Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

सामुदायिकका विद्यार्थी ओसार्न निजीका गाडी भाडामा !

विद्यालयको आफ्नै ३ वटा गाडी भए पनि विद्यार्थीको चाप बढेसँगै अपुग भए पछि निजीका गाडी भाडामा लिएर विद्यार्थीलाई सवारीको व्यवस्थापन

मंगलबार, ११ असार २०८१

मोरङ - सुन्दरहरैँचा नगरपालिकाको सुकुना माध्यमिक विद्यालयले विद्यार्थी चाप बढेपछि निजी विद्यालयको गाडी भाडामा लिएर विद्यार्थीलाई यातायात सुविधाको व्यवस्था गरेको छ । विद्यालयको आफ्नै ३ वटा गाडी भए पनि विद्यार्थीको चाप बढेसँगै अपुग भए पछि निजी विद्यालयका गाडी भाडामा लिएर विद्यार्थीलाई सवारीको व्यवस्थापन गर्नु परेको प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले बताए । 

चार हजार भन्दा बढी विद्यार्थी रहेको सुकुनामा अध्ययन गर्ने अधिकांश विद्यार्थीले विद्यालयको गाडी प्रयोग गर्छन् । विद्यार्थी चाप  बढेकै कारण दुई सिफ्टमा पढाई हुन्छ । बिहानको सिफ्टको पढाई ६ देखि ११ बजेसम्म हुन्छ भने दिउँसोको सिफ्ट ११ देखि सुरु हुन्छ । अंग्रेजी माध्यमको ९ र १० को पढाई बिहानै हुन्छ । 

निजी विद्यालयको कक्षा १० बजे सुरु हुन्छ । आफ्नो विद्यार्थी विद्यालयमा ल्याए पछि खाली रहेको समयमा नजिकै रहेको सुकुना माध्यमिक विद्यालयका विद्यार्थी ओसार्न ती गाडी प्रयोग हुन्छन् । 

sukuna_4

‘विद्यालयमा त्यतिकै बस्ने समयमा हामीले निजी विद्यालयको गाडी भाडामा लिएर चलाएका हौँ’ बस्नेतले भने । 

चार वटा निजी विद्यालयको ५ वटा गाडी भाडामा लिएर यातायातको सुविधा दिइरहेको प्रधानाध्यपक बस्नेतले बताए ।  आफ्नो गाडी गुडाउनु भन्दा निजी विद्यालयको भाडामा लिएर सञ्चालन गर्नु फाइदा हुने उनले बताए । 

‘दुरीको र मासिक कति ट्रिप गर्यो त्यसको आधारमा भुक्तानी दिने गरेका छौँ’ उनले भने । 

निजी विद्यालयको गाडीले बिहान आफ्नो विद्यार्थी ल्याएपछि सुकुनाको विद्यार्थी लिन जाने गरेको छ । निजी विद्यालय बेलुका ४ बजे छुट्टी भएर आफ्नो विद्यार्थी छाडेपछि ती गाडीले सुकुनाको विद्यार्थी ओसार्छन् । 

sukuna_3

‘निजी र सामुदायिकको सहकार्यको राम्रो अभ्यास हामीले गरिरहेका छौँ’ बस्नेतले भने । 

विद्यालयमा कक्षा १० मा मात्रै सबै भन्दा बढी ५ सय ९३ जना विद्यार्थी अध्ययनरत छन् । अघिल्लो वर्ष मोरङमा बच्चा चोरीको घटना भए पछि सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई पनि अभिभावकले गाडीमा चढाउने क्रम बढेको छ ।

प्रतिक्रिया