Edukhabar
शुक्रबार, ०२ कार्तिक २०८१
गतिविधि

सम्भोटा लिपिमा पाठ्यपुस्तक निर्माणको सहमति

सोमबार, २१ जेठ २०८१

काठमाडौं - तामाङ भाषाको सम्भोटा लिपिमा पाठ्यपुस्तक विकास गरी कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले स्वीकृति दिएको छ । शिक्षा मन्त्री सुमना श्रेष्ठको मन्त्री स्तरीय निर्णयबाट सम्भोटा लिपिमा पाठ्यपुस्तक तयार गर्न स्वीकृति दिने नीतिगत निर्णय भएको हो ।  

राष्ट्रिय अभिलेखालयबाट प्राप्त प्रमाणित सम्भोटा लिपि अनुसारका पाठ्यपुस्तक कार्यान्वयन गर्न गराउनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्ने निर्णय भएको छ । पाठ्यक्रम विकास केन्द्रको स्थानीय तहबाट ऐच्छिक विषयका रुपमा विकास गरिने सम्भोटा लिपिका विद्यालय तहको पाठ्यपुस्तकमा राष्ट्रिय अभिलेखालयबाट प्रमाणित सम्भोटा लिपि अनुसारका पाठ्यपुस्तक प्रकाशित गर्न सकिनेछ ।

नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि प्रतिष्ठान लगायतले देवनागरी लिपि र सम्भोटा लिपिलाई छाँटकाँट गरी २४ वटा वर्णमाला बनाई पाठ्यक्रम तयार गरेका थिए । तामाङ समुदायका अभियन्ताहरूले यस पुस्तकबाट आगन्तुक शब्दहरू लेखन कार्य गर्न नसक्ने भएकोले यसलाई सच्याई पाउँ भनी पटक पटक माग गर्दै आएका थिए ।  

बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन कार्यान्वयन गरेसँगै गत बैशाख २४ गते देखि तामाङ भाषा पनि सरकारी कामकाजी भाषा भएको छ । २०८० असोज २२ मा बागमती प्रदेश सभाबाट ’प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित गरेको थियो । उक्त ऐनले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्ने व्यवस्था गरेको छ ।

भाषा ऐन कार्यान्वयन घोषणा पश्चात बागमती प्रदेश सरकार मातहत र प्रदेशका ११९ स्थानीय तहको बोर्ड र लेटर हेडमा नेपाली, अङ्ग्रेजी, तामाङ र नेपाल भाषा लेख्न थालिएको छ । 

प्रतिक्रिया