Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

शिक्षा मन्त्रीद्वारा राष्ट्रिय सभामा विधेयक पेश

दुई सँस्थाको ३१ जिल्लामा रहेको सम्पत्ति तथा जायजेथा विश्वविद्यालयको हुने, विश्वविद्यालयको कुनै पनि नियमित आर्थिक दायित्व नेपाल सरकारलाई नपर्ने, विदेशी विद्यार्थीको लागि समेत उत्कृष्ट गन्तव्य हुनेछ दावी

सोमबार, १० असार २०८१

काठमाडौं - शिक्षा मन्त्री सुमना श्रेष्ठले तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ राष्ट्रिय सभामा पेश गरेकी छन् । आँखा स्वास्थ्य विधामा उच्च शिक्षा प्रदान गर्न तथा यस क्षेत्रमा अध्ययन, अनुसन्धान, आँखा उपचारमा पहुँच विस्तार, आँखा उपचार सम्बन्धी वस्तु उत्पादन तथा प्रविधि विकाश गर्ने उद्देश्यले यो विश्वविद्यालय स्थापना गर्न लागिएको हो । सोही प्रयोजनका लागि मन्त्रालयले विधेयक अघि बढाएको हो ।

सरकारलाई आर्थिक भार नपर्ने, आफ्नै उत्पादन केन्द्र रहने गरी स्थापना हुन लागेको तिलगङ्गा नेत्र विश्वविद्यालयको सञ्चालनका लागि संरक्षक परिषद् रहने विधेयकमा व्यवस्था गरिएको छ । प्रख्यात नेत्र चिकित्सक डा. सन्दुक रुइत लगायत संलग्न रहेको  ‘नेपाल आँखा कार्यक्रम’ र ‘अन्धोपन निरवारण समाज, मकवानपुर’ को सम्पत्ति तथा भौतिक संरचना विश्वविद्यालयको हुने गरी विधेयकमा व्यवस्था गरिएको छ । यी दुई सँस्थाको ३१ जिल्लामा रहेको सम्पत्ति तथा जायजेथा पनि विश्वविद्यालयको हुनेछ । यस विश्वविद्यालयको कुनै पनि नियमित आर्थिक दायित्व नेपाल सरकारलाई नपर्ने मन्त्री श्रेष्ठले बताईन् । 

‘सरकारलाई आर्थिक भार नपर्ने, आफ्नै उत्पादन केन्द्र रहने गरी स्थापना हुन लागेको तिलगङ्गा नेत्र विश्वविद्यालय साँच्चै विदेशी विद्यार्थीको लागि समेत उत्कृष्ट गन्तव्य हुनेछ’ – विधेयक दर्ता गरे पछि मन्त्री श्रेष्ठले भनिन् ।   

यो विश्वविद्यालयको आफ्नै उत्पादन केन्द्र हुने र यस क्षेत्रमा संसारकै विशिष्ट व्यक्तिहरूको योगदान रहने मन्त्री श्रैष्ठले बताईन् । नेपाल आँखा कार्यक्रम नेपालमा अन्धोपन नियन्त्रणको लागि वि.सं. २०४९ देखि नै मुनाफा रहित तथा समुदायमा आधारित गैरसरकारी संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालय, काठमाडौमा दर्ता भई सामाज कल्याण परिषदमा आवद्ध भएको सँस्था हो । यस संस्थावाट काठमाडौंको तिलगङ्गा सहित नेपालका २० जिल्लाका विभिन्न स्थानमा आँखा उपचारको कार्यक्रम सञ्चालन हुँदै आएको छ ।  

यो विश्वविद्यालय सञ्चालनमा आए पछि अन्य देशमा समेत सेवा विस्तार हुँदै जाने र यसवाट नेपालको प्राविधिक जनशक्तिको अन्तराष्ट्रिय ख्याति वृद्धि हुने अपेक्षा गरिएको छ । उच्च शिक्षालाई वैज्ञानिक, नवप्रवर्तनात्मक, अनुसन्धनात्मक, प्रविधि मैत्री र रोजगारमूलक बनाउँदै ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माण गर्न यो विश्वविद्यालयले योगदान दिने मन्त्री श्रेष्ठको दावी छ । 

प्रतिक्रिया