Edukhabar
आइतबार, २३ भदौ २०८१
गतिविधि

कस्तो आउला यसपालि एसईईको नतिजा ?

बोर्डका एक पदाधिकारीले अनुमान गरेको जस्तै ५० प्रतिशत हाराहारीमा एनजी आउने हो भने २ लाख ३३ हजार विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना हुन योग्य हुनेछन् ।

बुधबार, १२ असार २०८१

भक्तपुर - एक निजी विद्यालय सञ्चालकले सोधे – यसपालि एसईईको रिजल्टमा एनजी आउँछ कि आउँदैन ? 

कक्षा १० को अन्तिम परीक्षा (एसईई) सञ्चालन गर्ने र नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीले मात्रै यो प्रश्नको उत्तर दिन सक्ने भएकोले उनको प्रश्न जस्ताको त्यस्तै सोध्यौँ । 

बोर्डका एक पदाधिकारी भन्छन् – ५० प्रतिशतको त  एनजी नआउला कि ! 

यसपालि हरेक विषयमा त्यो पनि सैद्धान्तिक र प्रयोगात्मक छुट्टा छुटटै ३५ प्रतिशत ल्याउनै पर्ने र नल्याएमा एनजी आउने गरी नतिजा सार्वजनिक गर्ने तयारी छ ।  नतिजा सार्वजनिक गर्ने प्राविधिक काम लगभग अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ । त्यसैले नतिजा सार्वजनिक भए पछि नै उक्त प्रश्नको यकिन उत्तर भन्न सकिने उनी बताउँछन् । 

बुधबार प्राविधिक टिमसंग बोर्डका पदाधिकारीको बैठक बसेको थियो । परीक्षाका बोर्ड सदस्यहरुले नतिजा सार्वजनिक गर्ने तयारीको अन्तिम जानकारी लिए । यद्यपी अहिले सम्म पनि कति प्रतिशतको एनजी आउँछ ? भन्ने थाहा पाउन नसकेको ति पदाधिकारीले बताए । 

‘हामीलाई पनि चासो छ एनजी आउने कति प्रतिशत होला ? यसको जस वा अपजस सरकारलाई पनि हुन्छ’ उनले भने । 

कक्षा १० को नतिजा देखाएरै विद्यार्थी आर्कषण गर्दै आएका निजी विद्यालय सञ्चालकलाई चासो बढ्नुको एउटै कारण हो –  'कमजोर विद्यार्थी पहिचान भएनन् भने, आफूहरु सामुदायिक भन्दा राम्रो भन्ने आधार के ? आफ्ना विद्यालय राम्रो कसरी भन्न सकिन्छ ?’ 

विद्यार्थीले पढ्नै छाडे, नपढे पनि पास भइहालिन्छ भन्ने विगत केही बर्ष यता विद्यार्थीमा बढ्दो मानसिकतालाई निरुत्साहित गर्न एनजीको व्यवस्था गर्न लागेको बोर्डका पदाधिकारी बताउँछन् ।  त्यसैले यसपालि विद्यालयहरुलाई मात्रै हैन, विद्यार्थी र अभिभावकलाई पनि एनजीको चासो छ । विगतको नतिजामा न्यून नम्बर आए पनि विषयगत ग्रेड र जीपई उल्लेख हुन्थ्यो । ग्रेडसिटमा समग्र जीपीए पनि हुन्थ्यो । मानौँ कुनै विषयमा ५ नम्बर मात्रै आए पनि विषयगत ग्रेड ई उल्लेख हुन्थ्यो । समग्र जीपए पनि देखिन्थ्यो । 

यसपालि विगतको भन्दा फरक कुनै विषयमा २७ नम्बर भन्दा कम आउने बित्तिकै ग्रेडसिटमा समग्र जीपीए एनजी हुनेछ । यस्तो हुँदा कम्तीमा दुई विषयमा एनजी आएमा परीक्षा दिन पाउने छन् । यसपालिको नतिजामा सबैको चासो हुनुको कारण पनि यही हो । 

विगतमा प्रतिशत अर्थात डिभिजन छुट्याएर आउने नतिजामा जस्तै कतै आफ्नो विद्यालय निल हुने त होइन ? त्यस्तै अभिभावककलाई पनि आफ्नो नानी बाबुको नतिजा एनजी आउने त होइन भन्ने चिन्ताले सताएकै कारण यसपालिको नतिजालाई बिशेष रुपमा हेरिएको छ । 

अघिल्लो वर्ष नै एनजी प्रणाली लागू गर्न खोजिए पनि तयारी नपुगेको भन्दै अन्तिममा रोकिएको थियो । कक्षा १२ मा यही प्रणाली लागू भएको दुई वर्ष भइसक्यो । यसपालि विगतको भन्दा फरक के हुँदैछ भने प्रयोगात्मकको नम्बर र सैद्धान्तिक फरक फरक रुपमा ग्रडसिटमा देखाईंदैछ । विगतमा प्रयोगात्मकमा २५ अंक विद्यालयले दिएको छ र विद्यार्थीले लेखेर ५ अंक मात्रै ल्यायो भने पनि दुबै जोडिएर एउटै जीपीई हुन्थ्यो । र, विषयगत ग्रेड निर्धारण हुन्थ्यो । यसपालि दुबै फरक हुने भएकोले पनि विद्यार्थीको सिकाइ कस्तो भन्ने छर्लङ हुनेछ । 

see_letter

यसपालि कक्षा १० को परीक्षाले शिक्षामा सरकारले गरेको लगानीको वास्तविक प्रतिफल पनि उजागर गर्नेछ । त्यसैले यो नतिजा विद्यार्थीको मात्रै होइन सरकारको नतिजा पनि हुनेछ । २०७२ देखि मुलुकमा १० कक्षाको विद्यार्थीको सिकाइ उपलब्धी ग्रेडिङ प्रणालीबाट हुन थाल्यो । विद्यार्थीले पाएको नम्बरलाई अक्षरमा ग्रेडिङ गर्दा सात वटा विषय मध्ये कुनै विषयमा ५ अंक ल्याउँदा पनि माथिल्लो कक्षा पढ्न पाएका छन् । विद्यार्थीले माथिल्लो कक्षा पढ्न पाउनु मात्रै सरकार र विद्यालयले आफ्नो उपलब्धी ठान्यो । विद्यार्थीको सिकाइ हेर्दै हेरिएन । जब विद्यार्थीको सिकाइ नै कमजोर भएको ठानियो अनि बल्ल यसपालिबाट निश्चित अंक ल्याउनै पर्ने प्रावधान सहितको लेटर ग्रेडिङ लागु गर्न लागिएको हो ।

विद्यार्थीले ल्याउने जीपीएलाई विद्यालय र सरकारको उपलब्धि ठान्ने गरेकोमा यसपाली एनजी कति विद्यार्थीले ल्याउँछन् त्यसले कति विद्यार्थी उतिर्ण भएको हो भन्ने देखाउनेछ । त्यसैले बोर्डका पदाधिकारी हुन् वा विद्यालय सञ्चालकहरुलाई के चासो छ भने यसपालि कति प्रतिशत जति पास होलान् ?

यसको मतलब कति विद्यार्थीको नतिजा एनजी आउला भन्ने हो  । बोर्डका ति पदाधिकारीले अनुमान गरेको जस्तै ५० प्रतिशतको हाराहारीमा एनजी आउने हो भने २ लाख ३३ हजार विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना हुन योग्य हुनेछन् । 

गत चैत १५ देखि सुरु भएको परीक्षामा नियमित तर्फ ४ लाख ६७ हजार विद्यार्थीले परीक्षा दिएका छन् । ५० प्रतिशत विद्यार्थीको एनजी नहुनु भनेको ०७१ सालको नतिजाको हाराहारीको हुनु हो । त्यस बर्ष ४७.४३ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए । 

यसपालिको नतिजालाई कोरोनाको कारण भनेर टार्न पनि मिल्दैन । कोरोनाको बेला ७ कक्षामा पढ्ने विद्यार्थीले अहिले १० कक्षाको परीक्षा दिएका हुन् । यो नतिजाले विद्यार्थीको वास्तविक सिकाइ देखिनेछ । २०६० सालमै विद्यार्थी उत्तिर्ण दर ४६.१८ प्रतिशत थियो । ०६५ मा आएर उत्तिर्ण दर ६८ प्रतिशत सम्म पुगेको थियो । यसपाली कति आउने हो ? सबैको चासोको विषय बनेको छ । 

गत बर्षको एसइईको नतिजामा अनिवार्य गणितमा ग्रेड ई ल्याउने विद्यार्थीलाई आधार मान्ने हो भने ६७ प्रतिशत मात्रै उत्तिर्ण भएको देखिन्छ । गत बर्ष ४ लाख ६९ हजार विद्यार्थी मध्ये १ लाख ५५ हजार विद्यार्थीले गणितमा इ ग्रेड पाएका थिए । त्यस्तै ०७८ को नतिजामा पनि परीक्षा दिएका मध्ये ३७ प्रतिशतले गणितमा २० अंक भन्दा कम ल्याएका थिए । 

प्रतिक्रिया