Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

एसईई ग्रेड वृद्धिका विद्यार्थीलाई पढाउन छुट्टै जनशक्ति !

सार्वजनिक विद्यालयमा अंग्रेजी, विज्ञान, गणित र निजी विद्यालयमा नेपाली र सामाजिक शिक्षा विषयमा कक्षा सञ्चालन गरिने, साथी सिकाइ कार्यक्रमलाई विश्वविद्यालय मार्फत सञ्चालन गरिने ।

आइतबार, १६ असार २०८१

काठमाडौं - कक्षा १० को अन्तिम परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीलाई पढाउन त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आगिङ्ग तथा सम्बन्धन प्राप्त क्याम्पसका विद्यार्थीलाई परिचालन गरिने भएको छ । उक्त व्यवस्थाका लागि शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गरेको छ । 

स्नातक तथा स्नातकोत्तर तहको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीलाई परिचालन गरी सार्वजनिक विद्यालयमा अंग्रेजी, विज्ञान, गणित र निजी विद्यालयमा नेपाली र सामाजिक शिक्षा विषयमा कक्षा सञ्चालन गर्न मन्त्रालयले भनेको छ । आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिएको साथी सिकाइ (पियर मेण्टरिङ्ग) कार्यक्रमलाई विश्वविद्यालय मार्फत सञ्चालन गर्न भन्दै मन्त्रालयले विश्वविद्यालयलाई पत्राचार गरेको छ ।  उक्त निर्देशन अनुसार पायक पर्ने स्थान र समयमा शैक्षिक सिकाइ सहयोग कक्षा सञ्चालनको व्यवस्था गर्न विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले त्रि.वि.विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयलाई पत्र लेखेका छन् । यसका लागि सम्बन्धित क्याम्पस प्रमुखलाई संयोजक तोकी पत्राचार गर्न भन्दै उनले निर्देशनालयलाई पत्र पठाएका हुन् । 

यस्तै शिक्षा तथा मानव श्रोत विकास केन्द्रले पनि यी विद्यार्थीलाई लक्षित गरी रेडियो नेपाल र नेपाल टेलिभिजन मार्फत् तीन विषय गणित, अँग्रेजी र विज्ञानको कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । 

बिहीबार प्रकाशित एसईईको नतिजा अनुसार दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थी नन् ग्रेडेड भएका छन् । यी मध्ये दुई विषय लागेका एक लाख १५ हजार आठ सय ३४ विद्यार्थीका लागि साउन १८ र १९ गते ग्रेड वृद्धि परीक्षाको मिति तय गरिएको थियो । तर, कमजोर नतिजा आएको भन्दै आलोचना भए पछि शिक्षा मन्त्री सुमना श्रेष्ठले सबै विषयमा नन ग्रेडेड भए पनि पुरक परीक्षा दिन पाउने गरी लेटर ग्रेडिङ् निर्देशिका परिवर्तनको प्रकृया शुरु गरेकी छन् । 

बिहीबार सार्वजनिक नतिजा अनुसार कक्षा ११ मा भर्ना हुन योग्य २ लाख २२ हजार ४ सय ७२, दुई विषय लाग्ने १ लाख १५ हजार ८ सय ३४ र दुई विषय भन्दा बढिमा २७ अंक पनि नल्याएका १ लाख २६ हजार ४ सय ७९ विद्यार्थी छन् । 

निर्देशिका अनुसार यस अघि दुई विषयमा एनजी आउने विद्यार्थीले नतिजा सार्वजनिक  भए लगत्तै मौका परीक्षा दिन पाउने व्यवस्था थियो । दुई भन्दा बढि विषयमा एनजी आएका विद्यार्थीले अर्को वर्ष हुने बार्षिक परीक्षामा सहभागि हुन पाइन्थ्यो । जति वटा विषयमा एनजी आएको छ त्यसमा तीन वर्षसम्म निरन्तर परीक्षा दिन पाउने व्यवस्थालाई हटाएर एसईईमा एनजी आउने सबैले परीक्षा दिन पाउने गरी लेटर ग्रेडिङ् निर्देशिका संशोधन गर्न लागिएको हो ।

पढ्नुहोस् : एनजी र अनुपस्थितले पनि पुरक दिन पाउने गरी निर्देशिका संशोधन गरिदैँ
 

प्रतिक्रिया