Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

दुई कलरको किताबमा चार कलरको मूल्य !

पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको भन्दा ७२ रुपैयाँ बढी मूल्यमा जनक शिक्षाले बिक्रि गर्दा बार्षिक ३ करोड २४ लाख रुपैयाँ  भन्दा बढी अभिभावक, विद्यालय र पुस्तक व्यवसायीले भार बोक्नु परेको छ ।

विहीबार, ०६ असार २०८१

भक्तपुर - कक्षा १२ को सामाजिक अध्ययन तथा जीवन उपयोगी पुस्तकको मूल्य दुई थरी कायम गरिएको छ । 

पुस्तक तयार गर्ने पाठ्यक्रम विकास केन्द्रले ३ सय ५९ पाना रहेको पुस्तकको मूल्य १ सय ३३ रुपैयाँ २० पैसा कायम गरेको छ । केन्द्रले गत चैत ५ गते सूचना जारी गरेर १ देखि १२ सम्मको पाठ्यपुस्तकको मूल्य सार्वजनिक गरेको थियो । सो अनुसार केन्द्रले दुई कलर रहेको सामाजिकको एक कलरको मात्रै प्रति पेज ३७ पैसाको दरले मूल्य निर्धारण गरेको छ । केन्द्रले निर्धारण गरेको मूल्य भन्दा ७२ रुपैयाँ बढी मूल्यमा जनक शिक्षा सामाग्री केन्द्रले धमाधम बिल काटेर पुस्तक बिक्रि गरिरहेको छ । 

केन्द्रले १ सय ३३ रुपैयाँ २० पैसा निर्धारण गरेको पुस्तक जनक शिक्षाले २ सय ५ रुपैयाँमा बिक्रि गरेको छ । पुस्तकमा १० वटा फोटो चार कलरको छ भने अरु सबै दुई कलरको छ । 

‘हामीले चार कलरको मूल्य अनुसार मुल्य तय गरेर बिक्रि गरिरहेका छौँ’ जनक शिक्षाका महाप्रबन्धक अनिल झाले भने, ‘व्यवसायीले पनि दुई थरी मुल्यको प्रश्न उठाए पछि हामीले केन्द्रमा भन्यौँ तर, सुनुवाई भएन ।’ 
पाठ्यक्रम विकास केन्द्रले एक कलरको मात्रै मूल्य निर्धारण गरेको छ । 

‘दुई कलरको पाठ्यपुस्तकको मुल्य कति हुने भन्ने यकिन नभएकोले एक कलरको मुल्य निर्धारण गरिएको हो,’केन्द्रका पाठ्यक्रम अधिकृत श्रीहरी श्रेष्ठले भने ‘अर्को वर्ष चार कलरको पुस्तक हुने भएकोले यो समस्या यो वर्ष मात्रै हो ।’ 

यही मूल्यको बारेमा छलफल गर्न दुई साता अघि जनक शिक्षाका महाप्रबन्धक, पुस्तक व्यापारी समेतको टोली पाठ्यक्रम विकास केन्द्रमा पुगेका थिए । केन्द्रले भने प्रतिपेज ३७ पैसाको दरले राखेको मूल्यमा बिक्रि गर्न जनक शिक्षालाई आग्रह गरेको थियो । 

पाठ्यक्रम र जनक शिक्षा बिच मुल्यको विवादको मार विद्यार्थी, अभिभावक, विद्यालय र पुस्तक व्यवसायी पर्ने गरेका छन् । बार्षिक साढे चार लाख विद्यार्थी कक्षा १२ मा अध्ययन गर्छन् । केन्द्रले निर्धारण गरेको मूल्य भन्दा जनक शिक्षाले ७२ रुपैयाँ बढी लिँदा ३ करोड २४ लाख रुपैयाँ भार अभिभावक, विद्यालय र पुस्तक व्यवसायीले बेहोर्नु  परेको छ । 

सरकारले सामुदायिक विद्यालयमा पढ्ने कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई आवश्यक पर्ने पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउँदै आएको छ । पाठ्यपुस्तकको रकम स्थानीय तहमा पठाउने गरेको छ । विद्यालयले विद्यार्थीलाई पुस्तक खरिद गर्दा सामाजिकको २ सय ५ रुपैयाँ खरिद गरे पनि स्थानीय तहले १ सय ३३ रुपैयाँ २० पैसा मात्रै उपलब्ध गराउने गरेको छ । स्थानीय तहले उपलब्ध नगराउने ७२ रुपैयाँको भार अभिभावक, विद्यालय र पुस्तक व्यवसायीले व्यहोर्नु पर्ने बाध्यता छ । 

जनक शिक्षाले चार कलरको पुस्तक भन्दै प्रति पेज ५५ पैसाको दरले मूल्य निर्धारण गरेको छ । यो पुस्तक सबै जसो पाना पिंक र कालो अक्षरको दुई कलरको छ । सिंगै पुस्तकमा १० वटा मात्रै चार कलरको फोटो भने राखिएको छ ।  

मल्लकालिन आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था भन्ने पाठको पेज नम्बर १६५, १६६ मा पाटन दरबार सहित ५ वटा फोटो कलरमा छ । आधुनिक काल भन्ने पाठमा पृथ्वी नारायण शाहको फोटो रंगीन छ । त्यस्तै पञ्चायत कालको  पाठमा गणेशमान सिंह र साहना प्रधानको फोटो रंगीन छ । त्यस्तै पेज नम्बर २५० मा मुलकी अपराध संहिताको बारेमा प्रहरीले अपराधीलाई नियन्त्रणमा लिएको रंगिन स्केच प्रयोग भएको छ । सूचनाको हक भन्ने पाठमा राखिएको स्केच पनि चार कलरको छ । 

प्रतिक्रिया