Edukhabar
आइतबार, २३ भदौ २०८१
गतिविधि

एनजी र अनुपस्थितले पनि पुरक दिन पाउने गरी निर्देशिका संशोधन गरिदैँ

अहिले नतिजा आएका विद्यार्थीको पढाई साउन १५ गतेबाट शुरु हुन्छ तर साउनमा परीक्षा लिएका विद्यार्थीको नतिजा कहिले आउँछ ? फेरी पनि विद्यार्थीमा फेल भए पनि सबै विषयको परीक्षा दिन पाइहाल्छ भन्ने मानसकिता विकास गर्न खोजिएको हो ?

आइतबार, १६ असार २०८१

काठमाडौं  - गत चैतमा भएको कक्षा १० को अन्तिम परीक्षा (एसईई) मा सहभागि भएर कम्तीमा २७ नम्बर पनि ल्याउन नसकेका र परीक्षा फारम भरेर पनि नदिएका विद्यार्थीलाई पुनः परीक्षा दिन पाउने गरी शिक्षा मन्त्रालयले लेटर गे्रडिङ् निर्देशिका परिवर्तन गर्ने तयारी गरेको छ । 

निर्देशिका अनुसार यस अघि दुई विषयमा एनजी आउने विद्यार्थीले नतिजा सार्वजनिक  भए लगत्तै मौका परीक्षा दिन पाउने व्यवस्था थियो । दुई भन्दा बढि विषयमा एनजी आएका विद्यार्थीले अर्को वर्ष हुने बार्षिक परीक्षामा सहभागि हुन पाइन्थ्यो । जति वटा विषयमा एनजी आएको छ त्यसमा तीन वर्षसम्म निरन्तर परीक्षा दिन पाउने व्यवस्थालाई हटाएर एसईईमा एनजी आउने सबैले परीक्षा दिन पाउने गरी लेटर ग्रेडिङ् निर्देशिका संशोधन गर्न लागिएको हो । 

‘परीक्षा फारम भरेर परीक्षा नदिएका, कम्तीमा २७ अंक पनि नल्याएर सातै विषयमा एनजी आएकाले समेत मौका परीक्षा दिन पाउने गरी निर्देशिका संशोधन गर्न लागेको हो’ मन्त्रालय स्रोतले भन्यो । 

परीक्षा फारम भरेर पनि सहभागि नहुने ८ हजार १ सय ९५ जना छन् । उनीहरु पनि अब परीक्षामा सहभागि हुन पाउने छन् ।  राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षाको लागि साउन १८ र १९ गते मिति तय गरेको छ । अब सबै विषयको परीक्षा हुने भएपछि अर्को सात दिन थप गर्र्नु पर्ने हुन्छ । 

निर्देशिका संशोधन भएमा २ लाख ४२ हजार ३ सय विद्यार्थीले पुनः परिक्षा दिन पाउने छन् । बिहीबार सार्वजनिक नतिजा अनुसार कक्षा ११ मा भर्ना हुन योग्य २ लाख २२ हजार ४ सय ७२, दुई विषय लाग्ने १ लाख १५ हजार ८ सय ३४ र दुई विषय भन्दा बढिमा २७ अंक पनि नल्याएका १ लाख २६ हजार ४ सय ७९ विद्यार्थी छन् । 

शिक्षा मन्त्री सुमना श्रेष्ठले शुक्रबार एनजी ल्याउने सबै विद्यार्थीले पुरक परीक्षा दिन पाउने प्रकृया शुरु गर्ने निर्णय गरेकी थिईन् । उक्त प्रकृया अनुसार निर्देशिका संशोधन गर्नु जरुरी छ । सोही निर्णयका आधारमा निर्देशिका संशोधन भए पछि अब एसईई दुई पटक हुने निश्चित छ । पहिलो, सबै विद्यार्थीले दिने र दोस्रो पटक अनुुपस्थित र २७ अंक नल्याएका सबैले दिने गरी परीक्षा तालिका तय गर्नु पर्ने हुन्छ । पाठ्यक्रम विकास केन्द्रले तयार गरेको निर्देशिका संशोधनको मस्यौदामा एसईई पुन सञ्चालन हुने, दुई विषय वा दुई विषय भन्दा बढी अथवा सबै विषय एनजी भए पनि पुन एसईई परीक्षा दिन पाउने व्यवस्था राख्न लागिएको उल्लेख छ 

तर शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले सबै विषयको परीक्षा लिएर विद्यार्थीलाई सहभागी गराउनु तत्कालका लागि ठिकै भए पनि यो दीर्घकालिन समाधान नभएको तर्क गरेका छन् । ७७ वटै जिल्लामा पहिलाको जस्तै पुनः परीक्षा सञ्चालन गर्दा नतिजा कति समयमा आउँछ भन्ने मुख्य कुरा हुने उनले बताए । 

'अहिले नतिजा आएका विद्यार्थीको पढाई साउन १५ गतेबाट शुरु हुन्छ तर साउनमा परीक्षा लिएका विद्यार्थीको नतिजा कहिले आउँछ ?' उनले भने 'अब परीक्षा लिएर पढाई सुरु गर्दा कक्षा ११ मा पढ्न क्रेडिट आवर नै पुग्दैन ।'

राष्ट्रिय  परीक्षा बोर्डका पूर्व अध्यक्ष चन्द्रमणि पौडेलले सरकारले सबै विषयमा एनजी आएका विद्यार्थीको पुनः परीक्षा लिने व्यवस्था गर्नु गलत भएको बताए । 

‘पपुलर हुनलाई यस्तो हुचवाको निर्णय गर्नु गलत हुन्छ,’उनले भने,‘यसले बल्ल बस्न लागेको थिति समेत भत्किने पक्का छ ।’ 

फेरी पनि विद्यार्थीमा फेल भए पनि सबै विषयको परीक्षा दिन पाइहाल्छ भन्ने मानसकिता विकास हुने उनले बताए । विद्यार्थी पास गर्ने नियत मात्रै राख्ने की पढाई प्रति पनि ध्यान दिने भन्ने मुख्य कुरा भएको उनको भनाई छ ।  

‘अब परीक्षा लिएर नतिजा निकाल्दा तिहार पछि पुग्छ, त्यस पछि पढाई सुरु गरेका विद्यार्थीको कोर्ष कसरी सकिन्छ ?’ उनले भने,‘त्यसैले पुनः सबै विषयको परीक्षा लिन खोज्नु व्यवहारिक छैन । एनजी ल्याउनेलाई भोकेशन तिर लगेर चार वर्ष गर्दा १२ कक्षा पढे सरह गरे हुन्थ्यो । सीप पनि सिक्छन् ।’ 

काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका डीन प्रा.डा. बालचन्द्र लुइटेलले पुनः परिक्षा सञ्चालन गर्नु गलत नभएको बताए । 

‘परीक्षा वर्षभरी चलाए पनि हुन्छ । तर, अब परीक्षा भएर ग्रेड बृद्धि हुने बिद्यार्थीलाई यसपालीको शैक्षिक सत्रमा भर्ना गर्न चाँहि सम्भव हुँदैन’ उनले भने,‘अर्को वर्ष मात्रै भर्ना लिने व्यवस्था गर्नुपर्छ ।’ 

सामुदायिक विद्यालयका पूर्व प्रधानाध्यापक धनञ्जय शर्माले विद्यार्थीले मौका परीक्षा दिन पाउने व्यवस्था सही भए पनि कार्यान्वयन नहुँदै पटक पटक संशोधन हुनु गलत भएको बताए । 

‘दुई वर्ष अघि बनेको निर्देशिका बल्ल बल्ल लागू भएको छ । यसलाई लागु भए लगत्तै संशोधन गर्न खोज्नु गलत हो’ उनले भने,‘सनकको भरमा हुने यस्तो निर्णय गलत छ । अनुसन्धान नगरी नियम बनाउने र सच्याउने पद्धति बदल्नु पर्छ ।’

प्रतिक्रिया