Edukhabar
आइतबार, २३ भदौ २०८१
गतिविधि

भर्ना भएका १ लाख ५० हजार मध्ये १८ हजार विद्यार्थीले पाए छात्रवृत्ति

कानुन कार्यान्वयन गर्दा मात्रै पनि लक्षित वर्गका विद्यार्थीका पक्षमा काम, यो कार्यले करिब दुई अर्ब रुपैंया बराबरको छात्रवृति उपलब्ध गराउन सफल ।

विहीबार, २४ जेठ २०८१

काठमाडौं - आफ्नो क्षेत्र भित्र रहेका निजी विद्यालयले चालु शैक्षिक सत्रमा उपलब्ध गराउने छात्रवृत्तिको विवरण काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०८१ का लागि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको बुधबार सम्मको विवरण अनुसार ४७३ निजी विद्यालयहरुले १८ हजार चार सय २२ विद्यार्थीलाई  छात्रवृति दिएको महानगरपालिकाले जनाएको छ । यो शैक्षिक सत्रमा ती विद्यालयहरुमा एक लाख ४९ हजार नौ सय ५६ विद्यार्थी भर्ना भएका महानगरसँग तथ्याँक छ । अझै ५१ विद्यालयले विवरण बुझाउन बाँकी रहेको महानगरपालिले जनाएको छ । महानगरभित्र पाँच सय चार निजी विद्यालय छन् । 

कानुन कार्यान्वयन गर्दा मात्रै पनि लक्षित वर्गका विद्यार्थीका पक्षमा काम गर्न सकेको भन्दै महानगरका मेयर बालेन शाहले यो कार्यले करिब दुई अर्ब बराबरको छात्रवृति उपलब्ध गराउन सफल भएको बताएका छन् । 

'प्राप्त भएको विवरणको हामि अनुगमन गर्नेछौ, फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ,  हाल सम्म विवरण नबुझाउने विद्यालयलाई ३ दिन को समय दिई विवरण पेस गर्नका लागि सार्र्वजनिक सुचना प्रकाशन गरेका छौँ' उनले भने '३ दिन भित्र विवरण पेस नगर्ने विद्यालयहरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारवाही गरिनेछ ।'

 गत वर्ष  १३ हजार विद्यार्थीले छात्रवृत्ति पाएका थिए । 

'कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं' फेसबुकमा स्टाटस लेख्दै शाहले भनेका छन् । 

विद्यालयहरूले कक्षा १० सम्मका विद्यार्थीलाई कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनु पर्ने नियम छ । तर कतिपय विद्यालयले यो नियम नमान्ने र यदी छात्रवृत्ति दिएमा पनि पहुँचवालाका लागि मात्रै दिने चलन थियो । उक्त वेथिती नियन्त्रण गर्न महानगरपालिकाले गत बर्ष देखि कडाई शुरु गरेको हो । 

प्रतिक्रिया