Edukhabar
शुक्रबार, ०२ कार्तिक २०८१
खबर/फिचर

शिक्षा विधेयक मेरो हातमा छैन, सदनले छिनोफानो गरिदिनु पर्‍यो : शिक्षा मन्त्री

मन्त्रीको काम के, सदनको काम के भन्नेमा भ्रम फैलाउन बन्द गरौँ, सबैले आ-आफ्नो काम गरौँ ।

आइतबार, ०९ असार २०८१

काठमाडौं - बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयक अलमलमा परिरहेका बेला शिक्षा मन्त्री सुमना श्रेष्ठले विधेयक पास गर्ने विषय आफ्नो हातमा नभएको बताएकी छन् । आगामी आर्थिक बर्षका लागि विनियोजित बजेट माथि प्रतिनिधि सभा बैठकमा भएको मन्त्रालयगत छलफलमा बोल्दै मन्त्री श्रेष्ठले विधेयकको छिनो फानो गरिदिन सदनलाई आग्रह गरेकी छन् । 

मन्त्रीले काम नगरेर शिक्षा ऐन बनेन भन्ने भाष्य गलत भएको भन्दै उनले यसमा आफूले गर्न पर्ने काम सकिसकेको र अब सदनले छिनोफानो गरिदिनु पर्ने बताईन् । आफू समितिमा हुँदा शिक्षा विधेयकलाई प्रदेशगत रूपमा लगेर छलफल गर्ने कुरा गरेको स्मरण गर्दै उनले त्यसलाई अघि बढाइदिन आग्रह समेत् गरिन् । 

'म यो रोष्ट्रम मार्फत सबैलाई स्पष्ट पार्न चाहन्छु – शिक्षा विधेयक मन्त्रालयमा अड्केको छैन, सरकारसँग छैन, मेरो हातमा छैन । सदनमा पेश भैसकेको छ, समितिमा सांसदहरूसँग छ' उनले भनिन् 'शिक्षा विधेयक समितिमा छलफल अघि नबढेको भनी मैले समिति सभापतिज्यूलाई मौखिक र लिखित रूपमा समेत विधेयक अगाडि बढाईदिन आग्रह गरिसकेकी छु, मन्त्रीको काम के, सदनको काम के भन्नेमा भ्रम फैलाउन बन्द गरौँ, सबैले आआफ्नो काम गरौँ ।' 

मन्त्रालयको काम विधेयक बनाएर बुझाउने भएको भन्दै उनले त्यो काम भईसकेको र पारित गर्ने फिर्ता पठाउने काम सदनको भएको उनले उल्लेख गरिन् । दुई साता अघि शिक्षक महासंघले विधेयकलाई अगाडी बढाउन ध्यानाकर्षण गराएको स्मरण गर्दै उनले महासंघको शब्द हुबहु कपी पेस्ट सदनमा सुन्दा खुसी लागेको बताईन् । 

'जनताको आवाज बोलिएको छ । तर, यसले मलाई के भान दियो भने शक्ति पृथकीकरणको एउटा अभिमुखिकरण चाहिँ यो सदनमा चलाउनु पर्ला जस्तो छ' उनले भनिन् । 

मन्त्रीले पहिलो चरणमा प्रष्टिकरण दिए पछि प्रश्न उत्तरका क्रममा सांसद बद्री पाण्डेले उक्त अभिव्यक्ति प्रति आपत्ति जनाए । विधेयकहरु पारित गराउनु सरकारको दायित्व भएको स्मरण गराउँदै त्यो गर्न नसक्ने मन्त्री र सरकारका प्रधानमन्त्रीले यो सदनको विश्वास गुमेको हो भन्ने ठान्नु पर्ने तर्क उनको तर्क थियो ।

पढ्नुहोस् : शिक्षा मन्त्रीलाई सांसदको सुझाव - 'यसरी मन्त्री भईरहन मिल्दैन'

प्रतिक्रिया