Edukhabar
शुक्रबार, ०२ कार्तिक २०८१
गतिविधि

एसईई पुरक परीक्षा साउन २३ गतेबाट

अहिले ग्रेड प्राप्त गरेका र पुरक परीक्षामा सहभागी भएर ग्रेड प्राप्त गर्ने विद्यार्थीको पढाइमा अन्तर नहोस् भन्ने बारेमा मन्त्रालय गम्भिर रहेको दावी

आइतबार, १६ असार २०८१

काठमाडौं - कक्षा १० को अन्तिम परीक्षा एसईई मा नन् ग्रेडेड सबै विद्यार्थीलाई सहभागी गराउने प्रकृया शुरु गरेको शिक्षा मन्त्रालयले पुरक परीक्षा साउन २३ गतेबाट गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को आईबतार बसेको बैठकले पुरक परीक्षाको मिति तय गरेको हो ।  

उक्त निर्णय अनुसार प्रश्नपत्र तयारी, परीक्षा सञ्चालन र नतिजा प्रकाशनको काम बोर्डले र अन्य आवश्यकीय काम प्रदेशले गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले बताए । अहिले ग्रेड प्राप्त गरेका र पुरक परीक्षामा सहभागी भएर ग्रेड प्राप्त गर्ने विद्यार्थीको पढाइमा अन्तर नहोस् भन्ने बारेमा मन्त्रालय गम्भिर रहेको बताउँदै उनले पुरकको नतिजा असोजको पहिलो साता भित्र सार्वजनिक गर्ने बताए । 

यस अघि दुई विषयमा नन ग्रेडेड विद्यार्थीका लागि मात्रै पुरक परीक्षा दिने निर्देशिकाको व्यवस्था परिवर्तन गर्न मन्त्री सुमना श्रेष्ठले शुक्रबार प्रकृया शुरु गर्ने निर्णय गरेकी थिइन् । बिहीबार प्रकाशित एसईईको नतिजा अनुसार दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थी नन ग्रेडेड भएका छन् ।

यस अघिको व्यवस्था अनुसार साउनको १८ र १९ गतेका लागि पुरक परीक्षाको मिति तय गरिएको थियो । नतिजामा धेरै विद्यार्थी नन ग्रेडेड भएपछि शुरु भएको आलोचनाका बिच मन्त्री श्रेष्ठले निर्देशिका परिवर्तनको प्रकृया शुरु गरेकी थिईन् । मन्त्रीको उक्त निर्णयको शिक्षाविद्हरुले आलोचना गरेका छन् ।   

पढ्नुहोस् : सबै विषयमा एनजी आएका विद्यार्थीको पुनः परीक्षा लिने व्यवस्था गर्नु गलत 

प्रतिक्रिया