Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

३ महिना नपढाए पनि शुल्क उठाउँदै तराईका निजी विद्यालय

मंगलबार, २२ मंसिर २०७२

पर्सा - तराई आन्दोलनका कारण ३ महिना ठप्प रहेका विद्यालयहरुले नतिजा रोकेरै शुल्क उठाउन थालेको फेला परेको छ । बन्दका बेलाको शुल्क असुल्न उनीहरुले आन्दोलन अघिनै भएको त्रैमासिक परीक्षाको नतिजा समेत रोकेको फेला परेको हो । शुल्क नदिएको खण्डमा नतिजा नै नदिने भन्दै दवाव दिन थालेपछि अभिभावक संघ नेपाल, पर्साले ३ महिनाको मासिक शुल्क नतिर्न जिल्लाका सम्पूर्ण अभिभावकलाई आह्वान गरेको छ ।

संघका अध्यक्ष अमर गौतमले विज्ञप्ति जारी गर्दै ३ महिनाको मासिक शुल्क आवश्यक छलफल गरि अर्को निर्णय नभए सम्म भुक्तानी नगर्न आह्वान गरेका छन् ।

यसैविच संघीय समावेशी मधेशी गठबन्धन, पर्साले पठन पाठन नभएका अवधिको शुल्क लिएमा राम्रो नहुने भन्दै विद्यालय सञ्चालकहरुलाई चेतावनी दिएको छ । जारी आन्दोलनको क्रममा बन्द रहेका निजी विद्यालयहरुलाई बन्द अवधि भरी सम्मको अध्यापन वापतको शुल्क विद्यार्थी एवं अभिभावकबाट नलिन गठबन्धनले विगतमा दुई पटक आह्वान गरिसकेको छ । त्यसको खिलाफमा निजी विद्यालयहरुले शुल्क लिएमा त्यसको परिणाम ठिक नहुने भन्दै पटक–पटकको आग्रह पश्चात् पनि एनप्याब्सन र प्याब्सन सहित विद्यालयहरुले बन्द अवधिको अध्यापन शुल्क माग गर्ने र नदिएमा नतिजानै रोक्ने गरेको फेला परेको गठबन्धनले उल्लेख गरेको छ ।

गठबन्धनद्वारा मंगलबार जारी विज्ञप्तिमा शुल्क नदिएको खण्डमा विद्यार्थीको त्रैमासिक परिक्षाको नतिजा समेत नदिएको गुनासो आएको हुंदा यस्तो कार्य नगर्न भनिएको छ ।

गत साउन ३० गते देखी ३ महिना सम्म विद्यालयहरु ठप्प थिए । आन्दोलनरत दलहरुल विहानी कक्षा सञ्चालन गर्न दिएसँगै खुलेका विद्यालयहरुले एकतर्फी निर्णय गरी भदौ देखी मंसिर सम्मको मासिक शुल्कको बिल पठाएका छन् ।

प्याव्सन र एन प्याव्सनले जारी आन्दोलनमा ऐक्यबद्धता भन्दै विद्यार्थीलाई सडकमा समेत उतारेका थिए ।

प्रकाशित मिति : २०७२ मंसिर २२ गते

प्रतिक्रिया