Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

शिक्षा नपढेकालाई ६० दिनको तालिम दिएर कक्षामा पठाइने

१ देखि ८ सम्मको शिक्षक हुन कम्तीमा स्नातक पढेको हुनु पर्ने

बुधबार, ०५ असार २०८१

काठमाडौँ - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा विषय नपढेको भए पनि शिक्षक हुन पाउने गरी शिक्षक सेवा आयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाएको छ । 

अहिलेको कानुन अनुसार सार्वजनिक विद्यालयको शिक्षक हुन शिक्षा संकाय अनिवार्य पढ्नु पर्ने हुन्छ । शिक्षा संकाय अध्ययन नगरेका व्यक्ति शिक्षक हुन सक्ने र सेवा प्रवेश गर्दा ६० दिनको तालिम दिने व्यवस्था राख्न लागेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बताइन । त्यस्तै शिक्षा संकाय पढेकाले पनि ४५ दिनको सेवाकालीन तालिम लिनु पर्ने प्रावधान राख्ने गरी नियमावली संशोधन गर्न लागेको उनले बताइन । 

नियमावली संशोधन गरेर के राख्ने भन्ने मस्यौदा  तयार गर्न सहसचिव केशव दाहालको संयोजकत्वमा समिति बनाएको थियो । आयोगका प्रतिनिधि समेत राखेर बनाईएको समितिले आफूलाई प्रतिवेदन बुझाइसकेको उनले बताइन ।

‘आयोगसँग छलफल गरेर समितिले दिएको मस्यौदा अझ परिष्कृत गर्नु पर्नेछ’  मंगलबार आयोजित एक सय दिनको प्रगति विवरण सार्वजनिक कार्यक्रममा उनले भनिन् ।

समितिले मन्त्रीलाई बुझाएको मस्यौदा सुझावको लागि आयोगमा पठाईएको छ । 

विज्ञान, गणित, अंग्रेजी र कम्प्युटर साइन्समा पर्याप्त शिक्षक नभएकोले एजुकेसन नपढेका व्यक्तिलाई पनि शिक्षकमा प्रवेश पाउने गरी नियमावली संशोधन गर्न लागेको मन्त्री श्रेष्ठले बताइन् ।

‘बीएड नगरेका शिक्षकलाई ६० दिनको अनिवार्य तालिम दिने र  बीएड गरेकालाई ४५ दिनको तालिम लिए पछि मात्रै कक्षामा पठाउने नियमावली संशोधन गर्न लागेका छौ,’उनले भनिन् । 

प्राथमिक तहको शिक्षक हुन अहिले १२ कक्षा अध्ययन गरे हुने प्रावधान छ । नयाँ संशोधनमा १ देखि ८ सम्मको शिक्षक हुन कम्तीमा स्नातक पढेको हुनु पर्ने प्रावधान ल्याउन लागेको मन्त्री श्रेष्ठले बताइन् ।

‘१२ कक्षा पढेको अहिले शिक्षक हुन पाउँछन् तर, उहाँहरू टिनएजर नै हुनुहुन्छ ’ उनले भनिन,‘उहाँहरूलाई भन्दा अब शिक्षकमा ब्याचलर र मास्टर्स गरेकालाई  लिनु पर्छ ।’

स्नातक गरेकालाई लिँदा १ देखि ८ सम्म पढाउन सक्ने र मास्टर्स गरेकाले ९ देखि १२ सम्म नै पढाउन सक्ने उनले बताइन् ।

उनले भनिन,‘यही प्रावधान राखेर शिक्षक सेवा आयोग नियमावली संशोधनको अन्तिम चरणमा छ ।’  

प्रतिक्रिया