Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

२० जना शिक्षक शिक्षण पेसा छाडेर राजनीतिमा, सास रहुन्जेल दलीयकरण विरुद्ध लड्ने मन्त्रीको घोषणा

५४ जना शिक्षकको काज फिर्ता

मंगलबार, ०४ असार २०८१

काठमाडौँ– शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षामा हुने राजनीतिकरण विरुद्ध कडा रूपमा प्रस्तुत हुने संकेत गरेकी छन् । 

सत्तारुढ दल एमाले र माओवादीका नेताहरूले शिक्षकलाई राजनीतिक दलमा आबद्ध भएकै कारण कारबाही गर्ने नाममा त्रसित पारेको भन्दै मन्त्री श्रेष्ठको विरोध गरिरहेका छन् । मन्त्रीले सत्तारुढ दलका नेताले दिएको दबाबको प्रवाह नगरी अडान कायमै राखेर आफ्नो सास रहुन्जेल दलीयकरण विरुद्ध लडिरहने घोषणा गरेकी हुन् । पत्रकार सम्मेलनमा उनले भनिन,‘शिक्षामा दलीय राजनीतिकरण हुन नहुने विषयलाई अन्तिम सास रहेसम्म छाडदिन यो मेरो  एजेन्डा हो ।’ शिक्षामन्त्रीको पदभार सम्हाले पछि उनले शिक्षामा राजनीतिकरणको अन्त्य गर्ने घोषणा गरेकी थिइन ।

आफ्नो निर्णय कार्यान्वयन गर्न उनले विद्यालय तहका शिक्षकलाई राजनीतिमा लाग्न नपाइने कानुनी प्रावधान कार्यान्वयन गर्ने निर्णय गरिन । यो निर्णय अनुसार ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता परित्याग गरेको उनले बताइन । राजनीतिमा लागेका २० जना शिक्षकले शिक्षण पेसा नै परित्याग गरेर राजनीतिमा लागेको उनले बताइन । राजनीतिमा आबद्ध ४५ शिक्षकविरुद्ध उजुरी परेकोमा ४१ जनासँग स्पष्टीकरण सोधिएको उनले बताइन । यस मध्ये  ४ जनाले सफाइ पाएको मन्त्री श्रेष्ठले बताइन । निर्वाचन आयोगबाट राजनीतिमा सक्रिय शिक्षकको विवरण माग गरे पनि आउन बाँकी रहेको उनले बताइन ।

राजनीतिक दल सम्बन्धी ऐनमा शिक्षकले राजनीतिक दलको सदस्य बनाउन नहुने व्यवस्था छ । ऐन कार्यान्वयन गर्ने काम शिक्षा मन्त्रालयको मात्रै काम नभएको उनले बताइन । शिक्षा मन्त्रालयले काजमा रहेका शिक्षकलाई फिर्ता पठाउने निर्णयलाई मन्त्रीले आफ्नो प्रगति विवरणमा राखेकी छन्  । शिक्षकलाई स्थानीय तहको शिक्षा प्रमुख, अन्य काममा काजमा खटाउन रोक लगाउने उनले निर्णय गरेकी थिइन । मन्त्रालयको रेकर्डमा २ सय ९१ जना शिक्षक काजमा रहेको पाइए पनि ५४ जना शिक्षकको काज फिर्ता भएको मन्त्री श्रेष्ठले बताइन । काजमा रहेका मध्ये ५९ जनालाई स्पष्टीकरण सोधिएको उनले बताइन । 

शिक्षा मन्त्रीको सय दिनको प्रगतिमा शिक्षकलाई सेवा प्रवेशको तालिम, दरबन्दी मिलानको तयारी शिक्षक पोर्टलको व्यवस्था, संस्थागत विद्यालयको शिक्षक र कर्मचारीको पेसागत सुरक्षाको लागि पहल गरेको उल्लेख छ । त्यस्तै भूकम्प प्रभावित विद्यालयको बजेटको व्यवस्था, प्राध्यापक प्रारूप बनाइएको उनले बताइन ।

विद्यार्थीलाई राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउने, पुस्तक पुनः प्रयोगको बारेमा नीति तथा कार्यक्रममा व्यवस्था भएको, करिअर काउन्सिल कार्यक्रमको सुरुवात भएको, समाजसँग पाठ्यक्रम कार्यक्रम गर्न लागेको मन्त्री श्रेष्ठले बताइन । विदेशी सम्बन्धनका कलेजको कार्यक्रमलाई व्यवस्थित गर्न पूर्व सचिवको नेतृत्वमा बनाएको छानबिन समितिले प्रतिवेदन दिइसकेकोले निर्देशिका संशोधनको बाटो अघि बढाउने उनले बताइन । 

यो पनि पढ्नुहोस् : शिक्षक सरुवा निर्देशिकाको बचाउमा शिक्षा मन्त्री !

खोज्ने सिष्टम सुधार्न, गर्ने अविश्वास !

 

प्रतिक्रिया