Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

सीटीइभीटीमा सम्बन्धन माग्ने संस्थाको विवरण सार्वजनिक गरिने

स्तर निर्धारण महाशाखाका निर्देशकको नेतृत्वमा एक महिनाको समय दिएर ‘कार्यक्रम सम्बन्धन विनियमावली निर्माण कार्यदल’ गठन

आइतबार, १३ जेठ २०८१

काठमाडौँ–प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)मा कार्यक्रम सञ्चालनको लागि सम्बन्धन माग गर्नेको विवरण सार्वजनिक हुने भएको छ ।

सम्बन्धनको लागि कसले आवेदन दिएको भन्ने पनि सीटीइभीटीले गोप्य रूपमा राख्ने गरेकोमा परिषद्को बैठकले सार्वजनिक गर्ने निर्णय गरेको हो । 

परिषद्को १९९ औ बैठकले सम्बन्धनको प्रक्रियामा रहेका सबै निवेदनको अवस्था पारदर्शिताका लागि वेबसाइटमा राख्ने निर्णय गरेको हो । त्यस्तै हालसम्म सम्बन्धनका विषयमा गरिएका अध्ययन प्रतिवेदन परिषद्का पदाधिकारीलाई उपलब्ध गराउने पनि निर्णय भएको छ । सम्बन्धनका विषयमा प्रक्रियामा रहेका संस्थाको यकिन विवरण र सम्बन्धन प्रक्रियाको ढाँचा वेबसाइटमा राखिने निर्णय भएको छ । 

कार्यक्रम सम्बन्धनका विषयमा विनियमावली संशोधन गरेर मात्रै निर्णय गर्ने निर्णय गरेको छ । विनियमावली निर्माणको लागि स्तर निर्धारण महाशाखाका निर्देशकको नेतृत्वमा एक महिनाको समय दिएर ‘कार्यक्रम सम्बन्धन विनियमावली निर्माण कार्यदल’ गठन गरेको छ । 

परिषद्को दरबन्दी व्यवस्थापन गर्न तथा स्वीकृत दरबन्दीहरूमा समयसापेक्ष र समयानुकूल बनाउनको लागि व्यवस्थापन सर्वेक्षण गर्न शिक्षा मन्त्रालयका सहसचिवको संयोजकत्वमा सङ्गठनात्मक तथा व्यवस्थापन सर्वेक्षण कार्यदल गठन गर्ने निर्णय गरेको छ । श्रम बजारको माग अनुसारका कार्यक्रम प्राथमिकतामा राखिने, कलकारखानामा काम गरेर दक्ष व्यक्तिहरूलाई प्रशिक्षकको समकक्षता दिइने निर्णय गरेको छ । 

परिषदबाट सञ्चालन हुने प्रवेश परीक्षा, परीक्षा सञ्चालन र सम्बन्धन प्रक्रियाको समय तालिका राष्ट्रिय चिकित्सा शिक्षा आयोग र अन्य निकायसँग तालमेल हुने गरी निर्माण गरी प्रकाशित गर्ने निर्णय गरेको छ । कार्यक्रम सम्बन्धनको क्रममा श्रम बजारमा अत्यधिक माग भएका कार्यक्रमहरूलाई प्राथमिकता राख्ने भएको छ । नयाँ पाठ्यक्रम निर्माण नभएको अवस्थामा परिषद्मा उपलब्ध स्रोतको परिचालन गर्ने र त्यस क्रममा आवश्यक पर्ने थप स्रोतका लागि अन्य निकायहरूसँग समन्वय गर्ने निर्णय भएको छ । 

कार्यस्थलको सिकाइमा आधारित तालिमलाई संस्थागत गर्नका लागि उद्योग धन्दा तथा कलकारखानामा काम गर्न सक्षम र दक्ष प्राविधिक तथा व्यावसायिक जनशक्ति उत्पादन गरी मुलुकलाई आत्मनिर्भर गराउन तालिम विकाश महाशाखाका निर्देशकको नेतृत्वमा ‘औद्योगिक प्रशिक्षार्थी विनियमावली बनाउने भएको छ । यसको लागि कार्यदल गठन गरिएको छ । विनियमावलीको निर्माण पछि उद्योग क्षेत्रको अनुभव भएका व्यक्तिलाई प्रशिक्षकको रूपमा समकक्षता दिइने भएको छ । 

 

 

प्रतिक्रिया