Edukhabar
आइतबार, २३ भदौ २०८१
गतिविधि

विद्यार्थीलाई सीप सिकाउन कलेज र हाइड्रो बीच सम्झौता

मंगलबार, ०४ असार २०८१

काठमाडौं - कलेजका विद्यार्थीलाई प्रयोगात्मक सीप सिकाउने उद्देश्यले कलेज र होइड्रोपावर बिच सम्झौता भएको छ । हिलसाइड कलेज अफ इञ्जिनियरिङ कोटेश्वरमा सिभिल र इलेक्ट्रीकल इञ्जिनियरिङ अध्ययन गर्ने आठौं सेमेष्टरका विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि अरुण काबेलीमा इण्टर्नसिप गराउने सम्झौता भएको हो । 

स्नातक तथा स्नातकोत्तर अध्यापन गराउने फ्याकल्टीहरु र एमएससी इन कन्ष्ट्रक्सन मेनेजमेण्ट तथा एमएससी इन इलेक्ट्रीकल पावर इञ्जिनियरिङमा अध्ययनरत विद्यार्थीलाई रिसर्च तथा कन्सल्टेन्सीमा उपयोग गरेर नयाँ प्रोजेक्ट रिपोर्ट तयार गर्न लगाउने गरी दुई संस्थाबीच सम्झौता भएको हो । प्रोजेक्टहरुमा लगानीको वातावरण बनाउने, बिभिन्न स्थापित हाइड्रोपावरमा आउने प्राविधिक समस्याहरु हल गर्ने, मर्मत सम्भार गर्ने, बिदेशी कन्सल्टेण्टहरु हायर गरी यसलाई विश्वसनीय बनाउने उद्देश्य राखेर हिलसाइड कलेज अफ इञ्जिनियरिङ एण्ड मेनेजमेण्ट रिसर्च सेण्टर समेत स्थापना गरिएको छ ।  समझदारी पत्रमा हाइड्रो इण्टरप्युनर गुरुप्रसाद न्यौपाने र कलेजका तर्फबाट अध्यक्ष तथा पूर्व सचिव जनार्दन नेपालले हस्ताक्षर गरेका हुन् । 

एमएससी इन कन्ष्ट्रक्सन मेनेजमेण्ट तथा एमएससी इन इलेक्ट्रीकल पावर इञ्जिनियरिङको दोस्रो व्याचका विद्यार्थीलाई ओरियण्टेसन दिन आयोजित कार्यक्रममा हाइड्रो इण्टरप्युनर न्यौपानेले विद्यार्थीलाई एक सय नयाँ सम्भावित प्रोजेक्ट रिपोर्ट तयार गर्न आफूले सहजीकरण गर्ने बताए । कार्यक्रममा  फ्याकल्टी प्रोफेसर डा. सूर्यराज आचार्य, फ्याकल्टी पूर्व उर्जा सचिव दिनेश घिमिरे र फ्याकल्टी पूर्व सचिव रबिन्द्र श्रेष्ठले अहिलेसम्म हासिल गरेको शिक्षा र अनुभव विद्यार्थीलाई प्रदान गरी नेपालीहरुबाटै प्रोजेक्ट रिसर्च गर्ने, परामर्श दिने, बताएका छन् । 

पूर्वाञ्चल विश्वविद्यालयका डेपुटी कण्ट्रोलर मेनुका श्रेष्ठले अहिले विश्वविद्यालयका सबै पदाधिकारीको ध्यान समयमा परीक्षा र तीन महिना भित्र नतिजा सार्वजनिक गरेर समयमै कोर्ष सकाएर गुणस्तरीय शिक्षा प्रदान गर्न केन्द्रीत भएको बताइन । 

हिलसाइड कलेज अफ इञ्जिनियरिङका प्रिन्सिपल डा. समित थापाले विद्यार्थी र फ्याकल्टी बीच नङ र मासुको जस्तो सम्बन्ध रहने भएकोले सोही अनुसारको व्यवहार हुनुपर्ने, बिई पढ्ने विद्यार्थीलाई माष्टर पढ्ने विद्यार्थीले समेत गाइड गर्नुपर्ने बताए । नाष्टका पूर्व उपकुलपति तथा फ्याकल्टी डा. शुनिल बाबु श्रेष्ठले असल नागरिक बनाउन हिलसाइड कलेज अफ इञ्जिनियरिङले कन्ष्ट्रक्सन मेनेजमेण्ट र इलेक्ट्रिकल पावर मेनेजमेण्ट दुबै कार्यक्रम उत्कृष्ट भएको बताए । दुई संस्था बिच भएको सम्झौताले अनुसन्धान गर्न सहयोग गर्ने उनले बताए । 

कलेजका एमडी गोपीकृष्ण न्यौपानेले विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउन समझदारी पत्रले कोशेढुंगाको काम गर्ने र आगामी दिनहरुमा पनि यसैगरी बिभिन्न प्राइभेट तथा सरकारी निकायहरुसंग सम्झौता गरी अघि बढ्ने योजना रहेको बताए ।

प्रतिक्रिया