीक्षामा सहभागि भएका मध्ये २५ हजार चार सय पाँच जना अर्थात् ७.६५ प्रतिशत मात्रै छ । 

बोर्डका अनुसार समग्रमा उच्च जीपीए ल्याउने निजीका विद्यार्थी अब्बल देखिएका छन् भने न्यून जीपीए ल्याउने सामुदायिकका बढी छन् । सामुदायिकबाट परीक्षामा सहभागि भएका मध्ये ३५.६६ प्रतिशत मात्रै ग्रडेड भएका छन् । ६४.३४ प्रतिशत अर्थात दुई लाख १३ हजार पाँच सय ३४ विद्यार्थी छन् । त्यस्तै निजीबाट परीक्षामा सहभागि भएका मध्ये ७८.३५ प्रतिशत ग्रेडेड भएका छन् । २१.६५ प्रतिशत विद्यार्थीको नतिजा मात्रै एनजी आएको छ । 

एसईईमा चार लाख ६४ हजार सात सय ८५ विद्यार्थी सहभागि भएकोमा दुई लाख २२ हजार चार सय ७२ विद्यार्थीको नतिजा मात्रै ग्रेडेड छ । दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थीको नतिजा एनजी आएको छ ।

प्रतिक्रिया