Edukhabar
आइतबार, २३ भदौ २०८१
गतिविधि

नवप्रवर्तन सर्वेक्षण गर्न शिक्षा मन्त्रालय र इञ्जिनियरिङ क्याम्पस बिच सहमति

आइतबार, २० जेठ २०८१

काठमाडौं - उद्योगमा भएको नवप्रवर्तनको स्तर अध्ययन गर्न शिक्षा मन्त्रालय र इञ्जिनियरिङ क्याम्पस थापाथली बिच सहमती भएको छ । औद्योगिक प्रतिष्ठानहरूमा उत्पादन तथा उत्पादकत्व वृद्धि तथा प्रतिस्पर्धात्मक क्षमतामा सुधारका लागि उद्योगमा भएको नवप्रवर्तनको स्तर अध्ययन एवं उद्योगहरूमा नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्न समझदारी गरिएको मन्त्रालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ईण्डष्ट्रियल इञ्जिनियरिङ विभाग, थापाथली क्याम्पस बिच नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने सहमती भएको हो ।  

सहमती पछि शिक्षा मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयमा अङ्कुरित विचार तथा आविष्कारले  राष्ट्रिय नीतिमा योगदान दिने शैक्षिक वातावरणको विकास गर्न सहमती गरेको बताईन् । 

‘यो सम्झौता प्रस्थान बिन्दु हो, अनुसन्धान, नवप्रवर्तन, व्यवसायिकता र उद्यमशीलतालाई उच्च शिक्षाको अभिन्न अङ्गको रूपमा विकास गर्न ’इण्डष्ट्री एकेडेमिया इन्ण्रफेस’ अनुरूप अघि बढ्ने हाम्रो नीति बजेटमै समावेश भैसकेको छ ।’ मन्त्री श्रेष्ठले भनिन् । 

औद्योगिक प्रतिष्ठानहरूमा उत्पादन तथा उत्पादकत्व वृद्धि तथा प्रतिष्पर्धात्मक क्षमतामा सुधार गर्न सहमती गरिएको विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनीले बताए । 

सहमती अनुसार क्याम्पसले उद्योगहरूमा संलग्न नवप्रवर्तन सर्वेक्षण, २०२४ को प्रश्नावली अनुसार नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्नेछ ।  उक्त सर्वेक्षण कार्यक्रममा औद्योगिक इञ्जिनियरिङ विषयमा कम्तीमा तेस्रो वर्षमा अध्ययनरत स्नातक तहका दश जना विद्यार्थीलाई खटाउनु पर्नेछ । क्याम्पसको विभागले मेरिटका आधारमा सर्वेक्षण कार्यमा खटिने विद्यार्थीको छनौट गरी मन्त्रालयमा जानकारी गराउनु पर्नेछ ।

प्रत्येक विद्यार्थीले १२ वटा उद्योगमा गई नवप्रवर्तन सर्वेक्षण गर्नेछन् ।  सर्वेक्षण तथा प्रतिवेदनको समयावधि एक महिनाको हुनेछ । सर्भेक्षणमा सहभागी हुने विद्यार्थीलाई सामान्य खाजा खर्च र सर्भेक्षण खर्च उपलब्ध गराईनेछ । सर्वेक्षणका लागि विभागले आफै उद्योगहरूको छनौट गर्न सक्नेछ । उद्योगहरूको सूची सर्वेक्षण गर्नु अगावै मन्त्रालयमा पेश गर्नु पर्नेछ । 

आइतबार भएको सम्झौतामा मन्त्रालयको तर्फबाट सिडिई मनीषा महर्जन र क्याम्पसको तर्फबाट इण्डष्ट्रियल इञ्जिनियरिङ विभागका प्रमुख सुशान्तराज गिरीले हस्ताक्षर गरेका छन् । 

प्रतिक्रिया